सीमामा दिनरात निगरानी
![सीमामा दिनरात निगरानी](https://annapurnapost.prixacdn.net/media/albums/sima_20200416052135_aUF0L0e9ch.jpg)
भैरहवा : भारतमा कोरोना संक्रमण बढ्दै गएपछि प्रदेश ५ का नाकाहरुबाट नागरिक भित्रिन नदिन कडा निगरानी गरिएको छ। दुई सुरक्षाकर्मीको दिनरात परिचालनपछि मानवीय आवतजावत ठप्प भएको छ।
प्रशासनले सीमा क्षेत्रबाट नागरिक भित्रिने क्रम शून्य रहेको दाबी गरेका छन्। प्रदेश ५ का ६ वटा सीमावर्ती जिल्लाबाट नेपाल भित्रिने जोखिम छ। तीनै जोखिमयुक्त नाकामा कडा निगरानी गरिएको हो। सीमाबाट नेपाल प्रवेश गर्ने मालवाहक गाडी चालक र सहचालक बाहेक अरु नभित्रिएको प्रशासनले जनाएको छ। भारतसँग जोडिएको रुपन्देहीको सीमाबाट आवतजावत हुन सक्ने विषयलाई मध्यनजर गर्दै नेपाल प्रहरी र सशस्त्र प्रहरीले योजनावद्ध रुपमा सीमामा निगरानी थालेका छन्। यसमा सर्वसाधरणले पनि सुरक्षाकर्मीलाई सहयोग गरिरहेका छन्।
सीमामा स्थायी रुपमा सशस्त्र प्रहरी खटाएर २४ घण्टा निगरानी थालिएको छ। आवतजावत हुने सबै नाकादेखि लिएर आउन सक्ने झाडी खोल्सासम्म सबैतिर सशस्त्र प्रहरी परिचालन गरिएको छ। यसको अलावा सीमा क्षेत्रमा रहेको नेपाल प्रहरीको इप्रका र चौकीको जनशक्तिले पनि सीमामा निगरानी गर्नुका साथै सीमासँग टाँसिएको गाउँहरुमा निगरानी गरिरहेको छ। सीमा क्षेत्रका गाउँमा नयाँ व्यक्तिमा देखिएमा केरकार गरिँदैछ। लकडाउनलाई कडा पारिएको छ। भारतसँग जोडिएको साना ठूला सबै नाका सिल गरी निगरानी भइरहेको रुपन्देहीका प्रमुख जिल्ला अधिकारी महादेव पन्थले बताए। उनका अनुसार ५९ दशमलव ७ किमी रहेको सीमामा २४ घण्टा सुरक्षाकर्मी खटाइएको छ।
भारतसँग जोडिएको सीमामा ५२ वटा स्थायी प्वाइन्ट राखेर निगरानी भइरहेको सशस्त्र प्रहरी बल नेपाल नम्बर २७ गण रुपन्देहीका प्रमुख एसपी तेज पोखरेलले बताए। उनका अनुसार रुपन्देहीको पश्चिमतर्फ कोठी नदीदेखि पूर्वको बरवा खोलासम्म भारतसँग जोडिएको सीमामा जनशक्ति खटिएका छन्। यसअघि सशस्त्रको ५ वटा युनिट रहेको सीमा क्षेत्रमा १० वटा युनिट थप गरी १५ वटा बनाइएको छ। एक जवानले अर्को जवानलाई देख्ने गरी सीमामा जनशक्ति खटाइएको छ। जवानहरु सीमामा खटिएसँगै सशस्त्र र नेपाल प्रहरीका उच्च अधिकारीहरु भने दिनहुँ सीमाको अवस्थाबारे बुझ्न अनुगमन गर्छन्। उच्च अधिकारीहरुले एक साता लगाएर जिल्लाको ५९ दशमलव ७ किमी सिमामा पैदल हिँडेर अवस्थाबारे जानकारी लिएका छन्।
सीमासँगै सीमावर्ती क्षेत्रका गाउँहरुमा उच्च निगरानी गर्दै जनशक्ति परिचालन गरिएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रहरी नायब उपरीक्षक एवं प्रवक्ता खड्ग बहादुर खत्रीले बताए। सीमा क्षेत्रका प्रहरी कार्यालयहरुमा आवश्यक जनशक्ति थप गरेर गाडी मोबाइल, मोटरसाइकल, साइकल, पैदल गस्ती मार्फत निगरानी भइरहेको उनले बताए। उनका अनुसार सीमा सिल भएदेखि सर्वसाधरणको आवातजावत पूर्ण रुपमा ठप्प भएको छ। सीमामा सुरक्षाकर्मीले उच्च सतर्कता अपनाउँदा सर्वसाधरणले पनि सुरक्षाकर्मीलाई सहयोग गरिरहेका छन्।
प्रहरीले कोरोना संक्रमणसम्बन्धी ग्रामीण क्षेत्रमा सचेतना फैलाउनुका साथै नयाँ अनुहार देखिएमा प्रहरीलाई खबर गर्न पनि आग्रह गरिरहेको छ। 'सीमामा उच्च सतर्कता अपनाउन हाम्रो मुभमेन्ट बढी भएपछि ग्रामीण भेगका स्थानीयमा पनि चेतना फैलिएको छ', प्रवक्ता खत्रीले भने, 'गाउँमा नयाँ अनुहार देखिएलगत्तै स्थानीयले हामीलाई खबर गर्ने गरेका छन्।' सोमबार राति लुम्बिनीको कर्करहवा नाकाबाट एक महिला लुकेर प्रवेश गर्न खोज्दा स्थानीयको सहयोगमा उनलाई नियन्त्रणमा लिएर क्वारेन्टाइनमा राखिएको प्रजिअ पन्थले बताए। उनले स्थानीय सीमा निगरानीका लागि स्वयंसेवक रुपमा खट्दा आफूहरुलाई पनि सहयोग पुगेको बताए।
'स्थानीय पनि स्वयंसेवक रुपमा सीमा-सीमा खटिएका छन्', पन्थले भने, 'जसका कारण सीमाबाट आवतजावतमा रोक लगाउनमा हामीलाई सहयोग पुगिरहेको छ।' बाँकेको नैरानापुर क्षेत्रबाट नेपाल प्रवेश ठप्प पारिएको छ। बाँकेमा विगतमा खेतबाट समेत नेपाल भित्रिने गरेका थिए। पछिल्लो समय सबै क्षेत्रमा एकअर्कालाई देखिने गरी सुरक्षाकर्मी परिचालन गरिएको प्रशासन कार्यालयले जनाएको छ।
कपिलवस्तुको कृष्णनगर सहितका नाकासमेत ठप्प छन्।
नाकामा स्थानीय स्वयंसेवकका रुपमा खटिएका कारणसमेत सुरक्षाकर्मीलाई सहज भएको छ। स्थानीय बासिन्दा सचेत भएपछि उता (भारत) बाट भित्रिने क्रम रोकिएको छ, सीमामा खटिएका सुरक्षाकर्मीले भने। बाँके, दाङ, नवलपरासीका सीमा नाकामा समेत ठप्प पारिएको छ। सुरक्षाकर्मीको बाक्लो परिचालनपछि भारतबाट आउने क्रम रोकिएको हो। तर भारतमा लकडाउन थपिएपछि कतिपय पैदलबाटै नेपाल प्रवेशको योजनासहित हिँडेको सूचना सुरक्षाकर्मीले पाएका छन्।
प्रतिक्रिया दिनुहोस !
![Unity](https://annapurnapost.prixacdn.net/static/assets/images/unity-logo.png)