लकडाउनमा दोलखा फोटो कन्टेष्ट
दोलखा : विगत ८ वर्षदेखि दोलखामा सञ्चालनमा रहेको सामुदायिक रेडियो भीमेश्वर ९०.८ मेगाहर्जले लकडाउनमा दोलखा नामक फोटो कन्टेष्टको आयोजना गरेको छ । कोरोना भाईरस (कोभिड-१९)को सम्भावित संक्रमणको जोखिमबाट बच्न र बचाउन सरकारले आह्वान गरेको लकडाउनको अवधिमा दोलखामा भएगरेका असल अभ्यासलाई समेट्ने गरी रेडियोले लकडाउनमा दोलखा फोटो कन्टेष्ट २०२० का आयोजना गरेको हो ।
लकडाउनले दोलखामा पार्ने सबैखाले प्रभाव, असल अभ्यासलगायतका विषय फोटोमार्फत संकलन गरी अभिलेख गर्न प्रतियोगिताको आयोजना गरिएको रेडियो भीमेश्वरका निर्देशक नवराज शिवाकोटीले जानकारी दिए ।
लकडाउनले पारेको प्रभाव, पूर्वसतर्कताका लागि अपनाईएका पद्धति, सचेतना, लकडाउन अवधिभर गरिएका अनुकरणीय कार्य, नविनतम सोच, नागरिकले खेलेको भूमिका र जिम्मेवारी, स्थानीय तह तथा संघीय सरकारले गरेका प्रयासलगायतका बिषयलाई फोटोमार्फत अभिलेख राख्नु नै प्रतियोगिताको मुख्य उद्देश्य रहेको निर्देशक शिवाकोटीले बताए ।
निर्देशक शिवाकोटीका अनुसार २०७६ चैत ११ गतेदेखि लागू भएको लकडाउनको अन्तिम दिनसम्म खिचिएको फोटोहरुलाई प्रतियोगितामा समावेश गरिनेछ । पुरस्कार वितरण समारोहमा मात्र घोषणा गरिने विजयी फोटोले प्रथम, द्धितीय, तृतीय र सान्त्वना गरी क्रमशः ५, ४, ३ र २ हजार पुरस्कार पाउने आयोजकले जनाएको छ ।
दोलखा जिल्लाका नागरिकले मात्र सहभागिता जनाउन सक्ने फोटो प्रतियोगितामा निशुल्का रुपमा एकजनाले बढीमा ५ वटा फोटो पठाउन सक्ने निर्देशक शिवाकोटीले बताए। प्रतियोगितामा मोबाइल वा क्यामेरा दुबैबाट खिचिएको फोटो पठाउन सकिने आयोजकले जनाएको छ ।