नौवहिनी गाउँपालिकाले मजदुरलाई काम गर्न दिने
प्यूठान : नौवहिनी गाउँपालिका प्यूठानले दैनिक ज्यालादारीमा काम गर्ने मजदुरलाई सुरक्षित भएर काम गर्न दिने भएको छ। गाउँपालिकामा निर्माणधिन अवस्थामा रहेका विभिन्न योजना र व्यक्तिगत घर निर्माणमा आवद्ध श्रमिकलाई आफू सुरक्षित हुने गरी निश्चित शर्त राखेर काममा फर्काउन अनुमति दिने भएको हो।
सम्बन्धित योजनाका निर्माण व्यवसायी, उपभोक्ता समिति र घरधनीले श्रमिकलाई सुरक्षित रुपमा काममा लगाए, नलगाएको बारेमा अनुगमन गरिने गाउँपालिका अध्यक्ष शिव रिजालले जानकारी दिए।
काम गर्दा कम्तीमा साढे तीन मिटरको दूरी कायम हुनुपर्ने, मजदुर स्थानीय रुपमै बसोवास गरेको हुनुपर्ने, कम्तीमा डेढ महिना गाउँदेखि बाहिरका मजदुर काममा संलग्न हुन नपाउने लगायत शर्त गाउँपालिकाले राखेको रिजालले बताए।
अनुमती दिएपछि फाट्टफुट् केही योजनासमेत सुचारु भएका छन्। रिजालका अनुसार खवाङ, स्यालीवाङको विद्यालय भवन निर्माण, लुङको कुल घर निर्माण, फोप्लीको सामुदायिक भवन र केही व्यक्तिले अनुमति लिएर आफ्नो निजी घर निर्माण गरिरहेका छन्।
ठण्डा आधारभूत विद्यालय नौवहिनी गाउँपालिका-३ खवाङको विद्यालय भवन निर्माण गरिरहेका उपभोक्ता समितिका अध्यक्ष वीरबहादुर बुढामगरले मजदुरलाई सुरक्षित बनाएर काममा लगाएको जानकारी गराए।
उनले कार्यस्थलमा राखेको सिमेन्ट खेर जाने देखिएपछि काम शुचारु गरिएको बताए। पूर्वाधार विकास कार्यालय रोल्पा मार्फत स्रोन्नती भइरहेको बाग्दुला-बाहाने खण्डको सडक समेत डोजर चालक र सहचालक मात्र उपस्थित भएर काम थालेका छन्।
दैनिक ज्यालादारीमा काम गर्ने मजदुरहरुलाई दाल, चामल, नुनतेल दिएर मात्र दिगो समाधान नहुने देखिएपछि सुरक्षित भएर काम गर्नका लागि गाउँपालिकाले अनुमति दिएको हो। गाउँपालिकाले गाउँका ७६ जना घरपरिवारलाई राहत वितरण गरेको छ।
प्रतिक्रिया दिनुहोस !