चाउचाउ र चिउरा बोकेर काभ्रे टू रोल्‍पा

चाउचाउ र चिउरा बोकेर काभ्रे टू रोल्‍पा

काठमाडौं : नयाँ वर्षमा घर जाने दुई महिना अघिदेखिकै  योजना थियो उनको। एक्कासी कोरोना भाइरसको जोखिम आइलाग्यो। लगत्तै लकडाउन शुरु भयो। केही समयका लागि होला भनेर उहाँ लकडाउन खुल्ने आश गरेर बसे। एक हप्ता बित्यो, दुई हप्ता गयो, तीन हप्ता हुँदा पनि लकडाउन खुलेन। लकडाउन चाँडै खुल्ला भन्ने पत्यार भएन। यसमा उनले मन मारे। अनि हिँडैर घर फर्कने निर्णयमा पुगे। 
 
रोल्पा त्रिवेणी गाउँपालिका-७ का अजविर विकका लागि घर फर्कने मन बनाउनु सहज भने पटक्क छैन। उनलाई थाहा छ घर पुगिन्छ वा पुगिदैन। तैपनि हिँडेरै रोल्पा पुग्ने भन्दै यात्रामा निस्किए। काभ्रेपलाञ्चोकको पाँचखालबाट हिँडेका विकलाई काठमाडौँको नैकाप पुग्नै दुई दिन लाग्यो। 'खै कति दिनमा पुगिन्छ रोल्पा, ठम्याउन सकेको छैन', शुक्रबार दिउँसो नैकापको उकालोमा थकाइ मार्दै गरेको अवस्थामा भेटिएका विकले भने 'हाम्रा लागि गाडी कहाँबाट मिल्ला र, हिँडेरै जाने अठोट गरेका छौँ।' उनीसँगै रोल्पा त्रिवेणी-७ कै देवराज पुनमगर, हर्कबहादुर घर्ती पनि थिए। विकलाई १६ वर्षीय पुनमगरको चिन्ता छ। 'केटो आलोकाँचो नै छ, रोल्पासम्म हिँड्न सक्ला की नसक्ला भन्ने दोमन भएको छ', उनले देवराजप्रति इशारा गर्दै भने 'तपाइहरुसँगै हिँड्न सकिहाल्छु भन्यो, त्यही भएर सँगै हिँडाएको।' 

तीनै जना एउटै गाउँका हुन्। उनीहरु गत वर्ष मङ्सिरमा कामको खोजीमा काठमाडौँ आएका हुन्। काम खोज्दै जाँदा पाँखखाल पुगे। त्यहाँ घर निर्माणको काम गर्न थाले। देवराज र हर्कबहादुरभन्दा ५६ वर्षीय विक घर बनाउने काम गर्छन्। त्यसैले उनले दैनिक रु एक हजारको ज्यालादारीमा काम गर्दै आएका थिए। 'कमाइ राम्रै थियो, यो महामारी आएर बर्बाद पार्‍यो', विकले भने , 'यसबीचमा रु ४० हजार जति घर पठाएँ।' पुनमगर र घर्तीले विकको भन्दा कम ज्यालामा काम गर्दै आएका थिए। दुवैजनाले पनि अहिलेसम्म कमाएको केही रकम घर पठाउन भ्याएका रहेछन्। 

तीनै जना दुई दिनमै थाकिसकेको देखिन्छन्। उनीहरुले सडकमा केही बेर ट्रकलाई रोक्ने प्रयास गरे। 'कोही पनि रोक्न मान्दैनन्', घर्तीले भने, 'केही परसम्म लगिदिए बाटो काट्न सजिलो हुन्थ्यो।' नैकाप आइपुग्दासम्म बाटोभरी खटिएका प्रहरीको खप्की खानु परेको उनीहरु बताउँछन्। 'प्रहरीले जताबाट आएको त्यतै फर्किनु भनेर हप्काए', घर्तीले भने। प्रहरीसित गुहार गरी गरी यहाँ आइपुगेको उहाको भनाइ थियो। सरकारले लकडाउनमा कोहीलाई पनि घर बाहिर ननिस्कन भनेको छ। अबको बाँकी गन्तब्यमा पनि रोल्पालीलाई हिँडेरै घर पुग्न सहज हुने छैन। प्रहरीको कुटाइ खाइने हो कि भन्ने चिन्ता उनीहरुलाई छ। 'जे परे पर्ला, अब पाँखखाल त कुनै पनि हालतमा फर्कन्नौँ', उनीहरु भन्दै थिए। 

रोल्पासम्म पुग्नका लागि तीनै जनाले लुगाफाटो, ओड्ने कम्बल, चिउरा र चाउचाउसमेत साथमा बोकेका छन्। 'चिउरा र चाउचाउको भरमा पुगिएलाकी भन्ने छ', विकले भने 'पैसोको चिन्ता छैन, तीनै जनाले बोकेका छौँ, बाटोमा किनेर खान पाइन्छ की पाइन्न भन्ने चिन्ता छ।' सानो झोलामा उनीहरुले केही प्याकेट चाउचाउ र केही किलो चिउरा पाँखखालबाटै किनेर ल्याएका छन्। जता जता पाइन्छ उतै उतै किन्ने उनिहरुले योजना बनाएका छन्। तीनै जनाले मोवाइल बोकेका छन्। घरमा निरन्तर कुराकानी भइरहेको उनीहरुले बताए। 

घरका जहान परिवारले पनि गाडी नपाइए हिँडैर आउनु भन्ने सल्लाह दिएका छन्। त्यसले पनि उनीहरुलाई उर्जा मिलेको छ। 'जति दिन लागे पनि हिँडेरै हाउनु, दुःख सुख घरमै काटौँला भनेका छन्', श्रीमतीको सल्लाह सुनाउँदै विकले भने। यहाँ बसेर पनि लकडाउन खुल्ने छाँटकाँट नदेखेपछि बरु हिँड्दै जाँदा बाटोमा जे जे पर्ला बेहोरौँला भनेर पाँचखालबाट निक्सकेको उनीहरुले बताए। 'गाउँका अरु पनि टाढा टाढाबाट हिँडेरै पुगेका छन रे', घरबाट आएको खबर सुनाउँदै विकले भने, 'हामी हिँडेरै पुग्न कसो नसकौँला र?'  तीनै जनाको अवस्था देखेर नैकापका स्थानीयवासीले केही बेरसम्म त्यहाँ फाट्टफुट्ट चल्दै गरेका ट्रकलाई रोकाउन प्रयास पनि नगरेका होइनन्। ट्रकका चालक कोही पनि रोल्पालीहरुलाई ट्रक चढाउन तयार भएनन्। 'आगे देखा जाएगा' भन्दै तीनै जना झिटीगुन्टा बोक्दै थानकोटतर्फ अगाडि बढे। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.