उदयपुरका १३ जना कोरोना संक्रमितको 'ट्राभल हिस्ट्री' खोज्दै प्रशासन
उदयपुर : उदयपुरको त्रियुगा नगरपालिका ३ भुल्केस्थित नुरी मस्जिदमा लुकेर बसेका १३ जनामा कोरोनाको संक्रमण देखिएसँगै स्थानीय प्रशासनले ट्राभल हिस्ट्री खोज्न सुरु गरेको छ । प्रारम्भिक ट्राभल हिस्ट्रीबाट उनीहरु मंसिर २५ गते जोगमुनी नाकाबाट नेपाल प्रवेश गरेको देखिएको छ । जोगमुनीबाट नेपाल प्रवेश गरेपछि मोरङ, सुनसरीको मस्जिदहरु हुँदै फागुन ३ देखि ५ गतेसम्म सप्तरीको वोदेबर्साइनमा लागेको नेपाल इज्तिमा सहभागी भएको खुलेको छ ।
इज्तिमा सहभागी पछि फागुन २५ गते सप्तरीको सप्तकोसी नगरपालिकाको फत्तेपुर मस्जिदमा बसी चैत्र २९ गते उदयपुरको चौदण्डीगढी नगरपालिका-५ सिवाईमा पुगेको सुरक्षा अधिकारीले बताएका छन् । यधपि उनीहरुको ट्राभल हिस्ट्री केही शंकास्पद रहेकाले प्रहरीले आधिकारिकरुपमा ट्राभल हिस्ट्री सार्वजानिक गरेको छैन् ।
सिवाईस्थित मस्जिदमा बस्दा त्यहाँको समुदायसँग घुलमिल भएको स्थानीयको भनाइ छ । सिवाईमा १५ जना रहेकामा तीन जना विराटनगर फर्किएको र १२ भारतीय मात्रै त्रियुगा नपा ७ भुल्के गएको वडाध्यक्ष देवनारायण चौधरीले बताए ।
२० देखि ४० वर्ष उमेर समूहका उनीहरू लकडाउनकै अवधिमा भुल्के मस्जिदमा पुगेका थिए । वीरगन्जको मस्जिदमा रहेका तीन धार्मिक गुरुमा कोभिड-१९ को संक्रमण देखिएपछि स्थानीय प्रशासनले मस्जिद अनुगमन गर्ने क्रममा उनीहरूलाई फेला पारेको हो । संक्रमण पुष्टिपछि भुल्के मस्जिद र आसपास क्षेत्रलाई सिल गरिएको छ ।
प्रदेश सरकारले पठाएको चिकित्सकसहितको परीक्षण टोलीले शनिबार भुल्केबाट स्वास्थ्य प्रमुख, स्वास्थ्यकर्मी, चालक, सुरक्षाकर्मी ९ जना र ५३ घरका ६० जना गरी ६९ जनाको स्वाब परीक्षणका लागि नमूना संकलन गरेको स्वास्थ्य प्रमुख मोहन सुवेदीले बताए ।
स्वाबको रिर्पोट नआएसम्म भुल्के क्षेत्र सुरक्षा घेरामा नै रहने प्रमुख जिल्ला अधिकारी दिपक पहाडीले बताए । उनले भने, 'रिर्पोट कस्तो आउँछ, त्यसपछि मात्र बस्तिलाई खुल्ला गर्ने वा नगर्ने भन्ने टुङ्गों लाग्छ । स्वाब रिर्पोट नेगेटिभ आएपनि बस्तीलाई सुरक्षाकै निगरानीमा राखिने उनले बताए ।
प्रशासनले चासो नदिएको स्थानीयको गुनासो
गत चैत्र १४ गते जिल्ला प्रशासन कार्यालयको प्रतिनिधि, प्रहरी र वडाध्यक्षलगायतका टोलीले मस्जिदको अनुगमन गर्दा मस्जिदमा ८ भारतीय र ४ नेपाली फेला परेको थियो । मस्जिदको अनुगमन गरेर लकडाउन भरी मस्जिदभन्दा बाहिर नजान अनुरोध गरेको त्रियुगा नगरपालिका ३ का वडाध्यक्ष अवधेशप्रसाद चौधरीले बताए ।
तर प्रशासनको अनुरोधलाई व्यवास्ता गर्दै उनीहरु बाहिर निस्किएर घुलमिल गरेको स्थानीयले बताएका छन् । कोरोना संक्रमितसँगै अन्य मुस्लिमहरु पनि मस्जिदमा जाने आउने गर्नुको साथै स्थानीय चियापसलमा खुल्लारुपमा चिया पीउने गरेको गरेको स्थानीयले बताएका छन् ।
स्थानीयले समेत अनुरोध गर्दा अटेर गरेपछि वडाध्यक्ष, नगरपालिका र प्रशासनलाई जानकारी गराएको स्थानीय यदु ढकालले बताए । उनले भने, 'सम्बन्धित निकायलाई पहिला नै जानकारी गराएपनि खासै चासो नदिएकाले समस्या निम्तिएको हो ।'