हावाहुरीले संक्रमित राखिएको आइसोलेसनको पर्खाल भत्कियो
वीरगन्ज : वीरगन्जको नारायणी अस्पतालको आइसोलेसन वार्डमा सोमबार रातिको हावाहुरीले क्षति पुर्याएको छ। कोरोनाका चार जना संक्रमितहरु उपचारत रहेकै आइसोलेसन वार्डमा हावाहुरीले क्षति पुर्याएको हो। हावाहुरीले आइसोलेसन वार्डको २ तिर एल्मुनियम र सिसाले बनाइएको पर्खाल हावाहुरीले भत्काइ दिएको हो।
हावाहुरीले आइसोलेसन वार्डको पर्खाल भत्काइ दिएपछि वार्डमा रहेका चार संक्रमितलाई सोमबार राति नै आइसीयु वार्डमा सारिएको अस्पतालका मेडिकल सुपरीडेन्टेन्ट डाक्टर मदन उपाध्यायले जानकारी दिए। हावाहुरीले वार्डको २ तिरको पर्खाल भत्काएर वार्डभित्रै पानि पसेपछि तत्कालै संक्रमितलाई आइसीयु वार्डमा सारेर उपचार गरिरहेका छौं, मेसु उपाध्यायले भने ,'भत्किएको वार्ड मर्मत गर्ने तयारीमा छौं। अहिलेलाई संक्रमितलाई राख्ने स्थानको कमी छैन्।'
चिकित्सकको आग्रहमा जगदम्बा ग्रुप, रुङगटा वेयल फेयर सोसाइटी र लायन्स क्लब वीरगन्जले २ हप्ता पहिले नारायणी अस्पतालको आकस्मिक कक्ष भवन माथिको छतमा १० लाख रुपैयाँको लागतमा २० शैय्याको आइसोलेसन वार्ड बनाइ दिएका थिए।
तीन एफएमको प्रशारण सेवा बन्द
सोमबार रातिको हावाहुरीले पर्सामा रहेका ३ वटा एफएम रेडियोमा पनि क्षति पुरयाएको छ। हावाहुरीले वीरगन्जमा रहेको सामुदायिक रेडियो नारायणी एफएम , सान्भी एफ एम र पोखरीयको रेडियो पोखरीयाको टावरमा क्षति पुर्याएको हो। तीन वटै एफ एम रेडियोको सोमबार राति देखि नै प्रशारण रोकिएको छ।
सोमबार रातिको हावाहुरी र पानीले पर्साका विभिन्न स्थानमा रहेका घर र कृषि बालीमा पनि क्षति पुर्याएको जिल्ला प्रशासन कार्यालय पर्साले जानकारी दिएको छ। घर र कृषि बालीमा भएको क्षतिको विवरण संकलनको काम भइरहेको सहायक प्रमुख जिल्ला अधिकारी ललित बस्नेतले जानकारी दिए।
प्रतिक्रिया दिनुहोस !