लालाबाला च्याँपेर घर फर्किनेको घुइँचो

लालाबाला च्याँपेर घर फर्किनेको घुइँचो

काठमाडौं : दुःखमा जन्मभूमि र विपद्मा आफन्तलाई सम्झन्छन् भन्ने उक्तिलाई मङ्गलबार र बुधबार साँझ कलङ्की र जडीबुटीमा देखिएको भीडले पुष्टि गरेको छ ।

कोभिड–१९ को जोखिम हुन नदिन लकडाउन जारी रहेपछि व्यापार, व्यवसाय र रोजगारी गुमेर समस्यामा परेका श्रमिक र न्यून आय भएका व्यक्ति कुम्लो कुटुरोसहित लालाबाला च्याँपेर घर फर्कन घुइँचो गरेको त्यो स्थानमा देखियो । मुलुकका कतिपय स्थानीय तहका जनप्रतिनिधि लकडाउन कारण राजिरोटीको समस्याले बिचल्लीमा परेका आफ्ना नागरिकको उद्धारमा त्यहाँ जुटिरहेको देखिन्थ्यो । 

भक्तपुरको जडीबुटीमा मानिसको ठूलो हुलमा भेटिएका रामेछाप नगरपालिकाका प्रमुख नरबहादुर थापामगरले लकडाउनका कारण विपद्मा परेका नागरिकलाई उद्धार गरी घर र्पुयाउने काममा आफू जुटिरहेको बताए । उनले भने, 'आज मात्र होइन हिजोदेखि नै हो यहाँ हाम्रा धेरै नागरिक लकडाउनका कारणले विपद्मा परिरहेका थिए । धेरैजसो श्रमिक छन्। घर जान चाहनेहरुको यो भीड हो । नगरपालिकाबाट उहाँहरुलाई लिन भनेर म यहाँ आएको हुँ ।'

उक्त नगरपालिकाले मङ्गलबार १३ र बुधबार १० वटा बसको व्यवस्था गरी समस्यामा परेका नागरिकलाई उद्धार गरेको थियो । विपद्मा परेका त्यस्ता नागरिकलाई नगरपालिकाले आफ्नै खर्चमा घर र्पुयाउने व्यवस्था गरेको नगरप्रमुख थापामगरले जानकारी दिए। लकडाउनका कारण रोजिरोटी गुमेर काठमाडौँ उपत्यकामा बस्ने अवस्था नरहेपछि घर फर्कन चाहनेलाई स्थानीय तहले जन्मथलो लैजाने व्यवस्था गरेका हुन् । 

स्थानीय तहले त्यस्ता घर फर्केका नागरिकलाई उपलब्ध गराउनुपर्ने राहत र औषधिका लागि तथ्याङ्कसमेत सङ्कलन गरिरहेको छ।स्थानीय तहले त्यसरी घर फर्केका नागरिकलाई आफ्नो बाँझो जमिन खनिखोस्री बालीनाली लगाउन र त्यसकालाई आवश्यक बीउ मलखादको व्यवस्था गरी उत्प्रेरणा जगाउन कामसमेत गर्ने भएका छन् । 

जडीबुटी क्षेत्रमा त्यसरी घर फर्कन चाहने दोलखा, सिन्धुली, रामेछाप, ओखलढुङ्गा, सिन्धुपाल्चोकलगायत जिल्लाका यात्रुको भीडलाई व्यवस्थापन गर्न भक्तपुरका प्रहरी प्रमुखको नेतृत्वको सुरक्षा टोलीलाई हम्मेहम्मे परेको देखिन्थ्यो । 

जडीबुटी र कलङ्की क्षेत्रमा काठमाडौँ जिल्लाका प्रहरी प्रमुखसहित ठूलो सङ्ख्यामा सुरक्षा फौज यात्रुको व्यवस्थापनमा खटिएका थिए। भीडलाई व्यवस्थापन गर्न र यात्रुलाई गाडी चढ्नका लागि अन्योल पैदा नहोस् भनेर प्रहरीले माइकबाट कुन ठाउँका लागि कहाँ बस छुट्दैछ भनेर सूचना दिइरहेका थिए। ती दुवै स्थानमा दशैँको फूलपातीको दिन जस्तै घर फर्कनेको भीड देखिन्थ्यो ।

विपद्मा परेका यस्ता नागरिकलाई  घर फर्काउने कार्यमा स्थानीय तहका मात्रै होइन कलङ्कीमा सांसद टोपबहादुर रायमाझीले समेत सहजीकरण गरेका छन्। उद्धार गरी लगेका नागरिकको स्थानीय तहमा कोभिड–१९का सम्बन्धमा सामान्य स्वास्थ्य परीक्षणको व्यवस्थासमेत मिलाइएको जानकारी दिइएको छ । 

सिन्धुलीको तीनपाट गाउँपालिकाका उपप्रमुख पदममाया तामाङ पनि लकडाउनमा अलपत्र परेका नागरिकको उद्धारका लागि बुधबार राति अबेरसम्म जडीबुटीमा खटिएका थिए।

उनले दुई दिनमा झण्डै ८०० को हाराहारीमा घर फर्कन चाहने सर्वसाधारणको व्यवस्थापन गरी पठाएको प्रतिक्रिया दिए। उनले भने, 'धेरैजसो बालबालिका र आमाहरुको उद्धार गरिएको छ । उद्धार गरिएका सबैको तथ्याङ्क लिएर सङ्कलन गरिएको राहत वितरण गर्ने स्थानीय तहले व्यवस्था मिलाएको छ ।' 

रामेछापको खाँडादेवी गाउँपालिकाका मात्रै दुई हजार नागरिक घर फर्केको जानकारी दिइएको छ । घर फर्कनेमा न्यून आएका श्रमिक र विदेशमा कार्यरत श्रमिकका परिवारजन भएको बुझिएको छ । 

लकडाउनका समयमा यथास्थानमा बस्ने र घराबाट बाहिर ननिस्कन भने पनि रोजिरोटीको समस्यामा परेका सर्वसाधारणले साताभन्दा बढी समयको पैदलयात्रामा उत्रिएपछि स्थानीय तहलाई आफ्ना नागरिकलाई व्यवस्थापन गरेर लैजान सरकारले अनुमति दिएको थियो । 

लकडाउनले हजारौँ व्यक्तिलाई जन्मथलो र्पुयाएको छ । ठूलो सङ्ख्यामा सर्वसाधारण घर फर्किएसँगै खाद्यान्न सङ्कटको सम्भावना भए पनि खेतीपाती लगाउने ठीक समय भएकाले कतिपय बाँझो जमिन खनीखोस्री गरेर बाली लगाउन उपयुक्त अवसर मिल्नेछ ।

कोभिडबाट सिर्जित लकडाउनले घर परिवार सँगै रहेर जन्मथलोमा पुगी स्थानीय उत्पादन बढाउन र विकास निर्माण कार्यमा सहकार्य गर्ने एकखाले वातावरण सिर्जना गरेको छ । 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.