सेतीमा उपचाररत ६५ वर्षीया महिलाले ११ दिनमै जितिन् कोरोना
धनगढी : सुदूरपश्चिमको सेती प्रादेशीक अस्पतालबाट ६५ वर्षीया महिला पनि बिहीबार डिस्चार्ज भएकी छन्। कैलालीको लम्कीचुहा नगरपालिकाको लम्की बहुमुखी क्याम्पसमा क्वारेन्टाइन बसेकी उनलाई वैशाख १ गते कोरोना पोजिटिभ देखिएको थियो।
क्वारेन्टाइनमा बसेकालाई १४ दिन पुगेको भन्दै अरुलाई घर पठाउने क्रममा ती महिलालाई पनि १२ दिनको क्वारेन्टाइन बसाइमै घर पठाइ दिएको थियो।
र्यापिड टेस्टमा नेगेटिभ आएपनि, घर जानुभन्दा अघि संकलन गरिएको उनको थ्रोट स्वाबको नतिजा पोजिटिभ आएको थियो। चैत २९ गते क्वारेन्टाइनबाट छुटेकी ति महिला आफन्तको घरमा बसेकी थिइन।
उनमा कोरोनाको संक्रमण देखिएपछि वैशाख १ गते नै सेती प्रादेशीक अस्पतालको आइसोलेसनमा भर्ना गरिएको थियो। उच्च रक्तचापको बिरामीसमेत रहेकी ६५ वर्षीया महिलाले ११ दिनको अस्पताल बसाईमै कोरोना जितेकी हुन्।
सुदूरपश्चिमका लागि उनी कोरोना पोजिटिभ देखिने चौथो महिला हुन भने घर जानेमा पनि चौथौ भएकी छन्। सेती प्रादेशीक अस्पतालमा अब एकजना मात्र कोरोनाका बिरामी भर्ना छन्।
धनगढीको हसनपुरका ३४ वर्षका युवाकी ३४ वर्षकै भाउजूको मात्र सेतीमा उपचार भइरहेको छ। दुवईबाट आएका ती युवामा कोरोना पोजिटिभ देखिएपछि परिवारको पनि थ्रोट स्वाब चेक गर्दा भाउजूको मात्र रिपोर्ट पोजिटिभ आएको थियो।
सेती प्रादेशीक अस्पतालका चिकित्सकले, ती महिलाको पनि स्वास्थ्य अवस्था सामान्य रहेकाले केही दिनमै निको हुने विश्वास व्यक्त गरेका छन्। धनगढी उप–महानगरपालिका वडा नम्बर ५ का ३४ वर्षीय पुरुष, लम्कीका २१ वर्षीय युवक र कञ्चनपुर वेदकोटका ४१ वर्षीय पुरुष यसअघि नै घर फर्किसकेका छन्।