वीरगञ्‍जमा कोरोना संक्रमित थुपारिएको भन्दै सरकारको विरोध

वीरगञ्‍जमा कोरोना संक्रमित थुपारिएको भन्दै सरकारको विरोध

वीरगञ्‍ज : वीरगञ्‍जमा एकै दिन तीन कोरोनाका संक्रमित भेटिएपछि सरकारले बैशाख ३ मा वीरगञ्‍जमा पिसिआर मेसिन पठायो। तर आवश्यक अन्य थुप्रै उकरण नपठाएका कारण उक्त पिसिआर मेसिन १० दिनदेखि अस्पतालकै स्टोर रुममा थन्क्याएर राखिएको छ। सर्लाहीबाट बिहीबार राति कोरोनाका संक्रमित १४ वर्षीय बालकलाई पनि नारायणी अस्पतालको आइसोलेसनमा ल्याएर राखिएको छ।

योसँगै अस्पतालमा वीरगञ्‍जका तीन र रौतहटका एक गरि कोरोनाका संक्रमित पाँच बिरामी पुगेका छन्। वीरगञ्‍जमा कोरोनाको परिक्षणका लागि कुनै पहल नगर्ने तर प्रदेश २ मा भेटिइरहेका संक्रमितहरुलाई ल्याएर थुपार्ने काम मात्रै भइरहेको भन्दै प्रदेश सरकारको चर्को आलोचना भइरहेको छ। शुक्रबार वीरगञ्‍जमा नेविसंघले लकडाउनमै सडक उत्रिएर सरकारको विरोधमा प्रदर्शन पनि गरेको छ। यसअघि बिहीबार पनि जनता समाजवादी पार्टीले पनि छपकैयामा सामाजिक दुरी राख्दै प्रदर्शन गरेको थियो।

शनिबार वीरगञ्‍जमा सरकारविरुद्ध थाल ठटाउनुका साथै सिट्टी बजाएर विरोध प्रदर्शन गर्न सार्वजनिक आह्वान पनि गरिएको छ। वीरगञ्‍जमा कोरोनाको परिक्षण सेवा सुरु गर्न उदासिनता देखाएको प्रदेश सरकारले बाहिरका जिल्लाबाट भने कोरोनाका संक्रमितहरुलाई नारायणी अस्पतालमै ल्याएर थुपार्न थालेको भन्दै प्रदेश सरकारको विरोध गरिएको हो। प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउत वीरगञ्‍जकै भए पनि गृह नगर वीरगञ्‍जप्रति ध्यान नदिएको भनेर मुख्यमन्त्री राउतको पनि आलोचना गरिएको छ।

प्रदेश २ को सत्तारुढ दल जनता समाजवादी पार्टीकै नेता सुन्दर कुर्मीले बाहिरी जिल्लाबाट कोरोना संक्रमित बिमारीलाई ल्याएर वीरगञ्‍जलाई बदनाम र त्रसित बनाउने काम भइरहेको बताए। नारायणी अस्पताललाई कोविड १९ अस्पताल बनाएर पर्सा र बारा जिल्लावासीसँग बेइमानी भएको भन्दै कुर्मीले भने ,'सरकारले कामै नलाग्ने पिसिआर मेसिन पठाएको छ। यदि कोहि नेता वा मन्त्रीले वीरगञ्‍जलाई संकटमा धकेल्न खोजेको हो भने जुन दल भए पनि  त्यस्ता दल र नेतालाई तिलान्जली दिन तयार छु।' वीरगञ्‍ज महानगरपालिका नगर प्रमुख विजय सरावगीले पनि वीरुगन्जलाई झुक्याउनका लागि पिसिआर मेसिन पठाएको बताए। उनले भने 'वीरगञ्‍जप्रति प्रदेश र संघ सरकारले विभेद गरेका छ। सामाजिक सञ्जालमा पनि वीरगञ्‍जका युवा, नागरिक अगुवा, राजनीतिक दलका नेता कार्यकर्ताले सरकारको विरोध गरेका छन्।

फेसबुकमा आक्रोश पोख्दै नेकपाका युवा नेता अकलेश साहले लेखेका छन् ,'राजधानीका लागि उपयुक्त देख्ने नेता मन्त्रीले वीरगञ्‍जलाई भने कोरोनाका बिरामीहरुको राजधानी बनाइ रहेका छन्। यस्ता सरकार र मन्त्रीलाई वीरगञ्‍जबासीले बहिष्कार गर्नुपर्छ।' सरकारले चैत ३० गते नै  नारायणी अस्पताललाई कोविड १९ अस्पताल घोषणा गरि बैशाख २ गतेदेखि अस्पतालको सबै उपचार सेवा बन्द गरि दिएको छ।

वीरगन्जको छपकैयामा प्ले कार्डसहित प्रदर्शन गर्दै जनता समाजवादी पार्टीका नेता कार्यकर्ता। 

नारायणी अस्पतालका मेसु डाक्टर  मदन उपाध्यायले सरकारले पठाएको पिसिआर मेसिन  मात्रै आएको तर उक्त मेसिन सञ्‍चालनका लागि आवश्यक अन्य थुप्रै उपकरण नभएका कारण मेसिन सञ्‍चालनमा ल्याउन नसकिएको बताए। उनले भने ,'अझै करिब डेढ दुइ करोड जतिको उपकरण चाहिन्छ। ती उपकरण जहिले आउँछ त्यहि दिनदेखि पिसिआर सेवा सुरु हुन्छ। प्रदेश सरकारले पाँच दिन पहिले नारायणी अस्पतालमा थप उपकरण खरिदका लागि थप ५० लाख रुपैयाँ पठाउने निर्णय गरेको थियो। तर मेसु उपाध्यायले प्रदेश सरकारबाट २५ लाख रुपैयाँ मात्रै अस्पतालमा आएको बताए। 'प्रदेश र संघ सरकारले उपकरण खोजी रहेका छन्। अस्पताल आफै पनि प्रयासमा लागि रहेको छ' उनले भने ,'सामान जहिले आउँछ त्यहि दिन देखि सेवा सुरु हुन्छ।

नारायणी अस्पतालले बिहीबारसम्म २ सय ३० जनाको स्वाब संकलन गरि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौंमा पठाएको र त्योमध्य वीरगञ्‍जका तीन र रौतहटका एक गरि चार बाहेक अरु सबैको पिसिआर रिपोर्ट नेगेटिभ आएको बताए। शुक्रबार पनि ५ जनाको स्वाब संकलन गरि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौंमा पठाइएको उपाध्यायले बताए। प्रदेश २  सरकारका प्रवक्ता आन्तरिक मामिला तथा कानु मन्त्री ज्ञानेन्द्र यादवले पिसिआर मेसिन सञ्‍चालनका लागि आवश्यक केहि उपकरणका लागि प्रदेश सरकार लागि परेको बताए।

पिसिआर मेसिन थन्क्यार राखिएको वीरगन्जको नारायणी अस्पताल।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.