जरिवानाको डरले बाँझो जमिनमा धमाधम खेतीपाती

जरिवानाको डरले बाँझो जमिनमा धमाधम खेतीपाती

बुटवल : बुटवल उपमहानगरको बेलवास नयाँगाउँ आठ वर्षअघिसम्म प्रशस्त धान फल्ने क्षेत्र मानिन्थ्यो । सडक किनारमा एकाध घरबाहेक सबै हरियै खेत थियो। त्यो स्वरुप चार वर्षअघि फेरियो । जग्गा प्लटिङ भए । खेतको बीचमा सडक र बिजुलीका पोल ठडिए ।

प्लटिङपछि धान रोपाईं भएन् । खेत घडेरी बन्यो र बाँझै रह्यो । नयाँगाउँका लेखनाथ गौतमको खेत पनि त्यसैगरी मासियो । घडेरी किन्ने केहीले त घर बनाए । तर अरु जमिन बाँझै रह्यो । ५/७ वर्षपछि ती जमिन फेरी पुरानै स्थितिमा फर्किन थालेका छन् । 

'लकडाउनले सबै घरमा बसेपछि खेत जोतेर तरकारी लगाएका छौं, गौतमले भने । बाँझो जमिन जोतेर तरकारी, मकै लगाउने उनी एक्ला हैनन् । छिमेकीले समेत धमाधम तरकारी रोपेका छन् ।

वडा कार्यालयले घर अगाडिको जमिन बाँझो नराख्नु भन्ने निर्देशन दिएको छ । वडाको निर्देशनपछि अरुको घडेरी समेत जोतेर खेती सुरु गरिएको छ । 'करेसावारीमा तरकारी उत्पादन गरे बजारमा किनिरहनु पर्दैन, 'यसले भारतबाट हुने आयात कम हुन्छ,' बुटवल १२ का वडाध्यक्ष दुर्गाप्रसाद सुवेदीले भने।

नयाँगाउँ वेलवास क्षेत्रमा बाँझा खेत जोत्ने अभियान नै चलेको छ । जोजस्को घर छेउछाउमा खाली जमिन छ त्यो जोतेर बाली लगाइएको छ । प्रायः खेतमा तरकारी रोपिएको छ । मकै, मुङ लगाउने पनि छन् ।

रुपन्देहीको तिलोत्तमा नगरपालिकाले जमिन बाँझो नराख्न उर्दी जारी गरेको छ । बाँझो जमिन राख्नेले जरिवाना नै तिर्नुपर्ने निर्णय नगरपालिकाले गरेपछि खेतीपाती सुरु भएको छ ।  नगरपालिकाको निर्णय अनुसार बाँझो जमिनमा जग्गाधनी आफैले खेती नगरे सधियार वा अन्य व्यक्तिले समेत खेती गर्न सक्नेछन् ।

नगरपालिकाको निर्णयसँगै घरछेउका बाँझा जमिनमा खेती गर्ने बाटो खुलेको हो । 'कृषि उत्पादन बढाउनका लागि हामीले यो निर्णय लिएका हौं, तिलोत्तमा नगरपालिकाका प्रमुख बासुदेव घिमिरेले भने, 'निर्णयसँगै बाँझो जमिनमा बेमौसमी तरकारी खेती सुरु भएको छ । यसले तरकारीमा पालिकालाई आत्मनिर्भर बनाउँछ।'

एक सय २६ वर्ग किलोमिटरमा फैलिएको तिलोत्तमामा ४१ हजार ४ सय ५० मेट्रिकटन तरकारी उत्पादन हुँदै आएको छ । यो निर्णयपछि तरकारी उत्पादनको मात्रा बढ्ने विश्वास गरिएको छ । नगर क्षेत्रमा २२ हजार ४ सय ६० मेट्रिक टन धान उत्पादन हुन्छ । गहुँ आठ हजार १ सय र मकै २ हजार ४ सय ५० मेट्रिक टन उत्पादन हुन्छ । नगरलाई कृषि उपजमा आत्मनिर्भर बनाउने योजनासहित यसअघि नै भारतीय तरकारी र फूलको प्रयोगमा रोक लगाइएको छ।

लकडाउनको समयमा गरिएको निर्णय कार्यान्वयनमा आएपछि घडेरीमा पनि तरकारी खेती उत्पादन हुनेछ । तीव्र शहरीकरणले तिलोत्तमाको धेरै खेतीयोग्य जमिन टुक्र्याएर घडेरीमा परिणत गरिएका छन् । जसले धान उत्पादन हुने खेतहरु बाँझिएका छन् । 

यो निर्णय कार्यान्वयनमा आए जग्गाको कर धनीले तिर्नुपर्ने छ । अर्कैले गरेको खेती जग्गाधनीले क्षति गरे वा अवरोध पुराए जरिवाना तिराउने निर्णय समेत नगरपालिकाले गरेको छ । खेती गर्नुअघि नगरपालिकामा जानकारी गराउनुपर्ने प्रावधान राखिएको छ ।

रुपन्देहीकै सैनामैना नगरपालिकाले समेत जमिन बाँझो नराख्ने नीति सहित खेती गर्न आग्रह गरेको छ । नगरप्रमुख चित्रबहादुर कार्कीले कृषि उपजमा आत्मनिर्भर बन्नुका साथै स्थानीयको आर्थिक व्यवभार घटाउन उत्पादनमा जोड दिइएको बताए ।

पालिकाले जग्गा बाँझो नराख्ने नीतिसहित खेती गर्नेलाई बीउबिजन समेत निशुल्क दिएका छन् । कोरोनाको महामारीका कारण अन्य क्षेत्रमा नकारात्मक प्रभाव देखिएपछि कृषि उत्पादनमा वृद्धि हुने विश्वास गरिएको छ ।

प्रदेश ५ का तराईका जिल्लामा मात्रै नभई पहाडि जिल्लामा समेत खनजोत सुरु गरिएको छ।लकडाउनले परिवारका सदस्य घरमै भेला भएपछि फलफूल, तरकारी खेती लगाइएको हो।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.