भारतीय मजदुर सीमामा अलपत्र

भारतीय मजदुर सीमामा अलपत्र

जनकपुरधाम :  काठमाडौंसहित देशका विभिन्न स्थानबाट एक साता लगाएर आएका भारतीय मजदुर सीमानामा अलपत्र परेका छन् । कोरोना (कोभिड १९) महामारी संक्रमण रोकथाम तथा नियन्त्रणका लागि सरकारले गरेको लकडाउनको कारण सीमा सिलपछि विभिन्न शहरबाट आएका भारतीय मजदुर अलपत्र परेका हुन् ।

लामो समयको लकडाउनमा भोकभोकै बस्नुभन्दा आफ्नै घर जाने सोचेर एक साता लगाएर हिँडेरै आएका भारतीय मजदुरहरूलाई सीमामा प्रवेश गर्न नदिइ फर्काइएको हो। भारत विहार प्रान्तको दरभंगा स्थित अमैठी बस्ने ३५ वर्षीय चन्द्रभुषण सदाले काठमाडौंबाट एक साता लगाएर आफ्नो घर फर्किन खोज्दा प्रहरीले रोकेको गुनासो गरे । उनले भने, ‘काठमाडौंको ईंट्टाभट्टामा धेरै दिनदेखि काम गरेँ, लकडाउनपछि काम नपाएर बस्नुभन्दा फर्किनु ठिक सोचेर निस्किएँ। यहाँ आएर अलपत्र परेको छु, हामी कोरानाको संक्रमणबाट जोगिँदै यहाँसम्म आयौं, तर यसरी हामी यहाँ कतिदिन बस्नु ?’

नेपाल–भारत सीमा क्षेत्र सिल गर्दा नेपाल आउने र भारत जान चाहने मजदुरहरू दुवैतर्फ घेरिएका छन् । ललितपुर, काठमाडौंदेखि सिन्धुली, बर्दिवास, जनकपुरधाम हुँदै जटही सीमानाकामा पुगे पनि सीमा क्षेत्र रेखदेखको जिम्मा पाएका सशस्त्र प्रहरीले जान नदिएको भन्दै चार दिनदेखि अलपत्र परेको उनीहरूले बताए।

ललितपुर स्थित लेलेमा एचबी इँट्टा भट्टामा काम गर्दै आएका तीन दर्जन भारतीयलाई नगराइन स्थित जटही नाकाबाट भारत प्रवेश गर्न खोज्दा सशस्त्र प्रहरीले सीमापार जान रोकको हो । सीमा सिल रहेको भन्दै सशस्त्र प्रहरीले नगराइन नगरपालिकाको जिम्मा लगाएको छ । नगरपालिकाले वडाको समन्वयनमा विद्यालयमा बास गराइ खाने प्रबन्ध मिलाएको वडाध्यक्ष देवलाल यादवले जानकारी दिए । 

अलपत्र भारतीय नागरिकलाई नगराइन नगरपालिका स्थित राजेश्वर निधि माध्यमिक विद्यालयमा भोजनको व्यवस्था मिलाएर विद्यालयकै आँगनमा बासको व्यवस्था गरी राखिएको नगरपालिका प्रमुख परमेश्वर साहले जानकारी दिए । उनले विद्यालयमा भारतीय मजदुरहरूको रेखदेखका लागि दुई जना सुरक्षाकर्मी समेत खटाइएको जनाए । खाना पकाउनका लागि व्यवस्था गरे पनि सुत्न तथा बस्न व्यवस्था नभएका कारण विद्यालयको बरण्डामै भुइँमा सुत्न उनीहरू बाध्य भएको छन्। 

भारत विहार प्रान्तको दरभंगाको मनिगाछी स्थित भलौरका ४५ वर्षीय शंकर सदाले भने, 'नगरपालिका मेयरले हामीलाई सीमा क्षेत्रमा लगेर छाड्ने भनेका थिए, तर आफूहरूलाई कोही लिन आएनन्, यहाँ यसरी कति दिन र रात काट्नु हामीलाई आफ्नो घरसम्म जान दिएको भए भैहाल्थ्यो नि !’ 

अर्का भारतीय मजदुर सन्तोष सदाको घर सीमादेखि एक किलोमिटरको दुरीमा छ, तर उनलाई जान दिइएको छैन। उनले भने, ‘मेरो गाउँ १ किलोमिटरको दुरीमा मात्रै छ, आधा घन्टामै हिँडेर गयौँ भने पुगिन्छ, तर हामीलाई जानबाट रोक्दा हामी यही झन् अलपत्र पर्‍यौं ।’ अलपत्र भारतीय मजदुरहरू भारत विहार स्थित मधुवनी जिल्ला र दरभंगा जिल्लावासीहरू हुन् । 

यता प्रमुख जिल्ला अधिकारी कोषहरि निरौलाले अर्को आदेश नभएसम्म सीमा नाका खोल्न नसकिने बताए । उनले भने, 'कोरोनो उच्च जोखिम रहेकाले देश नै लकडाउन छ, हामी जहाँ छौं, त्यहीँ सुरक्षित रुपमा बस्नुपर्ने हुन्छ, अझ भारतीय मजदुरहरू कतिको सम्पर्कमा गएर आएका होलान् हामी जान दिए पनि भारतीय पक्षले प्रवेश गर्न दिँदैनन, त्यसैले सर्तकता अपनाएर जहाँ छ त्यही बस्नुपर्ने हुन्छ ।’


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.