एकै परिवारका १७ जनामा कोरोना संक्रमण : वीरगन्जमा संक्रमितको संख्या २४ पुग्यो
वीरगन्ज : वीरगन्जमा बुधबार एकै परिवारका १७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। गत आइतबार कोरोनाको पुष्टि भएपछि नारायणी अस्पतालमा ल्याएर भर्ना गरिएका वीरगन्ज ३ छपकैयाका ३६ वर्षीय पुरुषको परिवारका १७ जनामा बुधबार कोरोना संक्रमणको पुष्टि भएको हो।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बुधबार वीरगन्ज ३ छपकैयामा भेटिएका एकै परिवारका १७ संक्रमितमध्ये १० पुरुष र ७ महिला छन्। संक्रमित १७ मध्ये २ र ६ महिनाका दुई शिशु छन्। त्यस्तै ३ वर्ष, ९ वर्ष, १२ वर्ष, १३ वर्ष र १४ वर्षका पाँच बालबालिका छन्। बाँकी ३५ देखि ६६ वर्षसम्मका १० जना महिला र पुरुष रहेको नारायणी अस्पतालका मेडिकल सुपरिडेन्डेन्ट डाक्टर मदन उपाध्यायले जानकारी दिए।
गत आइतबार कोरोना संक्रमणको पुष्टि भएपछि अस्पतालमा ल्याइ भर्ना गरिएका वीरगन्ज ३ छपकैयाका ३६ वर्षीय संक्रमित परिवारका सदस्य र उनको सम्पर्कमा रहेका अन्य गरेर ३२ जनाको स्वाब संकलन गरेर पीसीआर परीक्षणका लागि सोमबार काठमाडौंको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा पठाएको थियो।
काठमाडौंको प्रयोगशालाबाट बुधबार अपरान्ह प्राप्त ३२ जनाको रिपोर्टमध्ये एकै परिवारका १७ जनाको पीसीआर रिपोर्ट पोजिटिभ आएको अस्पतालका मेसु उपाध्यायले जानकारी दिए। रिपोर्ट पोजिटिभ देखिएका सबैलाई उपचारका लागि अस्पताल ल्याइएको छ। 
‘संक्रमित थपिने सम्भावना पहिलेदेखि नै थियो त्यसैले हामीले अस्पतालमा संक्रमितको उपचारका लागि थप ५० बेड पहिलादेखि नै तयार पारेर राखेका थियौँ’, उपाध्यायले भने, ‘अस्पतालमा पहिलेका ११ र बुधबार १७ गरेर कुल २८ जना उपचाररत छन्।’ ‘वीरगन्जमा पहिलो पटक शिशु, बालबालिका र महिलामा संक्रमण देखिएको छ’, उपाध्यायले भने।
वीरगन्जमा मात्रै संक्रमितको संख्या २४ पुग्यो
वीरगन्जमा बुधबार थप १७ जना संक्रमित भेटिएपछि वीरगन्जमा मात्रै अहिलेसम्म भेटिएका संक्रमितको संख्या २४ पुगेको छ। संक्रमितमध्ये वीरगन्जका स्थानीय २१ जना हुन् भने ३ जनो भारत उत्तर प्रदेश र दिल्लीका जमाती हुन्।
वीरगन्ज ३ छपकैयाका मात्रै संक्रमितको संख्या १९ पुगेको छ। यस्तै वीरगन्ज २ छपकैया र वीरगन्ज १६ इनर्वाका १/१ जना छन्। वीरगन्जमा बुधबारसम्म भेटिएका २४ संक्रमित मध्ये २ जना भारतीय जमाती यसअघि नै अस्पतालबाट डिस्चार्ज भइसकेका छन्। अब नारायणी अस्पतालको आइसोलेसनमा बुधबार ल्याइएका १७ सहित अन्य जिल्लाका र भारतीय जमातीसहित २८ संक्रमित उपचाररत रहेको मेसु उपाध्यायले जानकारी दिए। 
परिवारका १८ जना संक्रमित भएपछि वडावासी त्रासमा
बुधबार भेटिएका १७ जना संक्रमितको घरबाटै यसअघि गत आइतबार संक्रमणको पुष्टि भएका ३६ वर्षीय पुरुष, राहत वितरणका लागि वडा नम्बर ३ मा गठन गरिएको सर्वदलीय समितिका सदस्य पनि हुन्।
यसअघि वैशाख १४ मा कोरोना संक्रमण पुष्टि भएका वडा नम्बर ३ मा कार्यरत महानगरपालिकाका सरसफाइ कर्मचारीसँगै उनी पनि राहत वितरणमा खटिएका थिए।
उनी राहत वितरणमा टोलटोलमा खटिएका कारण वडा नम्बर ३ का अन्य व्याक्तिमा पनि संक्रमण फैलिएको हुन सक्ने आशंकाले स्थानीय त्रासमा छन्। एकै परिवारका १८ र अन्य दुई गरी वडामा १९ जना संक्रमित भेटिएपछि पुरै वडावासी त्रसित बनेको वडा नम्बर ३ का वडा अध्यक्ष बैजुलाल स्वर्णकारले बताए।
एकै परिवारका १७ जनामा संक्रमण फेला परेपछि वडासहित आसपासका अन्य क्षेत्र पनि सिल गरिएको सहायक प्रमुख जिल्ला अधिकारी बस्नेतले जानकारी दिए।
प्रतिक्रिया दिनुहोस !