गुम्यो रोजगार
अछाम : ढकारी गाउँपालिकाका-५ का नरेन्द्र साउँद रोजगारीका लागि मंसिरमा भारतको पिथौरागढ गएका थिए। उनका दाजु दिलबहादुरसँगै रोजगारीका लागि पिथौरागढ गएका हुन्। आर्थिक अवस्था कमजोरका कारण नरेन्द्रले कक्षा ४ मा पढाई छोडे। उनी दाईसँगै पिथौरागढमा सडक निमार्णका लागी ढुंगा बोक्ने काम गर्थे। यसैबाट जेनतेन हुने आम्दानी दुबै दाईभाई मिलेर घर खर्चका लागि पठाउथे। अहिले उनीहरुको रोजगार गुमेको छ। उनले भने ‘७ जनाको परिवार छ,यहि खर्चबाट घर चल्छ अब त्यो पनि छैन्। अब परिवार कसरी पाल्ने।’कोरोना भाईरसको भन्दा पनी घरपरिवार कसरी पाल्ने भन्ने चिन्ता लागेको उनले दु:खेसो गरे।
खडगबहादुर साउँद हरेक वर्ष हिउँदको खेती लगाएर कमाउनका लागि पिथौरागढ जान्छन्। उनको ९ जनाको परिवार पिथौरागढकै कमाईबाट पालिन्छन्। उनले भने ‘उतैको कमाईले घरमा चुलो बल्छ। छोरा बिरामी थियो,उपचार गर्न सगै लगेको थिए। राम्रोसँग उपचार नै हुन पाएन। कमाएको पैसा जति उतै सकियो। रित्तो हात फर्किनु पर्यो।’खडगको घरमा खेती लगाउने पुरुष कोहि नभएकाले उनी खेतीपाती लगाउन सिजनका केहि कमाई गरेर घर फर्किने गर्छन्।
नरेन्द्र र खडग जस्तै रतन जैशीको चिन्ता पनि उस्तै छ। कमाईका लागि भारत गएका उनी रोजगार गुमेपछि जसोतसो गाउँ फर्किएका छन्। रतनले भने ‘अहिले गाउँपालिकाको क्वारेन्टाइनमा बसेका छौं। लकडाउन भएपछि पिथौरागढमा एक महिना खोलीमा बस्यौं। कमाएको पैसाले उतै खान ठिक्क भयो।' गाउँपालिका-४ र ५ का ३२ जना मंसिरमा सबैसँगै रोजगारीका लागी पिथौरागढ गएका थिए। उनीहरु सबैलाई बैशाख २० गते धारचुलाबाट उद्धार गरी गाउँपालिकाले निमार्ण गरेको क्वारेन्टाइनमा राखिएको छ।
कोरोना भाइरसका कारण लकडाउन भएपछि भारतमा रहेका अछामीहरुको बिचल्ली भएको छ। अछामका अधिकांश परिवार घरको चुलो भारतको कमाईबाट बल्ने गर्छ। भारतको रोजगारमा निर्भर रहेका स्थानीय बासिन्दाहरु अहिले चिन्तित छन्। अछामका स्थानीय तहहरुले स्थानीय स्तरमै रोजगारको व्यवस्था गर्ने भनेपनी यहाँका अधिकाश पुरुषहरु अझै पनि कमाउन भारत जानुपर्ने बाध्यताको अन्त्य हुन सकेको छैन्। स्थानीयतहरुको तथाक अनुसार जिल्लामा चैत १ गते यता ३ हजार ३ सय २१ जना भारत तथा तेस्रो मुलुकबाट भित्रिएका छन्।
मेल्लेख गाउँपालिकामा ५७४, रामारोशन गाउँपालिकामा २४७, पञ्चदेवल बिनायक नगरपालिकामा १२० चौरपाटी गाउँपालिकामा ९०,ढकारी गाउँपालिकामा ६१९ तुर्माखाँद गाउँपालिकामा ३९०, कमलबजार नगरपालिकामा २१४,मंगलसेन नगरपालिकामा ६२२, बान्नीगढी जयगढ गाउँपालिकामा २९९, साँफेबगर नगरपालिमा १४३ भारतबाट भित्रिएका छन्।
प्रतिक्रिया दिनुहोस !