सप्तकोशी किनारमै थन्किए डुङ्गा
राजविराज : लकडाउनका कारण डुङ्गा चलाउन नपाउँदा पुख्र्यौली रुपमा सप्तकोशीमा माछा मारेर गुजारा चलाउँदै आएका सप्तरीको १ सय ५० परिवार मुखिया समूदायलाई हातमुख जोर्न समस्या परेको छ। लकडाउन कार्यान्वयनका क्रममा स्थानीय प्रशासनले डुङ्गामा ताल्चा मारेर चलाउन रोकेपछि उनीहरुले सञ्चालन गर्दैआएको डुङ्गा सप्तकोशी किनारामै थन्किएको छ।
सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका-१२ मुखियाटोलका १ सय ५० परिवार मुखिया समूदाय सप्तकोशी नदीमै आश्रित छन्। पुर्ख्यौली रुपमा माछा मारेरै उनीहरु आफ्ना परिवारको गुजारा चलाउँदै आएपनि यतिवेला वन्दाबन्दीका कारण डुङ्गा किनारमै थन्किएको हो। आफूलगायत परिवारको गुजारा चलाउने एक मात्र उपायका रुपमा रहेको डुङ्गा पनि किनारमै थन्किदा भोकभोकै बस्नुपर्ने अवस्था आएको स्थानीय मनिकलाल मुखियाको दुखेसो छ।
सिजनमा माछा मार्ने,वर्षामा कोशीको बाढीमा बगेर आउने काठ दाउरा डुंगाकै माध्यमले संकलन गरी बेचेर गुजारा चलाउने गरेको सुनाउँदै उनले अहिले बेकाम भएर बस्नु पर्दा साह्रै समस्या परेको बताए। स्थानीय सरकारले उपलब्ध गराएको थोरै राहतले केही दिन खान पाए पनि लम्बिएको बन्दीले चिन्ता बढेको उनको भनाई छ। यस्तै अर्का स्थानीय मनोजकुमार मुखियाले सप्तकोशी र डुँगा आफ्ना जिविकोपार्जनको आधार रहँदै आएकोमा अहिले पुख्र्यौली पेशाबाट बञ्चित हुनु पर्दा बालबच्चा कसरी पाल्ने भन्ने चुनौति थपिएको समस्या सुनाए। कि त बन्द गराइएको डुंगा चलाउने बातावरण मिलाई दिनु पर्यो कि हामीलाई थप राहतको व्यवस्था हुनु पर्यो,उनले भने। हनुमाननगर कंकालनी नगरपालिकाका मेयर शैलेशकुमार साहले रोजगारीबाट बञ्चित भएकाहरुलाई राहत वितरण कार्य जारी रहेको भन्दै मुखिया बस्तीको समस्या बुझेर त्यसको पनि समाधान गरिने बताए।
प्रतिक्रिया दिनुहोस !