सीमाबारे भारतसँग सरकार अविलम्ब वार्ता गर्न चाहन्छ : परराष्ट्रमन्त्री ज्ञवाली

सीमाबारे भारतसँग सरकार अविलम्ब वार्ता गर्न चाहन्छ : परराष्ट्रमन्त्री ज्ञवाली

काठमाडौं : सरकारले भारतसँग अविलम्ब वार्ता गरेर सीमासम्बन्धी समस्या समाधान गर्न चाहेको पुनः स्पष्ट गरेको छ।

भारतसँग जुनसुकै तहमा वार्ता गर्न नेपाल तत्पर रहेको स्पष्ट गर्दै सरकारले भारतका कारण उत्पन्न पछिल्लो समस्या कूटनीतिक माध्यमबाटै निरुपण गर्ने नेपालको चाहना पनि दोहोर्‍याएको छ।

अन्तर्राष्ट्रिय सम्बन्ध समितिको सोमबारको बैठकमा उठेका प्रश्नहरुको जवाफ दिने क्रममा परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले लिपुलेकलगायत द्विपक्षीय सीमा समस्या समाधान गरेपछिमात्र उक्त लेकलाई व्यापार विन्दुका रुपमा उपयोग गर्ने भारत र चीनको निर्णयका सम्बन्धमा चीनसँग बेग्लै वार्ता गर्नु श्रेयस्कर हुने बताए।

कालापानी क्षेत्रको नेपाली भूभागलाई समेटेर भारतले आफ्नो नक्सा प्रकाशन गरेयता नेपाल सरकारले भारतीय पक्षलाई औपचारिक एवं अनौपचारिकरुपमा अनेकौँपटक नेपालको धारणा प्रष्ट गरेको र वार्ताका निम्ति आह्वान गरेको जानकारी दिँदै उनले कोरोना महामारी साम्य भएपछि वार्ता गर्न सकिने भारतको अभिव्यक्ति सकारात्मक भए पनि त्यसअगावै दुवै पक्षबीच शीघ्र वार्ता हुनुपर्नेमा जोड दिए।

मुलुकको राष्ट्रिय हितमा अविचलित भएर समस्या समाधानमा लाग्ने नेपाल सरकारको प्रतिबद्धता दोहोर्‍याउँदै परराष्ट्रमन्त्री ज्ञवालीले भारतसँगका सीमासम्बन्धी मुद्दा हल गर्न दृढ निश्चयका साथ गम्भीर भएर निरन्तर लागिरहेको बताए।

असल छिमेकीपनका आधारमा भारतसँग नेपालले वार्ता गर्न चाहेको बताउँदै उहाँले सीमा समस्यालाई द्विपक्षीयरुपमा कूटनीतिक माध्यमबाट समाधानको प्रयास नगरी अन्तर्राष्ट्रिय अदालतका ढोका घचघच्याउनु उपयुक्त नहुने विचार व्यक्त गरे।

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्मा अर्यालले द्विपक्षीय सहमतिका आधारमा आ-आफ्ना भूभाग छुट्याउने, अन्तर्राष्ट्रिय सीमा नक्सा प्रकाशन गर्नुपर्ने अन्तर्राष्ट्रिय प्रचलन रहेको तथा त्यसको भारतद्वारा उल्लङ्घन भइसकेको सन्दर्भमा नेपाल सरकारले अझै पनि द्विपक्षीय प्रयास गरिरहेकाले नक्सा प्रकाशनमा केही विलम्ब भएको बताए।

समितिको निर्देशनानुसार नयाँ नक्सा जारी गर्न आवश्यक तयारी भएको जानकारी दिँदै उनले समितिका निर्देशन र सुझाव सरकारका निम्ति मार्गदर्शक हुने बताए।

समितिका सभापति पवित्रा निरौलाको अध्यक्षतामा भएको बैठकमा सदस्यहरुले नेपाली भूमिमा भारतले निर्माण गरेको चीन जोड्ने बाटोको प्रवेश र निष्काशन विन्दुमा नेपालले भन्सार जाँच चौकी राखेर लाभ लिन सक्ने र भारतले क्षतिपूर्तिस्वरुप बङ्गलादेशसँग नेपाललाई जोड्ने फूलबारी नाका निर्वाध उपयोग गर्न पाउने सुविधा दिनुपर्ने सुझाव पनि प्रस्तुत गरेको थियो।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.