स्वास्थ्यकर्मीसहित २९ जनामा कोरोना संक्रमण
कपिलवस्तु : जिल्ला अस्पताल तौलिहवामा कार्यरत महिला स्वास्थ्यकर्मीसहित २९ जनामा कोरोना संक्रमण देखिएको छ । जिल्लामा यसअघि २१ जनामा कोरोना संक्रमण देखिएकोमा मंगलबार थप ८ जनामा संक्रमण पुष्टि भएपछि जिल्लामा कुल २९ जना कोरोना संक्रमित भएका छन् ।
आज दिउँसो स्वास्थ्य मंत्रालयबाट जारी गरिएको प्रेस वक्तव्यअनुसार कपिलवस्तु नगरपालिका वडा नं. १ की २५ वर्षीय महिलामा संक्रमण देखिएको पुष्टि भएको छ । उनी कपिलवस्तु अस्पतालमा कार्यरत स्टाफ नर्स हुन् । उनीसँगै कपिलवस्तु नगरपालिका अन्य थप ७ जना पुरुषहरु संक्रमित भएका छन् । वडा नं. ६ का १९ वर्षीय, वडा नं. ४ का २५ वर्षीय, वडा नं. ५ का ३६ वर्षीय, वडा नं. ३ का ३२ वर्षीय, वडा नं. ७ का १९ वर्षीय, वडा नं. ३ का २० वर्षीय, वडा नं. ८ का २५ वर्षीय पुरुषहरुमा कोरोना संक्रमण देखिएको हो ।
कोरोना संक्रमित २१ जनालाई कोरोना अस्पताल बुटवल पठाइएको र नयाँ पुष्टि भएका ८ जनालाई पठाउने तयारी गरिएको प्रमुख जिल्ला अधिकारी दिर्घ नारायण पौडेलले बताए । कोरोना संक्रमितहरुसँग सम्पर्कमा आएकाको पहिचान गरी स्वाब संकलन कार्य सुरु गरिएको स्वास्थ्य कार्यालयका प्रमुख योगेन्द्र भगतले बताए । 'सुरुमा कोरोना भाइरस पुष्टि भएकाको सम्पर्कमाम आएकाको स्वाब संकलन भइसकेको छ', कार्यालय प्रमुख भगतले भने, 'पछिल्लो समयमा संक्रमण पुष्टि भएकाहरुको संम्पर्कमा आएकाहरुको सूची संकलन गर्ने काम गरिरहेका छौं ।'
प्रतिक्रिया दिनुहोस !