हेलचेक्र्याइँले फैलिँदै कोरोना

हेलचेक्र्याइँले फैलिँदै कोरोना

बुटवल : कोरोना भाइरस संक्रमण रोक्न पर्याप्त तयारी नहुँदा अवस्था जटिल बन्दै गएको छ। कपिलवस्तुमा स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, कर्मचारीदेखि स्थानीयसम्म ३० जना संक्रमित फेला परेपछि भयावह अवस्था देखिएको कृष्णनगर नगरपालिकाका मेयर रजतप्रताप शाह बताउँछन्।

उक्त जिल्लामा भारतबाट मात्रै करिब ५ हजार जना फर्किएका छन्। उनीहरूलाई राख्न क्वारेन्टाइनको व्यवस्था गरिएको छैन। त्यसमाथि संक्रमितका सम्पर्कमा आएकाहरूको ट्रेसिङ कसरी गर्ने भनेर अन्योल छ। त्यस जनशक्ति पनि कम छ। तत्काल १० हजार जनाको स्वाब नमुना परीक्षण गर्नुपर्ने देखिएको छ। त्यसको उपकरण भने १ सय ५० वटा मात्रै प्राप्त भएको प्रमुख जिल्ला अधिकारी दीर्घनारायण पौडेल सुनाउँछन्।

कृष्णनगर नगरपालिकाका कर्मचारी र सरसफाइकर्मी गरी दुई जनाको नतिजा पोजिटिभ देखिएको छ। ती कर्मचारी राहत वितरण र अन्य कामका लागि गाउँ-गाउँ पुगेका कारण संक्रमण पनि फैलिएको अनुमान स्थानीयले गरेका छन्। उनले भारतबाट आएका आफन्तलाई भेट गरेका थिए। त्यही बेला कोरोना सरेको हुन सक्ने अनुमान गरिएको कृष्णनगरका मेयर शाहको ठम्याइ छ। ती कर्मचारीसँग मेयरसहित सबै वडाध्यक्षको भेट भएको थियो। कार्यालयमै आएर उनले काम गरेका थिए।

‘मैले पनि हिजोअस्ति नै भेटें। उहाँले धेरै जनासँग भेट गर्नुभएको छ’, मेयर शाह भन्छन्, ‘हामी सबै घरकै क्वारेन्टाइनमा बसेका छौं। वडाध्यक्ष र कर्मचारीहरूलाई पनि फोनबाटै काम गर्न भनेको छु।’

सफाइकर्मी भने क्वारेन्टाइनमै काम गरिरहेका बेला सरेको अनुमान गरिएको छ। कृष्णनगरका अन्य तीन स्थानीय पनि संक्रमित छन्। एक ६ वर्षीया बालिकामा पनि कोरोना देखिएको छ। उनी त्रिवि शिक्षण अस्पताल काठमाडौंमा उपचाररत छिन्। गाउँमै रहँदा वा अस्पतालमा सर्‍यो भन्ने निक्र्योल भएको छैन।

यस्तै, चार सुरक्षाकर्मीमा पनि संक्रमण देखिएको छ। सुरक्षाकर्मीसँग स्वास्थ्य सुरक्षा उपकरण छैन। उनीहरू सामान्य मास्ककै भरमा सीमामा खटिएका छन्। सुरक्षित रहन सक्ने अधिकृत स्तरका कर्मचारीमा भने लापरवाही देखिन्छ। लापरवाहीकै कारण एक नर्समा पनि संक्रमण देखिएको जनाइएको छ। व्यक्तिगत सुरक्षण उपकरण नहुनु र सामान्य सावधानी नअपनाउँदा कोरोना फैलिएको जानकार बताउँछन्।

चार सुरक्षाकर्मी कार्यालय र सीमा नाकामा परिचालित थिए। कृष्णनगरमै कार्यरत प्रहरी, सशस्त्र र अनुसन्धानका जुनियर अधिकृतमा कोरोना पोजिटिभ देखिएको हो। अर्का हवल्दार प्रहरी निरीक्षकका गाडी चालक हुन्। प्रहरी संक्रमित भएपछि ब्यारेक नै जोखिममा छ।

भारतबाट भित्रिएका नेपालीको संख्या ५ हजारभन्दा बढी भएकाले झन् समस्या निम्तिएको हो। उनीहरूको परीक्षणका साथै क्वारेन्टाइन व्यवस्थापनमा समस्या देखिएको छ। प्रमुख जिल्ला अधिकारी पौडेलका अनुसार भारतबाट आउनेलाई जुन स्थानीय तहमा घर छ, त्यहींको क्वारेन्टाइनमा राखिएको छ।

किट छैन, सिल पनि गरिएन

तौलिहवा अस्पतालमा कार्यरत नर्समा कोरोना पोजिटिभ आयो। अस्पतालमा उनीसँगै ६८ जना कार्यरत थिए। संक्रमितलाई आइसोलेसनमा राखिएको छ। अरूले भने नियमित काम गरिरहेको प्रमुख जिल्ला अधिकारी पौडेल बताउँछन्।

सुरक्षाकर्मी संक्रमित भएका इलाका प्रहरी कृष्णनगर, सशस्त्र प्रहरी कार्यालयमा पनि नियमितजस्तै काम चलिरहेको छ। जोखिम न्यूनीकरण गर्न संक्रमितको सम्पर्कमा आएका कर्मचारी क्वारेन्टाइनमा बस्नुपथ्र्यो।

कपिलवस्तुमा कम्तीमा पनि १० हजार जनाको स्वाब परीक्षण गर्नुपर्ने देखिएको छ। भारतबाट आएका ५ हजार, उनीहरूसँग जोडिएका परिवार, सुरक्षाकर्मी, स्वास्थ्यकर्मी र कर्मचारी गरी १० हजार पुग्छन्। स्वाब संकलन गर्न चाहिने उपकरण भने १ सय ५० मात्रै छ।

‘हामीले १० हजार माग गरेका थियौं तर १५० मात्रै आएको छ। यस्तै तरिकाले परीक्षण गर्ने हो भने त धेरै समय लाग्छ’, पौडेल भन्छन्।

कपिलवस्तुमा स्वास्थ्यकर्मीको छुट्टै युनिट आवश्यक हुने र परीक्षणसमेत त्यही गर्नुपर्ने माग स्थानीयले गरेका छन्। स्थानीय सरकार क्वारेन्टाइन व्यवस्थापनमा लागेका छन्। प्रदेश र संघीय सरकारले भने गम्भीरताका साथ नलिएको गुनासो काम गर्न खटिएकाहरूले गरेका छन्। जिल्लाबाहिर आवतजावत रोकिए पनि कोरोना भएकै क्षेत्रसँग भने सिल गरिएको छैन।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.