परीक्षणको पालो कुर्दै साढे १४ हजार

परीक्षणको पालो कुर्दै साढे १४ हजार

बुटवल : पाँच नम्बर प्रदेशका तराईका ६ वटै जिल्लामा कोरोना संक्रमण छ। भारतबाट पछिल्लो १५ दिनमा भित्रिएकामध्ये १४ हजार ४ सय ७७ जना क्वारेन्टाइनमा छन्। भारतबाट आउनेमै कोरोना संक्रमण देखिएपछि सबैको परीक्षण गरिनेछ। तर यी कहिलेसम्म क्वारेन्टाइनमा बसिराख्ने पत्तो छैन।

प्रदेशमा तीनवटा प्रयोगशाला छन्। यहाको स्वाब काठमाडौं लगेर समेत परीक्षण गरिएको छ। त्यति गरिँदासमेत दैनिक १ सयदेखि २ सय ५० सम्मको परीक्षण हुन्छ। आइतबार जम्मा १ सय ३१ जनाको मात्रै परीक्षण भयो। अहिलेसम्म गरिएको ४ हजार ५ सय जनाको परीक्षणमा १ सय १० जनामा कोरोना भेटिएको छ। एक जनाले क्वारेन्टाइनमै ज्यान गुमाएका छन्।

क्वारेन्टाइनमा बसेको १४ दिन अवधि पूरा हुँदा समेत कोरोना परीक्षण नभएपछि भाग्नेहरू बढ्दै गएका छन्। भारतबाट आएकामध्ये सबैभन्दा धेरै कपिलवस्तुमा छन्। एकै पालिकामा १५ सय जनासम्म क्वारेन्टाइनमा बसेका छन्। तराईको चर्को गर्मी र पंखा समेत नभएका विद्यालयका कक्षाकोठामा बसेकाहरू भागेका हुन्।

बाँकेको नरैनापुरमा एक जनाको मृत्यु भएपछि क्वारेन्टाइनमा बस्नेहरू झन् त्रासमा छन्। एकबाट अर्काेमा रोग संक्रमण हुने जोखिम त छँदैछ, रोग नै पत्ता नलागि मरिन्छ कि भन्ने चिन्ता थपिएको छ। ‘छिटो चेकजाच गर्‍यो भने बाचिन्थ्यो नि, कपिलवस्तुको यशोधरा गाउँपालिकाको क्वारेन्टाइनमा बसेका एक भन्छन्, ‘न बस्न सजिलो छ, न त चेकजाँच नै भएको छ।’

कपिलवस्तुको यशोधरा गाउँपालिकाकै क्वारेन्टाइनमा बसेका ४५ जना त्यही डरले भागेका छन्। वडा नं. २ को खोरिया गाउँस्थित सरस्वती प्रावि क्वारेन्टाइनका २३ जना र राष्ट्रिय निमावि सिहोखोरका २२ जना भागेका हुन्। वडाअध्यक्ष साबुद्दिन मुसलमानका अनुसार उनीहरूलाई फेरि क्वारेन्टाइनमा राख्ने तयारी छ।

गाउँपालिकाका अध्यक्ष गिर्जेश पाण्डेले समयमा कोरोना परीक्षण हुन नसक्दा समस्या निम्तिएको बताउँछन्। ‘१२ सय जनालाई क्वारेन्टाइनमा राखेका छौं, एक सय जनाको समेत परीक्षण भएको छैन’, उनले भने।

कपिलवस्तुमा स्वाब संकलन गर्न आवश्यक सामग्री उपलब्ध छैन। प्रमुख जिल्ला अधिकारी दीर्घनारायण पौडेलले १० हजार किट माग गरे पनि निकै कम पठाइएको बताउँछन्। प्रदेश र संघीय सरकारले किट समेत उपलब्ध गराउन नसक्दा स्थानीय सरकार त्राहीत्राही भएका छन्। ‘किट नभएपछि परीक्षण समय लम्बिँदै गएको छ’, प्रजिअ पौडेलले भने।

प्रदेश ५ का नवलपरासी, रुपन्देही, कपिलवस्तु, बाके र बर्दियामा भारतबाट आएकाको संख्या धेरै छ। परीक्षण नहुँदा क्वारेन्टाइनमै कतिञ्जेल बस्ने भन्ने अन्योल भएको छ। रुपन्देहीको क्वारेन्टाइनमा बसेकाहरू भारतको नौतनवामा समेत १४ दिनभन्दा धेरै दिन बसेर आएका हुन्। उनीहरू समेत परीक्षणको पालो कुरेर बसेका छन्।

मुख्यमन्त्री शंकर पोखरेलले एक दुई दिनमा किट उपलब्ध हुने पालिका प्रमुखहरूलाई आश्वासन दिएका छन्। भारतबाट आउने क्रम नरोकिएको र परीक्षण सयको हाराहारीमै हुँदा अहिले क्वारेन्टाइनमा रहेकोको परीक्षण गर्न महिनौं लाग्ने देखिएको छ।

अस्पताल अभाव, बल्ल बनाइँदै

कोरोनाका संक्रमित थपिएपछि मात्रै प्रदेश सरकारले आइसोलेन बेड थप्दै छ। बुटवलको कोरोना विशेष अस्पताल भरिसकेको छ। अब त्यहा २ सय ५० बेड थप्ने योजना छ। बाँकेमा सेनाको अस्पताललाई आइसोलेसन बनाईंदैछ। भैरहवाको भीम अस्पतालमा सय बेड थप्ने तयारी छ। तर यी कहिले सुरु हुन्छन् भन्ने अन्योल छ।

सामाजिक विकास मन्त्रालयका स्वास्थ्य महाशाखा प्रमुख डा. उमाशंकर चौधरी पूर्वाधार थप्ने काम सुरु भएको बताउँछन्। सरकारले तराईका ६ वटै जिल्लामा आइसोलेसन र क्वारेन्टाइन थप्ने तयारी थालेको छ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.