स्यानिटाइजर उत्पादन गर्दैै युवा
दाङ : दश जनाको एउटा समूह। कसैको हातमा गिलस्रिन छ, कसैकोमा अल्कोहल, अनि कसैकोमा हाइड्रोजन पेरोक्साइड र कसैकोमा डिस्टिल्ड वाटर। सबैको काम आ–आफनै छ।
तोकिएकोे जिम्मेवारी अनुसारको कार्य सम्पादन भइरहेको छ। सबै आफ्नै जिम्मेवारीमा छन्। टिमलाई ज्ञानसहितको निर्देशन दिँदैछन् तुलसीपुर नगर जेसिजका महासचिव केशवराज केसी। उनी त्यो टिमको अगुवा हुन्। अर्का पनि त्यहि प्रकृतिको समूह छ। आफ्नै जिम्मेवारी अनुसार काम भइरहेको छ। टिमलाई सहजीकरण गरिहरहेका छन, बसन्त भण्डारी।
कोरोनाको महामारी सुरु भएपछि तुलसीपुरका युवा स्यानिटाइजर उत्पादनमा खटेका छन्।
यस क्षेत्रका ४८ युवाले स्यानिटाइजर उत्पादनमा सुरु गरेका हुन। सबै कामको निरीक्षण र प्राविधिक सहयोग स्वास्थ्य कार्यालय दाङका फार्मेसी अधिकृत प्रविण तिमिल्सिनाले गरिरहेका छन्।
जेसीजका महासचिव केशवराज केसी व्यवसायी हुन्। लकडाउनका कारण उनको दैनिकी फेरिएको छ। बिहान १० बजेदेखि साँझ ५ बजेसम्म उनी स्यानिटाइजर उत्पादनमा खटिन्छन्।
रोट्याक तुलसीपुरका सदस्य रुपेश शर्माको दैनिकी पनि अहिले यस्तै छ। महिला उद्यमी ज्ञानुमाया भण्डारीलाई स्यानिटाइजर उत्पादन सुरु गरे पछि खाना भन्दा पनि काममै बढी ध्यान छ।
युवाको सक्रियता भयो भने सजिलै विपद व्यवस्थापन गर्न सकिन्छ भन्ने लागेर सबै संघ सस्थाका युवा यो अभियानमा जुटेको केशवराज केसीले जनकारी दिए। ज्ञानुमाया भण्डारीले यसले एकातिर क्षमता विकास गर्न सघाएको र अर्कोतर्फ समाजसेवाति प्रेरणा दिएको बताइन्।
जिल्ला स्वास्थ्य कार्यालय दाङका फार्मेसी अधिकृत प्रविन तिमिल्सिनाले विश्व स्वास्थ्य संगठनको मापदण्ड अनुसार र औषधि व्यवस्था विभागको ह्यान्ड स्यानिटाइजर २०७६ सँग सम्बन्धित रहेर आवश्यक रसायनको समिश्रण गरेर तुलसीपुरमा स्वानीटाइजर उत्पादन थालिएको बताए।
तुलसीपुर उद्योग वाणिज्य संघका सचिव तथा स्यानिटाइजर उत्पादन कार्यक्रमका टिम लिडर विनिल केसीले यूएसएआईडी र तयार नेपालको आर्थिक सहयोग तथा तुलसीपुर उद्योग वाणिज्य संघको समन्वयमा पहिलो चरणमा साढे १२ सय लिटर स्यानिटाइजर उत्पादन गरिएको बताए। उत्पादित स्वानीटाइजर तुलसीपुर उपमहानगरपालिकाको समन्वयमा नगरका १९ वटै वडामा निशुल्क रुपमा वितरण गरिने उनले बताए।
तुलसीपुर क्षेत्रमा क्रियाशील विभिन्न सामाजिक संस्थाका भोलेन्टियर ५० जनाले तालिमपछि स्यानिटाइजर उत्पादनको काम सुरु गरेका हुन्। यो अभियानमा तुलसीपुर नगर जेसिज, रोटरी, रोट्रयाकलगायत विभिन्न वडाका स्वास्थ्य स्वयंमसेवक पनि सहभागी छन्।
नगरमा काम गर्ने स्वास्थ्यकर्मीलाई स्यानिटाइजर निशुल्क प्रदान गरिने तुलसीपुरका जनस्वास्थ्य निरीक्षक विमल केसीले जानकारी दिए।
प्रतिक्रिया दिनुहोस !