घर-घरमा निशुल्क औषधी
तानसेन : कोरोना सक्रमणबाट बच्न र बचाउन सरकारले २ महिना १० दिन लामो लकडाउन गरेपछि पाल्पाका केही स्थानीय सरकारले दीर्घरोगीलाई घरघरमा निशुल्क औषधी पुर्याएका छन् । नियमित औषधी सेवन गर्दै आएका रोगीहरु लकडाउनको कारण अस्पतालसम्म जान नसक्दा उनीहरुलाई चेकजाँच गरी पालिकाहरुले निशुल्क औषधी वितरण गरेका हुन् ।
पाल्पाको बगनासकाली गाउँपालिका, माथागढी गाउँपालिका, रम्भा गाउँपालिका र रामपुर नगरपालिकाले घरघर पुगी औषधी वितरण गरेका हुन् । स्थानीय सरकारले स्वास्थ्य शाखामार्फत महिला स्वयमसेवी उक्त कार्यका लागि खटिएका छन्।
यसैगरी माथागढी गाउँपालिकाले पनि घर घरमा पुगी औषधी वितरण गरेको छ । ८ वटा वडाको स्वास्थ्य चौकीबाट विवरण संकलन गरी ७सय५४ जनालाई टोल टोलमा पुगी निशुल्क औषधी वितरण गरिएको गाउँपालिकाका अध्यक्ष सन्तोषकुमार थापाले बताए । वडा वडाका स्वास्थ्य चौकीले मृगौला, दम, थाइराइड, नसा सम्वन्धी बिरामी, सुगर तथा ब्लड प्रेशरका बिरामीको विवरण संकलन गरेको र उनीहरुलाई विवरण अनुसारको औषधी हस्तानतरण वितरण गरिएको स्वास्थ्य संयोजक केशव जि.सी.ले बताए ।
माथागढी गाउँपालिकाले वडा नं चिदिपानीमा २१५ जना, वडा नं २ रुप्सेमा ११० जना, वडा नं ३ कसेनीमा ५८ जना, वडा नं ४ झडेवामा १८० जना, वडा नं ५ हात्तिलुङमा १७ जना, वडा नं ६ गोठादीमा ८६ जना, वडा नं ७ रहवासमा २२ जना, वडा नं ८ बहादुरपुरमा ६६ जना दीर्घरोगीलाई गाउँपालिकाले निशुल्क औषधी वितरण गरेको संयोजक जि.सी.ले बताए ।
बगनासकाली गाउँपालिकाले गत आर्थिक वर्षदेखि नै दीर्घरोगीलाई टोल टोलमा पुगी निशुल्क औषधी वितरण गर्दै आएको छ । प्रत्येक वडा वडामा नियमित रुपमा संकलन भएको विवरण अनुसारको औषधी गाउँपालिकाको स्वास्थ्य शाखामार्फत स्वास्थ्य चौकीमा पठाउँदै आएको गाउँपालिकाका अध्यक्ष कृष्णप्रसाद बस्याले बताए । बगनासकालीमा लकडाउनको समयमा ९ वटै वडामा गरी ६ सय ४४ जना दीर्घरोगीलाई निशुल्क औषधी प्रदान गरेको स्वास्थ्य संयोजक मणिप्रसाद अधिकारीले बताए ।
गाउँपालिकाले वडा नं १ चिरतुङ्गधारामा ५६ जना, वडा नं पोखराथोकमा ४० जना, वडा नं ३ नायरमा १२५ जना, वडा नं ४ खानीछापमा २९ जना, वडा नं ५ दर्लामडाडामा ३१ जना, वडा नं ६ यम्घामा ९४ जना, वडा नं ७ खानीगाउँमा ८७ जना, वडा नं ८ बराङ्दीमा ३२ जना, वडा नं ९ चापपानीमा १५० जना दीर्घरोगीले निशुल्क औषधी पाएका हुन् । दीर्घरोगीसंगै अन्य बिरामीको विवरण संकलनले आगामी दिनमा गाउँपालिका भित्रको स्वास्थ्य नीति बनाउन सजिलो हुने स.स्वास्थ्य संयोजक अधिकारीले बताए । मिशन अस्पतालबाट नियमित रुपमा सुगरको औषधी सेवन गर्दै आएको र लकडाउनको कारण जान नपाएकोले गाउँपालिकाले गाउँ टोलमै औषधी ल्याइदिएको माथागढी वडा नं. ४ का जीवनबहादुर थापाले बताए ।
प्रतिक्रिया दिनुहोस !