कोरोना भाइरस संक्रमित भेटिएको दाङको कुइरेपानी क्वारेन्टाइनमा चरम लापरवाही
दाङ : कोरोना संक्रमित देखिएको कुइरेपानी क्वारेन्टाइनमा लापरवाही देखिएको छ। दाङको घोराही उपमहानगरपालिकाले सञ्चालन गरेको घोराही ३ मा रहेको कुइरेपानी क्वारेन्टाइनमा चरम लापरवाही भेटिएको छ। संक्रमित भेटिएको करिब १ हप्ता पुगिसक्दा पनि उक्त क्वारेन्टाइनका कर्मचारी र स्वास्थ्यकर्मीको न त स्वास्थ्य परीक्षण भएको छ न त सुरक्षा सामग्री पाउन सकेका छन्।
यो क्वारेन्टाइनमा रहेका एकजना पुरुषमा कोरोना संक्रमण देखिएको छ । घोराही उपमहानगरपालिका ३ का ती पुरुषलाई कोरोना पोजिटिभ भेटिएको भएपनि त्यहाँ रहेकाको बारेमा भने स्थानीय सरकारले कुनै चासो दिएको छैन।
क्वारेन्टाइन १८ दिनदेखि सामान्य पोशाकमा ड्युटीमा खटिएका ७ जना स्वास्थ्यकर्मी सुरक्षा कवज पीपीई नभएको गुनासो गरेका छन्। क्वारेन्टाइनमा मापदण्डअनुसारको व्यवस्था समेत नभएको गुनासो आउन थालेको छ।संक्रमित भएको क्यारेन्टाइनमा लापरवाही हुनुले स्वास्थ्यकर्मीसहित अन्य कर्मचारि कोरोनाको उच्च जोखिममा छन्।
क्वारेन्टाइनमा बस्नेका लागि उचित व्यवस्थापन समेत गरिएको छैन । केही व्यक्ति खुला चौरमै रातदिन कटाइरहेका छन्। 'क्वारेन्टाइनमा ड्युटीमा खटिएका स्वास्थ्यकर्मीको निश्चित समय पछि स्वास्थ्य परीक्षण गर्नुपर्ने नेपाल स्वास्थ्यकर्मी संघका केन्द्रीय सदस्य विष्णु लामिछानेले बताए ।
'सोही क्वारेन्टाइनमा रहेका व्यक्तिको कोरोना रिपोर्ट पोजिटिभ आएको ५÷६ दिनसम्म पनि स्वास्थ्यकर्मी र क्वारेन्टाइनमा रहेका अन्य व्यक्तिको परीक्षण नहुनु दु:खद हो,' नेपाल स्वास्थ्यकर्मी संघका केन्द्रीय सदस्य लामिछानेले भने, 'यसमा स्थानीय सरकार गम्भीर हुनुपर्छ, लापरवाही गरिनु हुँदैन।'
क्वारेन्टाइनमा पीपीईको आवश्यक नगर्ने घोराही उपमहानगरपालिका स्वास्थ्य शाखा प्रमुख नारायण घर्तीले बताए । उनले मास्क र ग्लोभ्स दिएका छौं, पूर्ण पीपीई आवश्यक छैन । राख्नुपर्ने आवश्यकता हुन्छ तर राख्न सकेनौं, उनले भने, 'अहिले पीपीईका लागि टेन्डर गरिसकेका छौं, आपूर्ति भएमा सबै स्वास्थ्यकर्मीलाई उपलब्ध गराउँछौ ।'
स्वाब संकलन पनि भएन
क्वारेन्टाइन खटिने स्वास्थ्य कर्मीलाई बढीमा १० दिन ड्युटीमा खटाउनुपर्छ । त्यहि अनुसारको नीति पनि घोराहीमा रहेको छ । तर कुइरेपानी क्वारेन्टाइनमा खटिएका ७ जना स्वास्थ्यकर्मीको ड्युटी दिन १८ दिन भयो । तर पनि उनीहरुको सुरक्षामा कुनै ध्यान दिइएको छैन।
क्वारेन्टाइनमा रहेका एकजनामा कोरोना पोजेटिभ देखिएपछि सबैको पीसीआर परीक्षण गरेर स्वास्थ्ययकर्मीलाई व्यवस्थापनमा नयाँ नीति लिनुपर्ने हो त्यो गरिएको छैन । स्वास्थ्य शाखाका सहसंयोजक ठाकुर खनालले व्यवस्थापनमा केही कमिकमजोरी भएको स्वीकार गर्दै अब सुधार गरेर लैजाने बताए । उनले क्वारेन्टाइनमा रहेका स्वास्थ्यकर्मी, सुरक्षाकर्मी र भान्सेको छिट्टै स्वाब संकलन गरेर परीक्षण गरिने बताए । अहिले कुइरेपानी क्वारेनटाइन सिल गरिको छ।
प्रतिक्रिया दिनुहोस !