गौरीफन्टा नाकामा भीड उस्तै : थर्मल गनको प्रयोग कि दुरुपयोग ?
धनगढी : कैलालीको गौरीफन्टा नाका भएर बुधबार पनि ४६ सय ८९ जना नेपाली स्वदेश आएका छन। बुधबार बिहान १० बजेदेखि खुलेको नाकाबाट ३ बजेसम्म नेपाली स्वदेश फर्किएका थिए।
जिल्ला प्रशासन कार्यालय कैलालीका प्रवक्ता शिवराज जोशीले बुधबार सुदूरपश्चिमसहित १५ भन्दा बढी जिल्लाका ४६ सय ८९ जना नेपालीले गौरीफन्टा नाकाबाट नेपाल प्रवेश गरेको जानकारी दिए।
अरु दिनको भन्दा बुधबार नाका केही व्यवस्थित देखिएको थियो। यसअघि भारतको पलियामा रोखिएका नेपाली बोकेका सवारी साधन भारतीय सुरक्षाकर्मीले एकै पटक लाम लगाएर छोडने गरेका थिए।
बुधबार भने दुधवा नेशनल पार्कको कजरिया भन्ने स्थानमा रोकेर नाकामा भीडभाड नहुने गरी सवारी साधन पठाएपछि, भीडभाड व्यवस्थित भएको थियो। जिल्ला प्रशासन कार्यालय कैलालीका प्रवक्ता जोशीले, भारतीय सुरक्षाकर्मीले कति गाडी आएका छन् भनेर नेपाललाई बताउने र नेपालबाट यत्ती गाडी छोडी दिनु भनेर आग्रह गरेपछि छोडने गरिएकाले सीमा नाकामा भीडभाड कम भएको बताए।
थर्मल गन औपचारिकता मात्रै
प्रदेश सरकारले ज्वरोसमेत मापन गरेन भनेर आलोचना भइरहेका बेला बुधबार उसले तीनजना स्वास्थ्यकर्मी सीमा नाकामा खटाएको छ। तर पीपीई नलगाई स्वास्थ्यकर्मीको उपस्थिति औपचारिकताका लागि मात्रै देखिन्थ्यो।
थर्मल गनमा २ देखि ५ सेन्टिमिटरको तापक्रम मापन हुने प्रष्ट लेखेको छ। अझ स्वास्थ्यकर्मीलाई त त्यो थर्मल गनका बारेमा तालिम पनि दिइएको छ। तर तीनै जनाले दुई मिटरको दूरीबाटै थर्मल गन लगाएर दिनभरी औपचारिकता मात्रै पुरा गरे।
‘हामीसँग पीपीई पनि छैन, एक सेट दिएको थियो’, थर्मल गन चलाइरहेका एकजना स्वास्थ्यकर्मीले भने, ‘त्यो पनि पुरानो प्रयोग गरिएको रहेछ, हामीले लगाएनौं।’ आफूहरुले जोखिम मोलेर काम गर्न नसकेको स्वीकार गर्दै औपचारिकता निर्वाह गरेको सुनाए।
अस्तव्यस्त यातायात
नाकाको भीड केही व्यवस्थित देखिए पनि, दशगजामा विभिन्न यातायात प्रालि, स्थानीय तह र निजी गाडिको पार्किङले भने अवस्था अस्तव्यस्त थियो। यातायात प्रालिका सवारी धनी आफैँ यात्रु तान्नमा लागेका दृष्यहरु देख्न सकिन्थ्यो।
कोरोना भाइरस सक्रमितको लुगा वा संसर्गले पनि सर्ने भए पनि, यात्रु बोक्नका लागि बसपार्कको जस्तै लुछाचुडी हुन थालेपछि, सवारी साधनका चालक परिचालकमा पनि संक्रमणको खतरा बढेको छ।
यस क्षेत्रको सबैभन्दा ठूलो सुदूरपश्चिम यातायात प्रालीका अध्यक्ष पदम सापकोटाले प्रदेश सरकार र स्थानीय तहले प्रालिसँग समन्वय गरेको भए यातायात सहज हुने बताए।
दशगजामै खाना र पानी
तीन/चार दिन लगाएर भारतका विभिन्न सहरबाट आएका नेपालीले बाटोमा खाना पनि पाउदैनन। भारतमा कोरोनाको संक्रमणका कारण होटल रेष्टुरेन्ट बन्द छन् भने बजार पनि बन्द रहेकाले उनीहरुलाई पानी किन्न पनि समस्या भएको छ।
त्यसैले धनगढीका विभिन्न युवा समूहहरुले खाना र पानी दशगजामै पुगाउने गरेका छन्। धनगढीको चौलानी डिपार्टमेन्टल स्टोरका सञ्चालक मानसिह मौनीले, विभिन्न साथीको सहयोगमा ६ हजार भन्दा बढीलाई दशगजामै खाना र पानी खुवाएको बताए। सीमा क्षेत्रमा मंगलबारदेखि प्रदेश सरकारले पनि खाना र पानीको व्यवस्था गरेको छ।
प्रदेश सरकारले सुदूरपश्चिम फाउन्डेशनमार्फत भारतबाट फर्केका नेपालीका लागि खाना र पानीको व्यवस्था गरेको हो। फाउन्डेशनका महासचिव धिरेन्द्र साउदले, भारतबाट फर्केकाहरुका लागि दशगजामै खाना र पानी पुगाईरहेको बताए।
कैलालीसँग सीमाना जोडिएको गौरीफन्टा नाकाबाट बुधबार स्वदेश आउदै भारतमा रहेका नेपाली।
प्रतिक्रिया दिनुहोस !