स्कुल बन्द भएर कोही खुशी, कोही दु:खी

स्कुल बन्द भएर कोही खुशी, कोही दु:खी

काठमाडौं : कोरोना भाइरस (कोभिड–१९) को संक्रमण दिन प्रतिदिन बढ्दै गइरहेको बेलामा विद्यालय कहिले खुल्ने कुनै टुङ्गो छैन । रोकिएको एसईई पनि कहिले हुने यसै भन्न सक्ने अवस्था छैन । यस विषयमा शिक्षा मन्त्रालय पनि मौन जस्तै छ । जसको प्रत्यक्ष असर विद्यार्थीहरूमा परेको छ । उनीहरू निकै चिन्तित छन् । दुखी छन् । 

सोमबार बेलुका कीर्तिपुर नगाउँ चोकमा केही बालबालिकाहरू ब्याटमिन्टन खेल्दै थिए । कोही झोक्राएर बसेका थिए । कीर्तिपुर नगाउँस्थित क्रिएटिभ एकेडेमीमा अध्ययनरत प्रतिमा महर्जन एसईईको तयारीमा जुटेकी थिइन् । कोरोनाले सबथोक बर्बाद गरेको बताउँछिन् उनी । ‘यो कोरोनाले हाम्रो भविष्य नै बिगार्ला जस्तो छ,’ उनी चिन्तित हुँदै भनिन्, ‘यसले हाम्रो एक वर्ष लस हुने भयो । साह्रै दुःख लागेको छ ।’ लकडाउन भएको केही दिनसम्म स्कुलले अनलाइन कक्षा सञ्चालन गरे पनि सबैजना उपस्थित हुन नसकेपछि बन्द भएको बताइन् । उनले भन्छिन्, ‘अनलाइन कक्षा पनि बन्द भयो अब एक्कासी एसईई हुन्छ भन्ने खबर आयो भने के गर्ने होला । यो महामारी छिट्टै हराओस् भन्ने उनको चाहना छ ।’

कीर्तिपुर माविमा कक्षा ३ मा पढ्छन् सुमित कुमार । उनी भारत फुलवारका हुन् । कोठामा बसेर दिक्क लागेपछि एकछिन चोकमा साथीहरूसँग व्याटमिन्टन खेल्न निस्किएका थिए उनी । उनलाई घरमाभन्दा स्कुलमा खेल्न मनपर्छ । ‘दिउँसो घरमा कथाहरू पढ्छु, अनि साँझतिर यहाँ खेल्न आउँछु,’ उनी भन्छन् ‘मलाई घरमाभन्दा स्कुलमा खेल्न रमाइलो लाग्छ । त्यहाँ धेरै साथीहरू हुन्छन् । स्कुल खुल्ने बित्तिकै म स्कुल गएर साथीहरूसँग खेल्छु ।’

लकडाउनका कारण स्कुल जान नपाएर सबै दुखी भएको बेला मंगल मावि कक्षा ६ मा पढ्ने दृष्टि महर्जन भने मख्ख छिन् । ‘मलाई त घरमा बस्न आनन्द छ । आमाबुवाले पनि केही भन्दैनन् । स्कुल अझै नखुले हुन्थ्यो,’ उनी भन्छिन्, ‘सबैजना उपस्थित हुन नसक्ने भएपछि अनलाइन कक्षा पनि भएन हाम्रो त, ठीकै भयो ।’

४ वर्षीया प्रकृति महर्जन आफ्नो आमासँगै बसेकी थिइन् । ‘ममी हाम्रो स्कुल कहिले खुल्छ ?’, क्रिएटिभ एकेडेमी यूकेजीमा पढ्ने प्रकृति आमालाई सोध्दै थिइन् । उनको पढाइ अनलाइनमार्फत् हरेक दिन २ घण्टा हुन्छ । तर, उनलाई अनलाइनभन्दा स्कुलमै गएर पढ्न मनपर्छ त्यसैले दिनका दिन सोधिरहन्छिन्, उनी । अनलाइनबाट पढ्दा नबुझ्ने हुनाले पढ्न मन नलाग्ने बताउँछिन् उनी । स्कुल नखुलेर छोराछोरीको पढ्ने बानी बिग्रिन्छ कि भन्ने डर भएको बताउँछिन् प्रकृतिकी आमा । उनी भन्छिन् ,‘यो महामारी छिटै जाओस् र छोराछोरीले पढ्न पाऊन् ।’ 

सुर्खेतका मौसम धमला पुष्प सदनमा अध्ययनरत छन् । कक्षा ८ पास गरेर ९ मा पढ्ने धोको यो वर्ष पूरा होला कि नहोला भन्ने पीरमा छन् उनी । दिनभरि मोबाइलमा गेम खेलेर दिन बिताउने गर्छन् । ‘यो लकडाउन यस्तै रहिरह्यो भने पढ्ने बानी बिग्रिएला भन्ने डर छ,’ भन्छन् ‘भोलिदेखि अनलाइन कक्षा सुरु हुने भनेका छन्, त्यसैले खुशी छु ।’

बाजुराका आशिष खत्री कक्षा ५ पढेर ६ मा पढ्ने भनेर काठमाडौं आएका थिए । तर, भर्ना पनि नभइकनै घर फर्किनुपर्ला भन्ने चिन्तामा छन् । भन्छन्, ‘काठमाडौं पढ्ने भनेर खुशी भएर आइयो । यो कोरोनाले सबै बिगारिदियो । भोलि घर जाँदैछौ । अब आउन पाउँछु कि पाउँदिन थाहा छैन ।’


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.