कोरोना संक्रमित बढ्न थालेपछि तीन महिनालाई पुग्ने स्वास्थ्य सामाग्री किन्ने सरकारको तयारी
काठमाडौं : मुलुकमा कोरोना भाइरस (कोभिड–१९) का सङ्क्रमित ठूलो सङ्ख्यामा देखिन थालेपछि सरकारले ठूलो मात्रामा स्वास्थ्य सामाग्री किन्ने तयारी गरेको छ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय, स्वास्थ्य विभागको व्यवस्थापन महाशाखाका निर्देशक डा भोगेन्द्रराज डोटेलले सङ्क्रमित सङ्ख्या अनुमानभन्दा बढ्ने भएकाले ठूलोमात्रामा स्वास्थ्य सामग्री किन्ने तयारी गरिएको बताए।
उनले सङ्क्रमितको सङ्ख्या सोचेकोभन्दा बढ्ने भएकाले तीन महिनालाई पुग्ने गरी एकैपटक सामग्री किन्ने तयारी गरिएको बताए। हिजोसम्म एक हजार ५६७ जना सङ्क्रमित देखिएका थिए। उहाँका अनुसार स्वास्थ्य सामग्री खरिदका लागि इपिडिमियोलाजिष्टको समूह गठन गरेर उक्त समूहले कति आवश्यक सामग्री चाहिन्छ भनेर पहिचान गर्नेछ।
उनका अनुसार पहिले एक हजार ५०० सङ्क्रमित हुने अनुमान गरेका थियौं। केही दिनअघि मात्र पाँच हजारको सङ्ख्यामा सङ्क्रमित हुने अनुमान गरिएको छ। दैनिक १५० जनाभन्दामाथि सङ्क्रमित देखिन थालेको र विदेशमा रहेका अलपत्रलाई नेपाल ल्याउने सरकारको निर्णयसँगै सङ्क्रमितको सङ्ख्या अझै बढ्ने अनुमान गरिएको छ।
अहिले महाशाखासँग एक लाख ७० हजार व्यक्तिगत सुरक्षा उपकरण (पिपिइ), १४ लाख मास्क, एक लाख ८० हजार एन ९५ मास्क, २८ हजार भिटिएम र ४० हजार आरडिटी मौज्दात रहेको उनले बताए।
प्रतिक्रिया दिनुहोस !