कोरोना संक्रमितलाई निमोनियासँगै डेंगु
रुपन्देही : बुटवलको धागो कारखानामा रहेको कोरोना विशेष अस्थायी अस्पतालमा भर्ना भएका एक जना संक्रमितलाई डेंगु भएको छ। दाङको बेलझुण्डी अस्पतालमा निमोनियसँगै डेंगु देखिएपछि एक पुरुषलाई मंगलबार राती रिफर भएर बुटवल ल्याइएको हो।
‘बेलझुण्डी अस्पतालबाट रिफर भएर आउनुभएको एक जना हुनुहुन्छ। उहाँलाई कोरोनाको कारण निमोनिया र डेंगु पनि पोजेटिभ देखिएको छ।’अस्पतालका कन्सल्टेण्ट डा. शुदर्शन थापाले अन्नपूर्ण अनलाइनसँग भने । उनलाई कोरोना अस्पतालको आइसियुमा राखीएको अस्पतालका कन्सल्टेण्ट डा. सुदर्शन थापाले जानकारी दिए। बुटवलको कोरोना अस्पतालमा पछिल्लो समय अन्य जिल्लाबाट रिफर भएर आउने क्रम पनि बढेको छ। केही दिन अघि मात्र कपिलबस्तुको तौलिहवा अस्पतालबाट एक जना संक्रमित रिफर भएर आएका थिए।
मधुमेहको समेत विरामी उनलाई २ दिन आइसियुको भेन्टीलेटरमा राखेर बाहिर निकालिएको थियो। ८ वटा आइसियु शैय्या रहेको कोरोना अस्पताल बुटवलमा अहिले ३ जना भर्ना भएका छन्। यस्तै जनरल वार्डतर्फ ३६ वटा बेडमध्य अब ६ वटा बेड मात्र खाली छ। अस्पतालमा भर्ना भएका ४ जना संक्रमित डिस्चार्ज भएसँगै ३६ बेडको जनरल वार्डमध्य ६ बेड खाली छ। ३० बेडमा अझै संक्रमितहरु रहेका छन्। बुधबार मात्र कपिलवस्तुका ३ जना र कोरोना अस्पतालमा कार्यरत एक स्वास्थ्यकर्मी डिस्चार्ज भएका छन्।