न आए बाबु, न आयो शव
तानसेन : पाल्पा पूर्वखोला–१ सिलुवाका १८ वर्षीय नेत्रबहादुर दिशाले बुवा भारतबाट आएको खबर पाएका थिए। रुपन्देहीको बेलहिया नाका हुँदै नेपाल प्रवेश गरेपछि उनले फोन गरेका थिए। ‘क्वारेन्टाइनमा राख्छन् होला, अनि बल्ल घर आउँछु,’ उनले भनेका थिए।
पाल्पा नै आएपछि पनि फोनमा कुरा भएको थियो। बुवा सकुशल थिए। भारतमा अलपत्र परेका बुवा फर्किपछि परिवारका सदस्य खुसी थिए। क्वारेन्टाइन अवधि पार गरेर कहिले आउलान् भन्दै बाटो कुरिरहेका उनीहरूले बाबु अस्पताल भर्ना भएको खबर पाए। निको होस् भन्दै प्रार्थना गरिरहेकै बेला बुवा सधैँका लागि अस्ताए भन्ने खबर सुने।
४५ वर्षीया बुवा मुम्बईबाट फर्किए पनि सरासर क्वारेन्टाइन पुगेका थिए। त्यहीँ बसिरहँदा उनको श्वासप्रश्वासमा समस्या भयो। क्वारेन्टाइनबाटै पाल्पाको मिसन अस्पतालको आइसोलेसनमा भर्ना गरियो। तीन दिनअघि उनको निधन भयो। परिवारले न जिउँदो बाबुलाई देख्न पाए, न त मृत्युपछि शव नै !
नेत्रबहादुरका बुबालाई बिहीबार बेलुका मात्र जनस्वाथ्य प्रयोगशाला भैरहवाले कोरोनाको संक्रमणबाटै मृत्यु भएको पुष्टि गर्यो। बुवाको मृत्युसँगै छोरा नेत्रबहादुरमा आमासँगै दुई बहिनीको पालन पोषणको जिम्मेवारी थपिएको छ।
नेत्रबहादुरका बहिनीहरूले स्थानीय विद्यालयमा कक्षा ७ र १० मा अध्ययन गर्छन्। बाबाको मृत्युपछि आमा अर्धचेत छिन्। तीन दिनदेखि बहिनीहरूको डाँको रोकिएको छैन। ‘अब के गर्ने भन्ने केही सोच्न सकेको छैन। बुवालाई परिवारको संलग्नतामा चाँडो दाहसंस्कार गर्न पाउनुपर्छ,’ उनले भने। कोरोना परीक्षण नै ढिलो भएका कारण बुवाले उपचार पाउन नसकेको उनको भनाइ छ। मुम्बईबाट कष्ट सहँदै घरछेउ पुगेका उनले परिवार भेट्न पाएनन्।
कारोना संक्रमणबाट मृत्यु भएका नेत्रबहादुरका बावा भारतको मुम्बईमा काम गर्दै आएका थिए। उनी गत जेठ १८ गते रुपन्देहीको सुनौली नाका हँुदै पूर्वखोला गाउँपालिका–२ को जल्पाको शम्भु माविको क्वारेन्टाइनमा पुगेका थिए। क्वारेन्टाइनमा पुगेका उनमा कोरोनासँग मिल्दोजुल्दो लक्षण देखिएपछि गाउँपालिकाको स्वास्थ्य शाखाको सिफारिसमा जेठ १९ गते युनाइटेड मिसन अस्पतालको आइसोलेसनमा भर्ना गरिएको थियो। भर्ना भएको अर्काे दिन जेठ २० गते दिउँसो पौने एक बजे। मृत्यु भएको ३ दिनपछि मात्र उनको रिपोर्ट पोजेटिभ देखिएको हो। मृतक पुरुषलाई सास फेर्न कठिन भएको, सुख्खा खोकी देखिएको हल्का ज्वरोसमेत आएको थियो।
परिवारको सहभागिता, गाउँपालिका प्रमुख र सुरक्षा समितिको बैठक बसी शव व्यवस्थापनमा जुटेको प्रमुख जिल्ला अधिकारी रमेश न्यौपानले बताए। यी व्यक्तिसँगै प्रदेश ५ मा कोरोनाबाट मृत्यु हुनेको संख्या ४ पुगेको छ। चार जनामध्ये तीन जनामा मृत्युपछि मात्रै कोरोना पुष्टि भएको हो।
मृतकसँगै एक जना व्यक्ति रहेको उनी बसेको क्वारेन्टाइनमा भारतका विभिन्न स्थानबाट आएका ४६ जना बसेका थिए। पाल्पामा ८ जनामा कोरोना संक्रमण देखिएकामा १ जनाको मृत्यु भएको ७ जना आइसोलेसनमा उपचाररत छन्। पाल्पामा रैनादेवी छहरा गाउँपालिकाका २ जना, निस्दी गाउँपालिकामा २ जना, रामपुर नगरपालिकाका २ जना, माथागढी गाउँपालिकामा १ जना र पूर्वखोला गाउँपालिकामा १ जनामा कोरोना संक्रमण देखिएको हो।
प्रतिक्रिया दिनुहोस !