सडक विस्तारले कतै खुशी, कतै त्रास

सडक विस्तारले कतै खुशी, कतै त्रास

बागलुङ जिल्ला सदरमुकादेखि जैमिनी नगरपालिका जाने ‘पाग्जा टाकुरी सडकखण्ड’मा कालोपत्र गर्ने अन्तिम तयारीसँगै दक्षिण भेगका नागरिक उत्साहित छन् । दुई वर्षमा काम सक्ने गरी निर्माणको जिम्मा लिएको ठेकेदार कम्पनीले एक वर्षमै सडक कालोपत्र योजनाका साथ बन्दाबन्दीमा पनि दिनरात काम गरिरहेको छ । सो काम सम्पन्न भएपछि सो नगरपालिकाको सिमाना नजिकसम्म कालोपत्र सडकको पहुँच पुग्नेछ । 

सडक कालोपत्र हुन थालेसँगै बागलुङ नगरपालिका–१३, १४ तथा जैमिनी नगरवासीलाई निकै सहज हुने भएकाले स्वभाविक खुशी र उत्साहित तुल्याएको छ । तर त्यही सडकले बागलुङ नगरपालिका–१४ नारायणस्थान अर्माहका हरिप्रसाद लामिछानेलाई सुकुम्बासी बन्ने अवस्था ल्याएको छ । 

निर्माणाधीन सडक छेउमा टिनको धुरी र खरको पालीले छाएको घर, सडक फराकिलो बनाउँदा घर जोखिममा भएपछि पिँढीमा राखिएको ग्याबिन र घर चर्किएको छ । अर्माह पुग्ने जोकोहीलाई लाग्न सक्छ, यो घरमा कोही बस्दैनन् । तर सम्पत्तिको नाममा आधा रोपनी जग्गा सडकले खाइसकेको र घरसमेत जान थालेपछि सुकुम्बासी हुने अवस्थामा पुगेका उहाँको विकल्प केही नभएपछि जोखिम मोलेरै त्यही घरमा बस्दै आएका छन् । 

दुई वर्षको उमेरदेखि मामाघरमा बस्दै आएका उनका अपाङ्ग श्रीमतीसँगै दुई छोरा त्यही चर्केको घरमा बस्दै आएका छन्। 'सडक विस्तारका कारण चर्केको घर भत्केर मरिन्छ कि भनेर रातभर सुत्न सक्दिनँ', उनले भने, 'अब त त्यही घर पनि सडकले खाइदिने भयो सडकको बास हुने भयो ।' सडक विस्तारका क्रममा घर भत्काउनुपर्ने भए पनि आवास व्यवस्थापन गर्न नसक्दा घर वरपर सडक विस्तार गरिएको छैन। उनको अन्य स्थानमा जग्गासमेत नभएको अवस्थामा आयोजना या सरकारले घडेरीको प्रबन्ध गरिदिनुपर्ने छिमेकी कृष्ण सुवेदी बताउँछन्। 

सडक निर्माण कम्पनी र बागलुङ नगरपालिकाले घर निर्माण गर्ने भए जग्गाका लागि आफूले पहल गर्ने उहाँको भनाइ छ। घर जोखिममा परेको र सडकले घर भत्काउन लगाएको जानकारीपश्चात बागलुङ नगरपालिकाका प्रमुख जनकराज पौडेलले निर्माण कम्पनीका प्रतिनिधिलाई राखेर छलफलसमेत गरेकोे वडाध्यक्ष चक्रबहादुर खत्रीले जानकारी दिए । 

'लामिछानेलाई सुकुम्वासी हुनुपर्ने अवस्था आउन दिन्नौँ', वडाध्यक्ष खत्रीले भने, 'स्थानीय आफन्तले सानो घडेरी दिने कुरा छ, हामी नयाँ घर बनाइदिन्छौँ, जसमा निर्माण कम्पनी र नगरपालिकाको सहयोग हुनेछ ।' निर्माण कम्पनीले जग्गा व्यवस्थापन भएमा घर बनाइदिन सक्ने र नगरपालिकाले समेत सहयोग गर्ने नगरप्रमुख पौडेलको भनाइ छ । 

४३ वर्षदेखि त्यही घरमा बस्दै आएका लामिछानेलाई घर नजिकै जग्गा व्यवस्थापन गरेर घर निर्माण गरिदिनुपर्ने स्थानीयवासीको समेत माग छ। स्थानीय कृष्ण सुवेदी, केशवप्रसाद सुवेदीलगायतले सडक छेउछाउमै जग्गा  व्यवस्थापनका लागि पहल भइरहेको बताएका छन् । घर हटाएर सडक विस्तार गर्न पाए आफूले घर निर्माणमा सहयोग गर्ने सडक निर्माणको जिम्मा पाएको सो जेभीका आधिकारिक प्रतिनिधि हेम गुरुङले जानकारी दिए। यस क्षेत्रमा गण्डकी प्रदेश सरकारको रु २६ करोडको लागतमा अहिले सडक कालोपत्रका लागि आवश्यक पूर्वाधार धमाधम निर्माण भइरहेको छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.