विरामीको मृत्युपछि कोरोना आशंकामा स्वास्थ्य केन्द्र सिल
संखुवासभा : संखुवासभाको चैनपुर नगरपालिका–६ मा उपचारको क्रममा विरामीको मृत्यु भएपछि चैनपुर प्राथमिक स्वास्थ्य केन्द्र सिल गरिएको छ। झापा घर भई हाल मामा घर चैनपुर–२ बस्ने ३५ वर्षीय यामबहादुर कार्कीको उपचारको क्रममा मृत्यु भएको हो।
उपचारकै क्रममा कार्कीको मृत्यु भएपछि कोराना संक्रमित हुन सक्ने आशंकामा स्वास्थ्य केन्द्र सिल गरेको स्वास्थ्य केन्द्र मेडिकल अधिकृत विनोद बेकोजुले जानकारी दिए। ज्वरो, रुघाखोकी, स्वासप्रस्वास समस्या भएका कार्कीको स्वास्थ्य केन्द्र भर्ना भएको १ घण्टापछि उपचारको क्रममा मृत्यु भएको थियो। एक सातादेखि विरामी भएका कार्कीलाई सोमबार विहान ९ बजेतिर अस्पताल भर्ना गरिएको थियो। कार्कीको कोरोनासँग मिल्दोजुल्दो लक्षण देखिएपछि प्राथमिक स्वास्थ्य केन्द्र सिल गरिएको केन्द्र मेडिकल अधिकृत बेकोजुले बताए।
कार्कीको स्वाब पिसिआर परिक्षणका लागि विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पठाइएको छ। मृतक कार्कीको शव पिसिआरको रिपोर्ट नआएसम्म प्राथमिक स्वास्थ्य केन्द्रमै राखिने स्वास्थ्य केन्द्रले जनाएको छ। कोरोको आशंका गरिएका गरिका कार्कीको मृत्यु भएपछि प्राथमिक स्वास्थ्य केन्द्रले दैनिक प्रदान गर्ने सेवा पिसिआर रिपोर्ट नआएसम्मका लागि सिल गरेको स्वास्थ्य केन्द्र मेडिकल अधिकृत बेकोजुले बताए। स्वास्थ्य केन्द्रसँगै रहेको चैनपुर आँखा उपचारसहितको आसपासको क्षेत्र सिल गरिएको छ।
यस अघि संखुवासभामा भारतबाट आएका २ जनामा कोरोना पुष्टि भएको थियो। उनीहरुको कोशी अस्पतालमा उपचार भइरहेको छ। उनीहरुसँगै आएका ५ पाँच जनाका क्वारेन्टाइनमा रहेका छन्।
प्रतिक्रिया दिनुहोस !