आरडीटी परीक्षण गरेकालाई गाउँलेले पत्याएनन्, पीसीआर रिपोर्ट नहुँदा गोठको बास

आरडीटी परीक्षण गरेकालाई गाउँलेले पत्याएनन्, पीसीआर रिपोर्ट नहुँदा गोठको बास

सिद्धलेक (धादिङ) : पीसीआर गराउन नसकेपछि स्थानीयले गाउँ भित्रिन नदिँदा धादिङको सिद्धलेक गाउँपालिका  ४ गौथलेका ५ युवाको गोठमा बास भएको छ ।  भारतबाट फर्किएर गाउँपालिकाले व्यवस्थापन गरेको क्वारेन्टाइनमा १० दिन बसेर घर गएपनि पीसीआर नगराएको भन्दै स्थानीयले गाउँमा बस्न नदिएपछि उनीहरु गाउँ नजिकैको गोठमा बसिरहेका छन् ।

गाउँमा जोखिम हुने र संक्रमण रहेमा गाउँमा फैलिने भन्दै गाउँलेले उनीहरुलाई गोठमा राख्ने प्रबन्ध मिलाएका हुन् । गोठमै बस्नु परेपछि उनीहरुको लागि खाद्यान्न व्यवस्थापन गाउँपालिकाले नै मिलाइदिएको छ । उनीहरुको लागि आवश्यक पर्ने बत्ती र पानीको व्यवस्थापन पनि गाउँलेले नै गरिदिएका छन् । उनीहरुको बसेको गोठ घर बाट पन्ध्र मिनेटको दूरीमा छ ।भारतबाट आएकालाई स्थानीय तहले विभिन्न वडामा बनाएको क्वारेन्टाइनमा १४ दिन राखेर मात्रै घर पठाउने गरेको छ । सिद्धलेक गाउँपालिकाले ती ५ युवालाई ४ को गोल्मारानी आधारभूत विद्यालयको भवनमा १० दिन क्वारेन्टाइनमा राखेको थियो ।

क्वारेन्टाइनमा बसेको नवौं दिन आरडीटी गर्दा रिपोर्ट नेगेटिभ आएपछि उनीहरुलाई गाउँपालिकाले घर पठाएको थियो । तर पीसीआर परीक्षण नगरी गाउँमा बस्न नपाइने भनेपछि घर नजिकै पुगेर पनि उनीहरु गोठमा बस्न बाध्य भएका हुन्।

गोठमा बस्न बाध्य हुनेहरुमा अमर थापा मगर, हिराबहादुर थापा, हेमबहादुर थापा, जंगबहादुर थापा र नरबहादुर आले रहेका छन् ।आरडीटीमा नजिता नेगेटिभ देखिएपछि थप १५ दिन घरमै क्वारेन्टाइन बसेजस्तै बस्ने सर्तमा गाउँपालिकाले घर पठाएको भएपनि गाउँमा पनि संक्रमण फैलिने त्रासमा उनीहरु घरमा बस्न पाएका छैनन् ।

आरडिटी परीक्षण गरेर होमक्वारेन्टाइनमा पठाइएकालाई पीसीआर परीक्षण गर्दा कोरोना संक्रमण देखिन थालेपछि अहिले आरडिटीको मात्रै विश्वास गर्न नसकिने भएको छ।धादिङमा गत जेठ २६ गते नीलकण्ठ नगरपालिकाले आरडीटी नेगेटिभ आएपछि घर पठाएका २४ जनामा जेठ ३१ गते पीसीआर परीक्षण गर्दा कोरोनाको संक्रमण देखिएपछि गाउँगाउँमा त्रास फैलिएको छ । 

गाउँपालिकाले आरडीटी नेगेटिभ आएको भन्दै गाउँमा पठाएपनि पीसीआर परीक्षण गराएपछि मात्रै गाउँ पठाउनुपर्ने सर्त राख्न थालेका छन् । त्यसैको असर सिद्धलेकका ५ युवाहरुले भोग्नु परिरहेको छ । 

गौथलेका एक स्थानीयले टेलिफोनमा भने, 'हाम्रै गाउँको दाजुभाइ हो, हामीलाई पनि नमज्जा लागेको छ, तर यतिबेला मज्जा र नमज्जाको कुरा होइन स्वास्थ्यको कुरा छ, लक्षण केही नभएकामा कोरोना देखिइरहेकाले पनि हामीले उहाँहरुलाई छुट्टै बस्ने व्यवस्था मिलाएका हौँ ।'

पाँचजना एउटै गोठमा बसेको पनि १० दिन भइसक्यो । उनीहरुको पीसीआर परीक्षण नहुँदा नयाँ दिल्लीबाट हिँडेको महिना दिन नाघिसक्दा पनि घरपरिवारमा बस्न पाएका छैनन् । गोठमा बसेकाका अमर थापामगरले भने, 'गाउँपालिकालाई भनेर पनि पीसीआर गराउन सकिएको छैन, घरको आँगनमा पुगेर पनि तातो घाममा जस्ताको ताप सहेर गोठमा बस्नु परेको छ ।'

यसरी छुट्टै बस्नु गाउँ र परिवारको लागि राम्रो भएपनि कतिन्जेलसम्म यसरी गोठमा बसिरहनु पर्ने भन्ने बारेमा अन्योल भएको थापाले बताए । 'हामी भारतबाट फर्केकै १ महिना नाघ्यो, गोठमै बसिरहेका अर्का एक व्यक्ति नरबहादुर आलेले प्रश्न गरे, 'हामीलाई लक्षण केही छैन, १४ दिन २१ दिनमा लक्षण देखिन्छ भन्छन्, अब हामी यसरी साँघुरो गोठमा खाँदिएर कहिलेसम्म बसिरहनुपर्ने हो ?'

गएको जेठ ३ गते भारतको नयाँदिल्लीबाट आफै बस रिर्जभ गरेर गौथलेका अमर थापा मगरसहित ८९ जना नेपाल फर्किएका थिए । सुनौली नाकासम्म यसरी आउनेमा गोरखाको ११ जना थिए भने बाँकी सबै धादिङका थिए । उनीहरुलाई सम्बन्धित गाउँपालिकाले सुनौली नाकाबाट ल्याएर क्वारेन्टाइनमा राखेको थियो ।

भारतबाट घर फिर्ता हुनेहरु ठूलो संख्यामा भएकाले उनीहरु सबैको पीसीआर परीक्षण गर्न कठिनाई भएको सिद्धलेक गाउँपालिकाका उपाध्यक्ष कमला शर्माले बताइन् । उनले भनिन्, 'हामीकहाँ थोरै आएका छन् तर देशभर भारतबाट आउनेको चाप छ, कन्ट्याक ट्रेसिङमा परेकाहरु, कोरोनाको लक्षण देखिएकाको मात्रै पीसीआर गरिरहेकाले उहाँहरुलाई समस्या भएको हो । उहाँहरुको पीसीआर गराउन पहल भइरहेको छ।'


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.