भन्सारमा कोरोना असर : एघार महिनामा साढे ६२ प्रतिशत मात्र राजश्व संकलन
भैरहवा : भैरहवा भन्सार कार्यालयले चालु आर्थिक वर्षको एघार महिनामा साढे ६२ प्रतिशत मात्र राजश्व संकलन गरेको छ ।चालु आव २०७६/०७७ मा एक खर्ब ६ अर्ब ८९ लाख राजश्व संकलनको लक्ष्य पाएकोमा असार ६ गते सम्म ६६ अर्ब ३२ करोड ५८ लाख मात्र राजश्व संकलन भएको भैरहवाका भन्सार कार्यालयका सूचना अधिकृत पूर्णप्रसाद लम्सालले जानकारी दिए ।
लकडाउन अघिसम्म लक्ष्य अनुसारको राजश्व संकलन गर्दै आएको भन्सारले कोरोना संक्रमणका कारण आयातमा कमी हुदाँ राजश्व संकलन प्रभावित हुन गएको हो । लकडाउन अघि दैनिक चार सय बढीको हाराहारीमा मालवाहक गाडी भित्रिने गरेपनि लकडाउनसँगै मालवाहक गाडीको संख्या एक चौथाइमा झरेको थियो ।
फागुन मसान्तसम्म कुल लक्ष्य ८२ प्रतिशत राजश्व संकलन भएकोमा लकडाउनपछि आयात घट्दा राजश्व संकलन प्रभावित भएको सूचना अधिकृत लम्सालले बताए । लकडाउनका कारण इन्धन, अटोमोबाइल्स, कच्च पदार्थ, मेसिनरी लगायत साम्रगीको आयातमा कमी आएको थियो ।
'पहिला आयातमा कमी हुदाँ राजश्व संकलन प्रभावित भयो, उनले भने, ' दुई हप्ता यता आयात बढ्दै गइरहेकाले राजश्व संकलन राम्रो भइरहेको छ ।' उनका अनुसार लकडाउनको सुरुवाति चरणमा औसतमा दैनिक २ करोड रुपैयाँसम्म राजस्व संकलन हुने गरेकोमा अहिले भने दैनिक १५ करोड रुपैयाँसम्म संकलन भइरहेको छ ।
केही हप्तायता आयात बढ्दा राजश्व संकलन राम्रो भइरहे पनि लक्ष्य अनुसारको राजश्व संकलन भने नहुने भएको देखिएको छ । 'बढी राजश्व संकलन हुने इन्धन, अटोमोबाइल्स (गाडी) लगायतको आयात अझै बढ्न सकेको छैन, उनले भने, 'जसकारण कुल लक्ष्यको ७० प्रतिशतसम्म राजश्व संकलन हुने अपेक्षा लिइएको छ ।' भन्सारले लकडाउन अवधी चैत ११ गते देखि जेठ मसान्तसम्म चार अर्ब ६८ करोड २७ लाख रुपैयाँ मात्र राजश्व संकलन गरेको छ ।