दाङमा ४० प्रतिशत रोपाइँ सकियो
दाङ: दाङमा अहिलेसम्म करिब ४० प्रतिशत धान रोपाइँ सकिएको छ । कृषि ज्ञान केन्द्रका अनुसार जिल्लामा अहिले ४० प्रतिशत रोपाइँ सकिएको र अबको केही दिनमा नै शतप्रतिशत रोपाइँ हुनेछ ।
गत वर्षमा यो समयमा १५ देखि २० प्रतिशत मात्र धान रोपाइँ भएपनि यस वर्ष गत वर्षको तुलनामा दोब्बर बढी धान रोपिएको हो । 'जिल्लामा अहिले करिब ४० प्रतिशत धान रोपाइँ भइसकेको छ, कृषि ज्ञान केन्द्रका प्रमुख सन्देश धितालले भने, 'देउखुरी भ्यालीमा बढी रोपाइँ भएको छ, भने दाङ भ्यालीका केही कम छ ।'
राप्ती गाउँपालिकामा धान रोपाइँ सकिएको छ। घोराही, तुलसीपुर उपमहानगरपालिका, लमही नगरपालिका, राजपुर, गढवा दंगीशरण बबई र शान्तिनगर गाउँपालिकालगायतका धान रोप्नेकाम तीव्र रहेको छ ।
कोरोनाको महामारीका बीचमा पनि किसानले धान रोप्ने कामलाई निरन्तरता दिएका छन् । पानी समयमै परेका कारण यसवर्ष धान पनि समयमै रोपिएको धितालले बताए । 'पानी समयमै पर्यो, विगतका वर्षभन्दा यसवर्ष छिट्टै नै रोपियो धान, उनले भने, 'अहिले जिल्लाका कषि श्रमिकको समेत पर्याप्तता रहेको छ । अभाव छैन ।'
जिल्लामा करिब १० बढी प्रजातिको धान रोपिने गरिएको छ । कृषि ज्ञान केन्द्र दाङका अनुसार सुख्खा-१, सुख्खा-२, सुख्खा-३, रामधान, सामामन्सुली, हरिनाथ, विन्देश्वरी, तिल्की र युस-३१२ हाइब्रिड जातको धान लगाउने गरिएको छ । कृषिको उर्वरभूमि दाङमा अन्य खेतीको तुलनामा धान खेती बढी हुने गरेको छ ।
यसैबीच जिल्लामा धानखेती बढ्ने अनुमान गरिएको छ । कोरोनाका कारण रोजगारी गुमाएर धेरै नागरिक स्वदेश फिर्ता भएको, घर घडेरीको कारोबार रोकिएको र पानी समयमै परेका कारण यसवर्ष धानखेती बढ्ने अनुमान गरिएको हो ।
जिल्लामा यसवर्ष करिब ३ हजार हेक्टर क्षेत्रफलमा धान खेती बढी हुने अनुमान रहेको कृषि ज्ञान केन्द्र दाङका प्रमुख धितालले बताए । 'घरबाहिर रहेका नागरिक धेरै घरमा फर्किएका कारण बाँझो खेतमा यसपाली धान रोप्न थालिएको छ, समयमै पानी पनि परेका कारण धान खेती बढ्ने अनुमान गर्न सकिन्छ, उनले भने,' अहिले बाँजो खेतमा पनि रोपिएको छ ।
जिल्लामा विगतका वर्षमा ३८ हजार हेक्टर क्षेत्रफलमा धान खेती हुँदै आएको छ । यसवर्ष बढेर ४१ हजार हेक्टर क्षेत्रफलमा धान खेती हुने अनुमान गरिएको छ । जिल्लामा भारत लगायत तेस्रो देशबाट करिब ७ हजार नागरिक घर फर्केको र उनी अधिकांश खेतीपातीमा जोडिने अनुमान गरिएको छ ।
'यसवर्ष उत्साहजनक रूपमा धानखेती भएको छ, विगतका वर्षमा अहिलेकै समयमा पनि २५ प्रतिशत पनि भएको हुँदैन थियो, उनले भने, 'पर्याप्त सिंचाइ नभएपनि आकाशे पानी समयमै परेका कारण पनि यसवर्ष धान रोपाइँ गत वर्षको भन्दा बढी देखिएको छ ।'
प्रतिक्रिया दिनुहोस !