एउटासँग बिहे पक्का भएपछि छोरी अर्कैसँग भागिन्, जरिवाना तिर्न नसकेपछि बाबुले गरे आत्महत्या

एउटासँग बिहे पक्का भएपछि छोरी अर्कैसँग भागिन्, जरिवाना तिर्न नसकेपछि बाबुले गरे आत्महत्या

सिराहा : लहान नगरपालिका-२४ निवासी श्यामलाल रामको घरमा असार १२ गते शुक्रबार छोरीको विवाहको निधो भएको थियो। सन्तानका रुपमा दुई छोरी मात्र रहेको अवस्थामा जेठी छोरीको बिहे निधो भएकाले  बुवा श्यामलालले नातेदार, इष्टमित्र सबैलाई निम्तो गरिसकेका थिए। दुलाहा पक्षलाई  दाइजोसमेत बुझाइसकेका थिए भने आवश्यक सरजामको जोहो पनि भइसकेको थियो। तर श्यामलालको परिवारमा एकाएक बज्रपात भयो। विवाहका लागि तयार गरेको केटासँग विहे गर्नु अगाबै छोरी मन पराएको अर्कै केटासँग भागेपछि सामाजिक पञ्चातीले बाबुलाई तोकेको दण्ड जरिवाना राप र ताप सहन नसकि विवाहको अघिल्लो दिन नै बिहीबार श्यामलालले झुण्डिएर आत्महत्या गरे। उनको घरमा रहेको विवाहको उल्लासको माहौल एकै निमेषमा स्तब्धमा परिणत भयो।

वृद्द बाबुआमा, श्रीमती र दुई छोरीलाई छाडेर वैदेशिक रोजगारीमा साउदी गएका उनी माघ अन्तिम साता घर फर्किएका थिए। दलित समूदायमा सानै उमेरमा छोराछोरीको विवाह गर्ने परम्परा अझै रहेको र १९ वर्ष पुगेकी जेठी छोरीको विवाह गरिदिने योजनाका साथ पारिवारिक सरसल्लाह पछि केटो खोज्ने क्रममा सप्तरीको सुरुंगा नगरपालिका-४ का महेश रामसँग विवाहको टुंगो भएको थियो। असार १२ गते विवाहको निधो गरेर दुई साता अघि नै महेशका बाबु बन्दी रामलाई दाईजो स्वरुप चार तोला सुन तथा दुई लाख नगद समेत बुझाएका थिए। बाबुले अर्कै केटासँग बिहे पक्का गरेर दाइजो बुझाएको थाहा पाएपछि छोरी चाहिँ  प्रेम सम्बन्धमा रहेका युवकसँग भागेपछि खैलाबैला मच्चिन पुग्यो।

केटा पक्षले केटी भागेको थाहा पाएपछि गाउँमा पञ्चायती  बसाए। यस्ता समस्यामा न्याय निरुपणका लागि जानुपर्ने निकायमा नगई परम्परागत पञ्चायती बसाई जातिय अगुवामार्फत श्यामलालमाथि ६० हजार जरिवाना तोकियो। विवाहको टुंगो गरिएकी छोरी अर्कै केटासँग भागेका कारण जातिय सभाले उनलाई यस्तो निर्णय सुनाएको थियो। आफूले दिएको नगद तथा सुन फिर्ता दिनु त कता हो कता उल्टै थप जरिवाना तोकेपछि उनी विक्षिप्त बनेका थिए।

यसैबीच केटा पक्षबाट जेठी छोरी भागेपनि कान्छीको विवाह गरिदिए पनि आफूहरुलाई मान्य हुने खबर श्यामलाल कहाँ पठाइएको थियो। १५ वर्ष मात्र टेकेकी कान्छी छोरीको उमेर नपुगे पनि दाईजो बुझाइसकेका कारण केटा पक्षको प्रस्तावमा उनी सहमत हुन लागेका थिए। कानुनले अनुमति नदिए पनि सामाजिक बाध्यताका कारणले यस्तो निर्णयमा पुगेको श्यामलालका काका योगेन्द्रको कथन छ। समुदायका अगुवासँगको छलफलपछि कान्छी छोरीकै विवाह गरिदिने निर्णयमा पुगेका श्यामलालको उल्झन तब पनि समाप्त भएन। पहिले जातिय अगुवाले तोकेको ६० हजार जरिवाना तिरेपछि मात्र कान्छीसँगको विवाह स्वीकार्य हुने सर्त राखिएपछि उनी बिलखबन्दमा परे। श्यामलालका काका योगेन्द्रले भने 'पटक पटक बिन्ति गर्दा पनि मानेनन् पहिला जरिवाना तिर्नै र्ने अड्डि कसेका कारण हाम्रो केही चलेन। जरिवानाको रकम कसरी व्यवस्था  गर्ने भन्ने उपाय नसुझेका श्यामलाल केही बेरपछि आउँछु भन्दै निस्केकोमा सदाका लागि विदा भए। गोविन्दपुर–झुटकी  बाटोको बीचमा पर्ने सरे खोलाको आँपको बोटमा झुण्डिएर आत्महत्या गरेका थिए। 

उमेरले डाँडा काटिसकेका श्यामलालका आमाबुबा गेनावती र नथुनी जीवितै छन्। श्यामलालकी श्रीमती सुनैरदेवी भावविह्वल अवस्थामा छिन्। कमाएर परिवार पाल्ने जिम्मेवारी श्यामलालकै काँधमा थियो।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.