विवाह मण्डपबाटै बेहुलासहित ५ जना पक्राउ
दमौली : नाबालिकालाई विवाह गराउने काममा संलग्न भएको भन्दै तनहुँ प्रहरीले मण्डपबाटै बेहुला, बेहुला बेहुलीका बाबु आमा र पण्डितलाई पक्रेको छ। व्यास ११ मा १४ वर्षीया बालिकालाई २३ वर्षका युवासँग विवाह गराउन लागिएको अवस्थामा उनीहरूला२ पक्राउ गरी अनुसन्धान थालिएको प्रहरी नायव उपरीक्षक युवराज तिमिल्सेनाले बताए।
बालिकासँग विवाह गर्न लागेको आरोपमा पक्राउ परेकामा बेहुला गोरखा लखन गाउँपालिका २ निवासी २३ वर्षका सन्तोष अर्याल हुन्। बाबु आमा र पण्डितको परिचय भने प्रहरीले खुलाएको छैन। बाल विवाह भइरहेको सूचनाका आधारमा मण्डपमै गएर उनीहरुलाई पक्राउ गरिएको प्रहरीको भनाइ छ।
उनीहरुलाई विवाह मण्डपबाट बुधबार पक्राउ गरेको डिएसपी तिमिल्सेनाले बताए। ‘विवाह मण्डपबाट विवाह गरेर बेहुली अन्माउने अवस्थामा उनीहरुलाई नियन्त्रणमा लिएका हौं,’ उनले भने, ‘घटनाको अनुसन्धानका लागि तनहुँ जिल्ला अदालतबाट म्याद लिएका छौं।’