१८६ परिवार विस्थापित
बाजुरा/दार्चुला : केही दिनयताको लगातार वर्षाका कारण सुदूरपश्चिमका धेरै ठाउँमा जनधनको क्षति भएको छ। वर्षाले बाजुरामा १ सय ८६ परिवार विस्थापित भएका छन्।
बाजुराको बूढीगंगा नगरपालिका— २ बजेडीका १ सय ३४ परिवार, नडागका १०, मुसीगाउँका ३६, ताप्रीसेराका ६ परिवार विस्थापित भएका हुन्। बूढीगंगा नगरपालिका— १ को अम्कोट, डुग्री र कुडीका पूरै बस्ती नै पहिरोको उच्च जोखिममा परेका छन्। जोखिममा रहेका केही परिवार अन्यत्र विस्थापित भएका स्थानीय भरतराज उपाध्यायले जानकारी दिए। अम्कोटका मरुदेवी पाध्याय, डम्मदेवी पाध्याय र सिर्जनादेवी पाध्याय छिमेकीको घरमा सरेका छन्।
सोही वडाको कुडी र रावतवाडाका २० परिवार नजिकको स्कुल, मन्दिर र खेतमा पाल टाँगेर बसेका छन्। बस्ती माथि र तल दुवैतर्फबाट पहिरो जान थालेपछि त्यहाँका स्थानीयलाई अन्यत्र स्थानान्तरण गर्न ढिलो भइसकेको नेपाल रेडक्रस बाजुराका सभापति रामबहादुर शाहीले बताए। ‘जोखिममा भयौ भन्दै राहत माग्न आउँछन्, सरकारको नियम एकातिर हुन्छ, बस्तीका स्थानीय विस्थापित भएका छन्, राहत दिन र सिफारिस गर्नसमेत समस्या भएको छ’, उनले भने। पानीमुल खोला र ठाँडो खोलाको बाढीले मुसी, खर्रा र ताप्रीसेराका सयौ बिगा खेतीयोग्य जग्गा बगरमा परिणत भएको बूढीगंगा नगरपालिका— २ का वडाध्यक्ष हीरालाल थापाले बताए।
आइतबार रातिको अविरल बर्षाले बजेडीका २० परिवार उच्च जोखिममा छन्। घर माथिबाट पहिरो आएपछि उनीहरू छिमेकीको घरमा सरेका छन्। पहिरोले १ सय ३४ घर परिवार रहेको सो बस्तीका स्थानीय रातभर जाग्राम बस्ने गर्छन्। ‘पानी आयो भने चारैतिरबाट पहिरो बग्न सुरु भइहाल्छ’ स्थानीय खड्कराज जोशीले भने। घर चर्किएपछि नडाङका १० परिवार शिवशंकर प्राविमा बस्न थालेका बूढीगंगा नगरपालिका— २ का वडाध्यक्ष हीरालाल थापाले जानकारी दिए। ताप्रीसेरा बजारमा पनि बाढीले लाखौंको क्षति भएको छ। घट्टे खोलाबाट आएको बाढीले ताप्रीसेराका ६ ओटा होटेल र पसल पूर्णरूपमा क्षति पुर्याएको छ।
त्रिवेणी नगरपालिका— ७ कोसेडीका ३ परिवार र वडा नम्बर ४ तोलीका ३ परिवार पहिरोको उच्च जोखिममा रहेका दैविक प्रकोप उद्धार समितिका संयोजक एवं प्रमुख जिल्ला अधिकारी कृष्ण गैह्रेले जानकारी दिए। उनका अनुसार खप्तड छेडेदह गाउँपालिका ७ गम्लागाउँका ४५ घरधुरी र सोही गाउँपालिकाको दशरथ बठालेख प्राविको भवन पनि उच्च जोखिममा छ।
खानेपानीको हाहाकार
लगातारको वर्षाले र पहिरोले बाजुरामा खानेपानीसमेत बगाएको छ। बूढीगंगा नगरपालिका— २ को बजेडी, नडाग, मुसी, ताप्रा र ताप्रीसेरालगायतका बस्तीमा आइतबार आएको बाढी पहिराले खानेपानी अवरुद्ध बनाएको प्रमुख जिल्ला अधिकारी गैह्रेले बताए। उनका अनुसार पानीको मुहान नै पहिराले बगाएको छ।
पहिरोले खानेपानी नै बगाएपछि बूढीगंगा नगरपालिकाका २ र ३ का ५ सयभन्दा बढी परिवार समस्यामा परेका वडा नम्बर २ का अध्यक्ष हीरालाल थापाले बताए। बाजुराका विभिन्न भेगका ९५ बस्ती प्रकोपको उच्च जोखिममा रहेका जिल्ला दैविक प्रकोप उद्धार समितिले जनाएको छ। बस्ती स्थानान्तरणका लागि पटकपटक सहरी विकास तथा भवन विभाग र अन्य निकायको ध्यानाकर्षण गराइए पनि सुनुवाइ भएको छैन।
बाढीपीडित त्रिपालमुनि
अविरल वर्षाले महाकाली नगरपालिका क्षेत्रका घर र पसल डुबाएपछि दार्चुलाको डुङरीका स्थानीय त्रिपालमुनि रात काट्न बाध्य भएका छन्। संकटका बेला तीनै तहका सरकारले आफूहरूको समस्या सम्बोधन नगरेको उनीहरूको गुनासो छ।
स्थानीय मानादेवी कार्की भन्छिन्, ‘बाढीले घरखेत बगायो, खानेकुरा पनि बाढीसँगै बग्यो, त्रिपाल टाँगेर बसेका छौं, कुनै पनि सरकारले हेरेको छैन।’ महाकाली नगरपालिका ३ का १० जना त्रिपालको अस्थायी टहरो बनाएर बसेका छन्। बाढीले पुरानो बस्ती बगर बनाएकाले खाने, बस्ने व्यवस्था नभएको स्थानीय धीरेन्द्रसिंह धामीले बताए। वर्षाले महाकाली नगरपालिका—३ लास्कु खोलामा बाढी आउँदा डुङरी जलविद्युत् आयोजनाको पावर हाउस डुबानमा परेको छ। बाढीका कारण चार सय जनाले प्रयोग गर्ने विद्युत् सेवा अवरुद्ध भएको छ। पावरहाउस आसपासका पसलमा समेत क्षति पुगेको छ। खोलाको बाढीले सो क्षेत्रको पुरानो स्वरूप परिवर्तन गरेको छ। खोला पावरहाउसतर्फ बाट बग्दा विद्युतीय सामग्री र अन्य उपकरण डुवेका छन्।
प्रतिक्रिया दिनुहोस !