कोरोनाको जोखिममा सुरक्षाकर्मी : कहाँ कति ?
काठमाडौं : विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) को प्रभाव सुरक्षाकर्मीमा देखिन थालेको छ। महामारीबीच पनि देश र जनताको सुरक्षामा खटिएका सुरक्षाकर्मीमा संक्रमण बढ्दै गएको हो।
सुरक्षाकर्मी मा कोरोना पुष्टि भएपछि केही जिल्लाका सम्बन्धित कार्यालय सिल गरिएको छ। मंगलबारसम्म नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीका तीन सय ५७ जनालाई कोरोना संक्रमण पुष्टि भएको छ।
सेनाका ७९ जना कोरोना पुष्टि
‘संक्रमितमध्ये ७१ जना उपचारपछि निको भएर नियमित डिउटीमा फर्किनु भएको छ’, प्रवक्ता पौडेलले भने अन्नपूर्ण अनलाइनसँग भने, ‘अझैपनि आठजना उपचारमै हुनुहुन्छ।’
उपचाररत ८ जनामध्ये २ जना सशस्त्र प्रहरीको बलम्बु अस्पताल, १ वीरेन्द्र सैनिक अस्पताल, २ तानसेनको आइसोलेसन वार्डमा उपचार भइराखेको छ। त्यसैगरी नारायणी अञ्चल अस्पताल, बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान रसेनाकै आइसोलेसनमा एकएक जनाको उपचार भइराखेको छ। उपचार गराइरहेका आठैजनाको स्वास्थ्य अवस्था सामान्य रहेको छ।
सरकारले क्वारेन्टाइनमा सुरक्षा व्यवस्था मिलाउने, नेपाल–भारतका २० नाकाबाट प्रवेश गर्नेलाई होल्डिङ सेन्टरमा राखेर सम्बन्धित जिल्ला सदरमुकाम पुर्याउने र हवाइमार्गबाट आउने त्रिभुवन विमानस्थलमा ओर्लिएपछि उनीहरुलाई सेनाको सवारी साधनमा राखेर होल्डिङ सेन्टरमा लाने जिम्मा दिएको हो।
होल्डिङ सेन्टरको व्यवस्थापनको जिम्मा पनि सेनाले गर्ने गरेको प्रवक्ता पौडेलको भनाइ छ। पौडेलका अनुसार होल्डिङ सेन्टरमा राखिएकालाई प्रदेशसँग समन्वय गरेर जिल्लामा पठाउने काम भइरहेको छ।
सँगै सेनालाई कोरोनाले मृत्यु भएकाको शव व्यवस्थापनको जिम्मासमेत सेनालाई दिइएको छ। शव व्यवस्थापनको काम जिल्लामा रहेको कोभिड–१९ संकट व्यवस्थापन कमिटीसँग मिलेर सेनाले गर्दै आएको छ।
प्रवक्ता पौडेलका अनुसार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जारी गरेको नियम सेनाले पालना गरेर काम गरिरहेको छ। समूहमा काम गरिरहेकालाई दुई समूहमा विभाजन गरेर सेनाले काम गरिरहेको छ। ‘कामबाट एउटा समूह १५ दिनमा फर्किएपछि उहाँहरुलाई १४ दिन क्वारेन्टाइनमा राखिन्छ र यो समूह क्वारेन्टाइनबाट निस्किएपछि अर्को समूहलाई कामको पालो दिने गरिन्छ’, पौडेलले भने।
नेपाल प्रहरीमा १८५ संक्रमित
नेपाल प्रहरीमा १८५ जना कोरोना संक्रमित छन्। नेपाल प्रहरीका प्रवक्ता निरजबहादुर शाहीका अनुसार प्रहरी प्रधान कार्यालयमा ३१, काठमाडौं उपत्यकामा ९, प्रदेश नम्बर १ मा २७ जना, प्रदेश नम्बर २ मा ३५, गण्डकी प्रदेशमा २९, प्रदेश नम्बर ५ मा १५, कर्णाली प्रदेशमा २७ र सुदूरपश्चिम प्रदेशमा १२ जना प्रहरी संक्रमित छन्। जसमा चार महिला र १८५ जना पुरुष छन्। संक्रमितमध्ये ९९ जना निको भएको शाहीले जानकारी दिए।
सशस्त्रमा ९३ संक्रमित
त्यस्तै ९३ जना सशस्त्र प्रहरीलाई कोरोना संक्रमण पुष्टि भएको छ। ९३ मध्ये ६५ जनालाई निको भएको छ भने २८ जना उपचाररत छन्। सशस्त्र प्रहरीका प्रवक्ता राजु अर्यालका अनुसार झापामा २१, इलाममा ५ र काठमाडौंमा एकको उपचार भइरहेको छ। संक्रमितमा डिएसपी एक जना र अन्यमा जुनियर अफिसरलगायत रहेको अर्यालले अन्नपूर्ण अनलाइनलाई जानकारी दिए।
फ्रन्टलाइनमा काम गर्ने सशस्त्र प्रहरीलाई छुट्टै व्यारेकमा राख्ने गरेको अर्यालले बताए। उनीहरु बस्ने छुट्टै, बाथरुम छुट्टै रहेको छ। फ्रन्टलाइनमा काम गर्नेलाई सरकारले तोकेको स्वास्थ्य सामाग्री प्रयोग गरिएको छ।
सरकारले सुरक्षाकर्मीलाई जोखिम भत्ता दिने निर्णय गरेको चार महिना पूरा हुँदा पनि सुरक्षाकर्मीले भत्ता पाएका छैनन्। सुरक्षा निकायका एक अधिकारीका अनुसार जोखिम भत्ता दिने निर्णय अझै कार्यान्वयन नआएको बताए।
प्रतिक्रिया दिनुहोस !