सुन प्रकरण : प्रहरीतिरै शंकाको सुई, जवानको डेरामा भेटियो सुन
काठमाडौं : १४ किलो चाँदी र आधा किलो सुन प्रकरण रहस्यमय बन्दै गएको छ। सुन प्रकरणको अनुसन्धानका क्रममा घटनास्थल नक्कली बनाएको खुलेपछि घटना शंकास्पद बनेको हो। सो प्रकरणपछि प्रहरीमाथि नै प्रश्न उब्जिन थालेको छ।
काठमाडौंको कमलादीमा बा ६ च ५५१९ नम्बरको स्कारपियो गाडी रोक्न खोज्दा नरोकी गति बढाएपछि प्रहरीले पिछा गरेको दाबी गरे पनि प्रहरीलाई नै तस्करी समूहले सुन्धाराको आकाशे पुलमा प्रहरीलाई सुनको झोला दिएको खुलेको छ। आकाशे पुलमा प्रहरी जवान बहादुरसिं कठायतले तस्करीले दिएको झोला लिएर महानगरीय प्रहरी वृत दरबारमार्गका डीएसपी रन्जन दाहाललाई दिए। उनले उक्त झोला आफु चढ्ने गाडीमा हाले। तर प्रहरीले भने तस्करीले झोला फालेर हिँडेको दाबी गरेको छ। दाहाललाई सुन आउँदैछ भन्ने पहिलो सुराकी दिएका थिए दरबारमार्ग वृतमा सादा पोशाकमा कार्यरत जवान प्रशन्न श्रेष्ठले। तर प्रहरीलाई झोला दिएर हिड्ने तस्करीलाई प्रहरीले किन समाएन? प्रहरीमाथि नै शंका उब्जिएको छ। यसबारेमा बुझ्न खोज्दा महानगरी प्रहरी परिसर काठमाडौंका प्रहरी प्रवक्ता राजकुमार केसीले सुन प्रकरणमा छानबिन भइरहेको अन्नपूर्ण अनलाइनसँग बताए।
प्रहरी जवानको डेरामा सुन
दाहाललाई प्रहरी प्रतिष्ठानमा ताने लगत्तै त्यहाँका डीएसपी रामेश्वर पौडेललाई दरबारमार्गको प्रमुखको जिम्मेवारी दिइएको छ। शुक्रबार त्यहाँ कार्यरत प्रहरी जवानको डेरामासमेत पहेलो धातु देखिएपछि प्रहरीकै मिलेमतो रहेको आशंका बढेको छ। मंगलबार मात्र प्रहरीले कमलादीबाट एउटा झोलामा १५ किलो पहेँलो धातु बरामद गरेको थियो। एउटा झोलामा बरामद धातु मध्ये आधा किलो सुन र बाँकी चाँदी भएको दाबी प्रहरीले गरेको छ। काठमाडौं प्रहरी परिसरको टोलीले सुन प्रकरणमा मुछिएको भनिएको गाडी बिहीबार ललितपुरको नखिपोटबाट नियन्त्रणमा लिएको थियो।
सुन प्रकरणमा हालसम्म चार जना पक्राउ परेका छन्। देवान पटेल, निलेश सखिया र विजय पटेल नवलपरासीको दुम्कीबाट पक्राउ परेका हुन्। त्यस्तै उमेश श्रेष्ठलाई महानगरीय प्रहरी परिसर काठमाडौंले पक्रेको हो। त्यस्तै दरबारमार्ग वृतमा सादा पोशाकमा कार्यरत जवान प्रशन्न श्रेष्ठको डेरामा सुनको विस्कुट भेटिएपछि हिरासतमा राखेर अनुसन्धान सुरु गरिएको छ।
प्रतिक्रिया दिनुहोस !