बुझ्‍न नसकिएको कोभिड

बुझ्‍न नसकिएको कोभिड

स्वास्थ्य मन्त्रालयले असार २३ गते भक्तपुरका चारसहित उपत्यकामा २८ जनामा संक्रमण देखिएको सार्वजनिक गर्‍यो। पाटन अस्पतालमा स्वाब दिएकी गठ्ठाघरकी महिला सम्पर्कमा आइनन्। वडाध्यक्षले नाम, थर, उमेरका आधारमा खोजी गरे पनि भेट्न सकेनन्। त्यस्तै काठमाडौं गल्फुटारका एक पुरुष पनि सम्पर्कविहीन छन्। असार २५ का चारजना, असार २७, २८ र २९ का यतियति भन्दै जाँदा ठूलै संख्या बन्दछ। फर्ममा फोन नम्बर नलेखिएको, लेखिएको गलत, नाम, उमेर, ठेगाना नभएका वा गलत भएका अनगिन्ती छन्। यसमा पैसा तिरेर पीसीआर गर्ने बढी छन्। संक्रमित सचेत भए पनि अस्पताल वा आइसोलेसन केन्द्रको बसाइ तथा छरछिमेकका व्यवहार छल्न यसो भइरहेको देखिन्छ। कन्ट्याक्ट ट्रेसिङ भएन भन्दाभन्दै अब संक्रमित नै ट्रेसिङमा छैनन्।

विदेशबाट चार्टर्ड उडानमा आउने ३५ प्रतिशतले मात्र पीसिआर र अन्य ३३ प्रतिशतले आरडीटी गरेको देखिन्छ भने बा“की परिक्षण नै नगरी त कति लक्षणसहित आइरहेको पाइएको छ। धेरै भीडभाड हुने र संक्रमितहरू घुलमिल हुन सक्ने सम्भावित १२ जोखिमस्थलबाट स्वाब संकलन गर्ने काममा पनि सञ्चालक, स्वास्थ्यकर्मी, बैंकर्स र कर्मचारी सहयोगी छैनन्। मन्त्रालयले उपत्यकामा समुदायस्तरमा कोरोना संक्रमण नफैलिएको बताउँदै आइरहेको छ। साउन २ गते काठमाडौं, भक्तपुर र ललितपुरका भीडभाड हुने विभिन्न स्थानबाट चार हजार आठ सयजनाको नमुनामा तीन जनामा मात्र देखिएकाले उक्त दाबी प्रमाणित गर्दै छ। संक्रमितमा दुईजना विदेशबाट आई ब्युटीपार्लर व्यवसाय गरिरहेका छन्। राजधानीमा कोरोना भाइरस संक्रमित पुष्टि भएको पाँच महिनापछि उपत्यकामा दैनिक संक्रमित र मृत्युको ग्राफ उकालो लागिरहेको छ। उपत्यकाबाहिर संक्रमण, क्वारेन्टाइन र आइसोलेसनमा बस्ने घट्दै गइरहेको छ भने उपत्यकामा बढ्दैछन्।

उपत्यका उच्च जोखिममा

कोरोना संक्रमण दर मोफसलमा भन्दा न्यून रहेको उपत्यकामा पहिलोपटक ललितपुर भैंसेपाटीका दुई वर्षीय बालक जसको यात्रा इतिहास नभएको तथा घरमै बसिरहेको बालकमा शल्यक्रिया गर्न मेडिसिटीले पाटन अस्पतालमा पीसीआर गर्दा पोजेटिभ देखिएपछि स्थानीय संक्रमण देखा परेको छ। बाक्लो जनसंख्या भएको राजधानीमा असारसम्म भ्रमण इतिहास नभएका ३० जना बढीमा कोरोना पुष्टि भइसकेको छ। कतै नगएका व्यक्तिमा र ढलमा पनि कोरोना देखिन थालेपछि सरकारले स्थानीय संक्रमण भएनभएको यकिन गर्न नमुना संकलन गर्न थालेको हो।

सचेत समाज भनिएकै तहतप्काबाट मास्क नलगाउने, भीडभाड गर्ने, सामाजिक दूरी कायम नगर्नेजस्ता गतिविधि भइरहेका छन्। राजनीतिले सरगर्मी लिई बैठक, भेला, प्रधानमन्त्री बचाउन जुलुस निस्किएका छन्। नेपाल विद्यार्थी संघले गरेको एक कार्यक्रममा त कांग्रेस सभापति शेरबहादुर देउवाले सामाजिक दूरी नगरीकन टा“सिएर बसेको भन्दै रोषै प्रकट गरे। हटस्पट जिल्ला र स्थानबाट पसल खोल्न, व्यवसाय गर्न उपत्यका आउनेको संख्या ह्वात्तै बढेको छ। घरमा छिर्नै पीसीआर घरबेटीले माग्ने क्रम अद्यावधिक छ। मापदण्डमा पर्नेको त समस्या रहेन तर घरबेटीको दबाबले पैसा खर्च गरी तथा सोर्सफोर्स लगाई परीक्षण गराउनेको लाइन लामै छ।

पीसीआर गरेका र नगरेकालाई होल्डिङ सेन्टर एउटै छ। राजधानीमा विदेशबाट आउनेलाई देखाएको उदासीनता र सदासयताले कोरोना देखिने रबढ्ने क्रम जारी छ र कोरोनाको हटस्पट बन्दै छ। नेपालकै हटस्पटबाट आउनेलाई पनि निगरानी छैन। उपत्यकावासी पनि बाहिरबाट आउनेलाई मात्र संक्रमण छ भन्दै मक्ख छन्। जिल्ला र विदेशबाट आउने क्रम सुरु भएसँगै काठमाडौंमा संक्रमितको संख्या बढेको हो। देशमा १५ प्रतिशतभन्दा बढी अर्थात् हरेक ६ मध्ये १ उपत्यकामा बस्छन्। जनघनत्व बाक्लो भएको उपत्यका कथं हटस्पट बन्न पुगे नियन्त्रणमा ल्याउन मुस्किल पर्नेछ। निगरानी तथा स्वनिगरानीमा बसेनबसेको पनि कसैले ख्याल गरेको छैनन्।

ढलपानीमा पनि संक्रमण

सेन्टर फर मोलिक्युलर डाइनामिन नेपालले राजधानीका चारवटा घना बस्ती भएको टोलको ढलको नमुना लिएर परीक्षण गर्दा दुइटा नमुनामा कोरोना भाइरस देखिएको जनाएको छ। ढलमा एक सयदेखि पाँच सय घरको ढल मिसिने गरेको थियो। उक्त दुइटा नमुनामा चीनको वुहानमा पाइएको प्रजातिकै भाइरस पाइएको छ। लक्षण नभएका धेरै संक्रमित समुदायमा हुन सक्ने बताएका छन्। ढलपानी संक्रमण पत्ता लगाउन विश्वभर विभिन्न देशले प्रयोग गर्दैछन् र विश्व स्वास्थ्य संगठनले पोलियो रोग धेरै हुने क्षेत्र पत्ता लगाउन प्रयोग गरेको थियो।

कोभिड– १९ को पेटसम्बन्धी लक्षण देखाउने, श्वासप्रश्वास लक्षणपश्चात् र लक्षण नदेखाउने दुवै किसिमका बिरामीको दिसामा कोरोना भाइरस देखा पर्न सक्छ। कोरोना पत्ता लगाउन प्रयोग गर्न सकिने नमुनामा दिसा पर्छ। कुनै अध्ययनले समुदायमा संक्रमण देखिनु केही दिनअघि संकलित ढलपानीमा पनि कोरोना भाइरसको पहिचान भएको देखाएका छन्। लक्षण नदेखिएका संक्रमितलाई समेत समावेश गर्न ढलपानीको परीक्षण लाभकारी हुन्छ। साथै संक्रमणको दोस्रो लहर फैलन थालेनथालेको जानकारी पनि दिन्छ। तसर्थ ढलपानी परीक्षण विधिलाई स्वास्थ्य सर्वेक्षणको विकल्पका रूपमा नभई पूरकका रूपमा लिन सकिन्छ।

आर फ्याक्टर

एक बिरामीले कतिजना मानिसलाई रोगी पार्न सक्छ भन्ने कुरा उक्त भाइरसको प्रभावकारिता अर्थात् वैज्ञानिक भाषामा रेप्लिकेसन नम्बर वा आर फ्याक्टर भनिन्छ। आर फ्याक्टर अत्यधिक भए उक्त भाइरसको सर्ने रफ्तार धेरै छ भन्ने हो। आर नम्बर १ भन्दा अधिक हुनु भनेको उक्त जीवाणुलाई समयमै नियन्त्रण गर्न नसके उक्त कीटाणुले संसारमा विस्फोटक अवस्था सिर्जना गर्छ भन्ने हो।

भ्रम यथावत

कतिपय क्वारेन्टाइनबाट भागे, आत्महत्या गरे। संक्रमणपछि मृत्यु भइहाल्छ भन्ने गलत बुझाइ समाजले देखाउने नकारात्मक दृष्टिकोण नै हो। कोरोना निको भई गाउँ फर्किएका व्यक्ति पानी लिन जाने ठाउँमा समाजले करेन्ट प्रवाह गरिदिँदा दुःखद घटना भयो। काठमाडौंमै कोरोनामुक्तलाई छुवाछूतको व्यवहार गरिदिँदा मानसिक तनाव सिर्जना भई डेरा, घर सरेका छन्। त्यसो त संक्रमणमुक्त भएको भनी डिस्चार्ज गरिएकामा पीसीआर गर्दा पोजेटिभ देखिएर केहीमा ठूलो हलचल, त्रास मच्चिएको हो। यसलाई विश्व स्वास्थ्य संगठनले पोजेटिभ मृत, निष्क्रिय, अवशेष भाइरसले गर्दा भएको र अर्काेमा रोग सार्न नसक्ने बताएको छ। जतिसुकै पीसीआर, आईसीयू, भेन्टिलेटरका योजना बनाए पनि सरोकारवालाले सर्वसाधारणमा कोरोना सम्बन्धमा रहेका तथ्य बुझाउन आज पनि सकेका छैनन्। समाजमा अझै पनि भ्रम, अविश्वास र त्रास व्याप्त छ।

घरमा संक्रमित

घरमै बस्छु, नियम–कानुन मान्छु भन्दै घरमा बस्ने संक्रमितहरू सयौं स्थानमा छन्। त्यसो त असार २५ पहिले घरमै आइसोलेसनमा बस्ने चिकित्सक र स्वास्थ्यकर्मी मात्रै थिए। कोरोनाको जोखिमयुक्त पक्ष भनेकै बिरामीको स्वास्थ्य अचानक गम्भीर हुनु हो, के घरमै आइसोलेसनमा बस्दा सावधानी अपनाउँदा अपनाउँदै सर्ने जोखिम तथा जटिलता र मृत्युको जोखिम टार्न सकिन्छ त ? घरमै बस्दा अस्पताल र क्वारेन्टाइनमा जस्तो सुरक्षित त हुँदैन। त्यसैमा लक्षणरहित संक्रमित मलाई केही भएको छैन भनेर घरबाट निस्कने गरे अवस्था भयावह हुन सक्छ। किरियापुत्री जस्तै कसैलाई नछोई टाढै बस्ने हो भने अस्पतालभन्दा आइसोलेसन मापदण्ड पूरा गरेका घर ठिकै हुन सक्छन्। तथापि आईसीयू सेवा उपलब्ध अस्पताल नजिकै हुनुपर्छ।

अन्त्यमा, समुदायमै फैलिएको नभने पनि दोस्रो चरणमा भने पुगिसकेको छ। उपत्यका समुदाय संक्रमणको सँघारमा छ, सामुदायिक संक्रमण छैन भन्दैमा ढुक्क भएर बस्ने अवस्था छैन। नियन्त्रण गर्न नसके भोलि ठूलै महामारी हुन सक्छ। सुरुमा फाट्टफुट्ट संक्रमण भए पनि पछिल्लो सातामा अत्यधिक छ। संक्रमण फैलिन नदिन गर्नुपर्ने मुख्य काम भनेकै रोकथाम हो। संक्रमण फैलन नदिने सरकार मात्र होइन, संक्रमित व्यक्ति र हरेक नागरिकको दायित्व हो।–डा. बुढाथोकी नेपाल चिकित्सक संघका केन्द्रीय कोषाध्यक्ष हुन्।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.