भारतबाट सोझै घर, होल्डिङ सेन्टर खाली
राजविराज : सप्तरीको बर्साइन स्वास्थ्य चौकीका अहेव मदन मण्डल बिहान ७ बजे आउँछन्। उनी घर फर्किनु अघि दिउँसो १ बजे कोइलाडी स्वास्थ्य चौकीका अहेव उमेश मण्डल आइ पुग्छन्।
दुबै जनाको घर तिलाठी कोइलाडी गाउँपालिका-३ स्थित सकरपुरा हो। सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका-१ बेल्हीमा जेठ ९ गतेदेखि सञ्चालित होल्डिङ सेन्टरमा हिजोआज मानिस आउन छाडेका छन् तर उनीहरू नियमित गइरहेका छन्।
भारतबाट फर्किएकालाई केही बेर राख्न र चेकजाँच गरी सम्बन्धित स्थानीय तहको क्वारेण्टाइनमा पठाउन बनाइएको सेन्टरमा दुई सातादेखि मानिस आउन छाडेको गाउँपालिकाका विपद व्यवस्थापन अधिकृत राजेशकुमार झाले जानकारी दिए।
स्थानीयवासीका अनुसार भारततर्फको सुरक्षा कडाईका कारण नेपाली उता जान नपाए पनि भारतबाट अहिले नेपाली निर्वाध रूपमा फर्किने गरेका छन्। विश्वमै कोरोना संक्रमणको दर उच्च रहेको भारतमा लकडाउन खुला भएदेखि नै उता काम नपाएर फर्कने नेपालीको ओइरो लागेको छ तर वैध नाकाबाट आउने सङ्ख्या थोरै छ।
होल्डिङ सेन्टरको तथ्यांकमा साढे दुई महिनाको अवधिमा ५ सय ८७ जना मात्र आएको देखिन्छ। अहेव उमेश मण्डलले मानिस थोरै आए पनि नआए पनि कोही आउँछन कि भनेर कुरेर बस्नु परेको बताए। जनचेतनाको अभावमा क्वारेण्टाइनमा १४ दिन बस्न तयार नभएर मानिस लुकीछिपी आउने गरेको स्वास्थ्य संयोजक शैलेशकुमार मिश्रले सम्भावना व्यक्त गरे।
होल्डिङ सेन्टर हुँदै आउने ५८७ मात्र भए पनि स्थानीय तहको क्वारेण्टाइनमा हालसम्म ५४५ महिलासहित ५९५५ जना बसेको स्वास्थ्य कार्यालयको तथ्यांकमा छ। जसमा ५६५९ जना डिस्चार्ज भएका छन्। त्यत्तिकै सङ्ख्यामा होम क्वारेण्टाइनमा बस्ने छन्। क्वारेण्टाइनमा बस्ने र संक्रमित हुनेमा ९० प्रतिशत भने भारतबाटै आएका रहेको स्वास्थ्य कार्यालयले जनाएको छ।
स्वास्थ्य कार्यालयका निमित्त प्रमुख दुनियालाल यादवका अनुसार हाल पनि २२ महिलासहित २९६ जना क्वारेण्टाइनमा छन् र १५८ जना होम क्वारेण्टाइनमा छन्।
सप्तरीमा पूर्व कोशी नदीदेखि पश्चिम बलान खोलासम्म भारतसँग जोडिएको भूभाग ७८ किलोमिटर छ। भारतसँग खुल्ला सिमा जोडिएको सप्तरीमा भारतबाट आउनेहरू मुख्य नाकाभन्दा अन्यत्रैबाट सहजै भित्रिरहेको र घरमा पुग्ने गरेको पछिल्लो समयमा फेला परेको संक्रमितको तथ्यांकले स्पष्ट पारेको छ।
सरकारले भारतबाट स्थलमार्ग हुँदै स्वदेश आउने नेपालीका लागि सप्तरीको कुनौली, सिरहाको ठाडी र माडर, महोत्तरीको भिटमोड, सर्लाहीको मंलगवा, रौतहटको गौर, पर्साको वीरगञ्ज, इलामको पशुपतिनगर, झापाको काकडभिट्टा, मोरङको रानी, नवलपरासी पश्चिमको महेशपुर, रुपन्देहीको वेलहिया, कपिलवस्तुको तौलिहवा र कृष्णनगर, बाँकेको जमुनाहा, बर्दियाको सुरजपुर, गुलरिया, कैलालीको गौरीफन्टा, कञ्चनपुरको गड्डाचौकी, बैतडीको झुलाघाट र दार्चुलाको दार्चुलालाई प्रवेश विन्दु तोकेको छ।
होल्डिङ्ग सेन्टरमा नबसी भारतको दरभंगा र दिल्लीबाट सोझै घर आएर निर्धक्क कारोबार गर्ने राजविराज-६ का ७३ वर्षीय व्यापारीका कारण राजविराज र भारतको सुपौलस्थित अचलपुर गाउँबाट विरामी अवस्थामा घर फर्केका ५० वर्षीय पुरुषका कारण दुबै ठाउँ हटस्पट बनेको छ। होल्डिङ् सेन्टर हुँदै क्वारेण्टाइन नबस्दा र समयमा सूचना प्रवाह हुन नसक्दा कोरोना फैलिएको प्रदिप मण्डलले बताए।
सप्तरीको तिलाठीसँग जोडिएको भारत बिहारको कुनौलीमा चोर बाटो हुँदै दैनिक किनमेल गर्न जाने तिलाठी कोइलाडी गाउँपालिका-२ लौनियाका केही व्यक्तिका कारण सो गाउँ कोरोनाको हटस्पट बनेको गाउँपालिका अध्यक्ष सतिशकुमार सिंह बताउँछन्।
कोरोना फैलिएर सर्वसाधारणमा पुगेपछि मङ्गलबारदेखि सप्तरी जिल्लाभरी नै निषेधाज्ञा जारी गरिएको छ। खुला सीमानाकाका कारण भारतबाट सहजै लुकिछिपी आवतजावत गर्नेका कारण जिल्ला आक्रान्त बनेको दाबी गर्दै डाकनेश्वरी नगरपालिका अध्यक्ष शिवनारायण साहले आवतजावतलाई कडाईका साथ रोक्न नसके कल्पनै नगरेको भयावह अवस्था आउने चेतावनी दिए।
प्रतिक्रिया दिनुहोस !