निषेधाज्ञालाई निरन्तरता
राजविराज : कोभिड-१९ संक्रमणको जोखिम बढेपछि सप्तरीमा जारी रहेको निषेधाज्ञालाई निरन्तरता दिइएको छ । सप्तरीका प्रमुख जिल्ला अधिकारी शंकरहरि आचार्यको अध्यक्षतामा आइतबार बसेको जिल्ला सुरक्षा समिति र जिल्ला संकट व्यवस्थापन केन्द्रको संयुक्त बैठकले सप्तरीमा लागु रहेको निषेधाज्ञा पुनः एक साताका लागि थप गर्ने निर्णय गरेको हो।
प्रजिअ आचार्यले कोभिड-१९ संक्रमणको अवस्था र जोखिम विश्लेषणका आधारमा एक साताका लागि निषेधाज्ञालाई निरन्तरता दिने निर्णय गरिएको बताए । बैठकले सप्तरी जिल्लाको सम्पूर्ण क्षेत्रमा लगाइएको निषेधाज्ञालाई आगामी भदौ २ गते राति ११ बजेसम्मका लागि निरन्तरता दिने निर्णय गरेको प्रजिअ आचार्यले जानकारी दिए । मंगलबार परेको कृष्णाष्टमीलगायतका कुनै पनि धर्मको सबै चाडपर्व आफ्नै घरमा सुरक्षित साथ मनाउन समेत उनले अनुरोध गरेका छन्।
प्रतिक्रिया दिनुहोस !