सप्तरीको तिलाठी कोइलाडीमा एउटै गाउँका ४२ जनामा कोरोना संक्रमण
राजविराज : कोरोना संक्रमणको हटस्पट देखिएको भारतसँग जोडिएको सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका-२ लौनियामा मात्र ४२ जनामा संक्रमण पुष्टि भएको छ। गजेन्द्रनारायण सिंह अस्पताल राजविराजमा गरिएको पीसीआर परीक्षणमा पुनः ५ जनामा कोरोना संक्रमण देखिएपछि एउटै गाउँका ४२ जना संक्रमित भएको स्वास्थ्य कार्यालय सप्तरीका निमित्त प्रमुख दुनियालाल यादवले बताए । जसमा ३ जना महिला छन् । तिलाठी कोइलाडी गाउँपालिकामा भने १२ महिलासहित ८८ संक्रमित पुगेको छ ।
एउटै गाउँ लौनियामा पुनः ३२, ३३, ३५ र ४४ वर्षीय पुरुष र ७० वर्षीया महिलामा संक्रमण देखिएको जानकारी दिँदै यादवले सोमबार स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले यसको पुष्टि गर्ने तयारी गरेको बताए ।
लौनियामा समुदायमा संक्रमण देखिएको बताउँदै निमित्त प्रमुख यादवले ट्रयाकिङ र ट्रेसिङको काम जारी रहेको बताए । योसँगै सप्तरीमा संक्रमित हुनेको सङ्ख्या ६७ महिलासहित ५७६ पुगेको छ ।
दैनिक तीन सयदेखि साढे चार सय स्वाबको पीसीआर परीक्षण हुने गरेको जनाउँदै अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेण्ट डाक्टर रणजीतकुमार झाले प्रयोगशालामा राति अबेलासम्म परीक्षण हुने जानकारी दिए ।
लौनियाका पान पसले, चिया पसले, कपाल काटने ठाकुरसहित २५ जना सर्वसाधारणको साउन १८ गते एकै दिन संक्रमण पुष्टि भएपछि गत साता लौनियाबाट ७९ जनाको स्वाब संकलन गरिएको थियो ।
विषसेवनपछि गजेन्द्रनारायण सिंह अस्पतालको आकस्मिक कक्षमा उपचार गराइरहेका लौनियाका ५० वर्षीय एक बिरामीमा साउन ९ गते कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएपछि ट्रयाकिङ र ट्रेसिङ गर्दै जाँदा उनको परिवारका पाँच जना, सम्पर्कमा आएका पुरुष र उनको उपचारमा संलग्न ३ स्वास्थ्यकर्मीमा संक्रमण पुष्टि भएको थियो ।
खुला सीमानाकाका कारण भारतको कुनौली बजारमा लुकिछिपी आवतजावत गर्नेहरूका कारण गाउँ आक्रान्त बनेको भन्दै गाउँपालिका अध्यक्ष सतिशकुमार सिंहले अवस्था नियन्त्रण गर्न कुनौली नाकामा भइरहेको आवतजावतलाई कडाईका साथ रोकिएको बताए ।
संक्रमित भएका लौनियावासीलाई सोही वडाको पविमावि लौनियामा सञ्चालन गरिएको आइसोलेसन केन्द्रमा राखिएको छ । यसअघि राजविराज-१ का २० वर्षीय पुरुष, ५५ वर्षीया महिला, वडा नम्बर- ४ का ५, ३२, ३४ वर्षीय पुरुष, २७ वर्षीय महिला, वडा नम्बर- ५ का २५, ३४, ४० र ६२ वर्षीय पुरुष, ६१ वर्षीया महिला, वडा नम्बर- ७ का ५६ र २६ वर्षीय पुरुष र ठेगाना नखुलेका ४८ वर्षीय पुरुष गरी १५ जना संक्रमित भएको मन्त्रालयले आइतबार पुष्टि गरेको थियो । सप्तरीको केन्द्र राजविराजमा समेत यो समेत संक्रमित हुनेको सङ्ख्या ११२ पुगेको छ ।
समुदायमा संक्रमण देखिएको लौनिया गाउँमा कोभिड-१९ को संक्रमणबाट जोगिन र जोगाउनका लागि वडा नम्बर २ का वडा अध्यक्ष खगेन्द्र मण्डलको नेतृत्वको एक टोलीले माइकिङ्ग गर्दै वडामा घुमेर कडाइ गरेको छ । गाउँमा चिया, नास्ता र मदिरालगायतका पसलहरु पूर्ण रुपमा बन्द गरी सामान विक्रीमा रोक लगाइएको छ । टाँसिएको भारत विहारको कुनौली आवतजावत गर्न रोक लगाउँदै प्रहरी र सशस्त्र प्रहरी खटाइएको छ ।
वडा अध्यक्ष मण्डलका अनुसार साबुन पानीले हाथ धुने, बिना कामले घर बाहिर ननिस्किने, सामाजिक दुरी बनाएर मात्र काम गर्ने, किराना पसल दिनको २ बजेदेखि ४ बजेसम्म मात्र खोल्ने, औषधि पसल चौबिसै घण्टा खोल्ने र मास्क लगाउने कार्य उल्लंघन गर्नेलाई भौतिक वा आर्थिक कारवाही गरिनेलगायतका निर्णयहरु गरिएको छ ।
लकडाउन थपिदै २१ दिनसम्म राखिने जनाइएको छ । वडा नम्बर २ को लौनिया गाउँमा कोरोना भाइरस सघन रुपमा फैलिसकेकाले यसको जालो तोड्न कडाइका साथ आफूहरु जुटेको वडा अध्यक्ष मण्डलले बताए ।
प्रतिक्रिया दिनुहोस !