कोरोना जित्‍नेले समाजसँग हारे : घरमा ताला लाइदिने धम्कीपछि होटलको बास

कोरोना जित्‍नेले समाजसँग हारे : घरमा ताला लाइदिने धम्कीपछि होटलको बास

इटहरी : इटहरी ५ का २७ वर्षीय युवाले शुक्रबार बिहान फेसबुकमा पोष्ट गरे ‘कोरोनाको विश्वयुद्ध जितेर सातौं दिनमा अस्पतालबाट फर्कंदैछु।’शनिबार बिहानसम्ममा उनको फेसबुक पोस्टमा ३ सय ३८ जनाले उनलाई स्वागत तथा बधाई भन्दै कमेन्ट गरेका छन्। 

कमेन्टको वर्षा भइरहँदा उनी धरानस्थित वीपी कोइराला स्वास्थ विज्ञान प्रतिष्ठान छाड्दै थिए। कोरोना भाइरसलाई आफ्नो शरीरबाट निकाल्न सकेकोमा उनी दंग थिए। घर फर्कन पाउने भएर उत्साहित पनि थिए। तर उनलाई थाहा थिएन, उनको लागि अर्को भाइरस उनलाई गाउँघरबाट खेद्न लालायित थियो भनेर। 
समाजले उनलाई घरमा बस्न दिएन।

‘हामीलाई रोग सरे को जिम्मेवारी हुन्छ भन्दै छिमेकीले बहिष्कार गरे’, कोरोना जितेर फर्केका उनले अबुझ समाज जित्न नसकेको बताउँदै भने, ‘घरमा तालाबन्दी गर्नेसम्मको धम्की दिएपछि बाध्य भएर होटलमा बस्न थालेँ।’ उनले कहिलेसम्म होटलमा बसेर निरोगिता पुष्टि गर्नुपर्ने हो उनलाई थाहा छैन। उनी भन्छन्, ‘आज अरुलाई पर्ने समस्या भोलि आफूलाई पर्छ भन्ने पनि कस्तो नबुझेको, रोगलेभन्दा पनि समाजले मार्ने रहेछ।’

जनकपुरमा बस्दै आएका उनलाई १८ दिनअघि ज्वरो आएको थियो। उनी १९ गते धरानस्थित वीपी प्रतिष्ठान धरान जँचाउन गए। चिकित्सकको सल्लाहअनुसार उनी स्वाब दिएर घरमा आइसोलेट भएर बसेका थिए। स्वासप्रस्वासमा सामान्य समस्या थियो। साउन २२ गते उनमा कोरोना पोजिटिभ देखियो। उनी गत शुक्रबार अस्पताल भर्ना भएका थिए। उपचारपछि गत बुधबार स्वाब जाँच गर्दा नेगेटिभ आएपछि उनी शुक्रबार घर फर्किएका थिए। ‘घर फर्किन पनि कुनै गाडी पाइनँ’, उनले भने, ‘पछि कोरोनाको बिरामी बोक्ने र स्वाब ओसार्ने एम्बुलेन्समा बसेर इटहरी फर्केँ।’

इटहरी फर्केर उनी घर नजिकै रहेको ठूलोबुवाको खाली रहेको घरमा बस्ने योजना थियो। त्यहीअनुसार तयारी पनि भएको थियो। ‘थप १५ दिन त्यहीं आइसोलेट भएर बस्ने योजना भए पनि समाजले अपशब्द बोल्दै धम्की दिएपछि घर फर्किन सकिनँ’, उनले भने। उनी अस्पतालबाट सिधै होटल हान्निए।
अहिले उनी होटलमै बसेर घर फर्किने वातावरण बनाइदिन सम्बन्धित निकायसँग हारगुहार गरिरहेका छन्। ‘उपमेयरज्युले वातावरण बनाइदिने आश्वासन दिनुभएको छ’, उनले भने, ‘यो देशमा सरकार छ भन्ने विश्वास दिलाउने काम अब जनप्रतिनिधिको जिम्मामा छ।’


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.