संक्रमण त्रासले रगत अभाव

संक्रमण त्रासले रगत अभाव

चितवन : रक्त क्यान्सरपीडित भाइको उपचारका लागि रगतको जोहो गर्न कञ्चनपुरका हिरेन्द्रकुमार रानालाई हम्मेहम्मे परेको छ। भरतपुरमा उनले चिनेका कोही छैनन्। रानाले रक्तदाता पनि चिनेका छैनन्।

रगत पाउन मुस्किल भएपछि उनी निराश छन्। बिरामीको कागजपत्र र रगत लाने बाक्सा लिएर भरतपुर अस्पतालको हाताभित्र रहेको क्षेत्रीय रक्तसञ्चार केन्द्रमा रगत लिन उनी घण्टौं पर्खिरहे। ‘रगत कति खोजे भाइको लागि रगत पाइन्छ कि भनेर यहाँ आएर बसेको छु’, रानाले भने, ‘यहाँ कोही चिनेको छैन रक्तदाता नभेट्दा सारै समस्या भएको छ।’ उनका भाइको बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा उपचार भइरहेको छ।

१२ वर्षीया नातिनीका लागि रगत खोज्दै लक्ष्मीप्रसाद भट्टराई पनि रक्त सञ्चारमा भेटिए। बोनम्यारोमा समस्या भएपछि उनकी नातिनीको शरीरमा रगत उत्पादन कम भएको छ। भट्टराईकी नातिनीको पुरानो मेडिकल कलेजमा उपचार भइरहेको छ। तर, रगत पाउन मुस्किल छ। ‘कहिले पाइन्छ कहिले पाइन्न अहिलेसम्म सामाजिक अभियन्ताबाट सहयोग पाएको छु’, उनले भने, ‘दौडधुप धेरै गर्नुपर्छ दिनदिनै रगतको खोजीमा भौंतारिरहेको छु।’

मेडिकल सिटीको रूपमा चिनिएको चितवनमा रगत अभाव हुँदा सरोकारवाला गम्भीर छैनन्। जटिल अवस्थाका बिरामीलाई रगतको जुटाउन समस्या छ। कोरोना संक्रमण बढेपछि रक्तदान कार्यक्रम हुन सकेको छैन। संक्रमण जोखिमले दाता त्रसित छन्।

बिरामीलाई रगत अभाव हुन थालेपछि अहिले चितवनका टोलटोलमा रगत संकलन अभियान थालिएको छ। युवा उद्यमी मञ्च चितवनले टोलटोलमा घुम्ती रगत संकलन अभियान थालेको हो। कोरोना संक्रमणले दाता नजुट्दा टोलमै रगत संकलन गर्न सुरु गरिएको नेपाली युवा उद्यमी मञ्च चितवनका अध्यक्ष कृष्ण सापकोटाले बताए। ‘अहिले कार्यक्रम नहुँदा रगत जम्मा हुन सकेन’, उनले भने, ‘टोलमै पुगेर रगत संकलनको काम गरिरहेका छौं।’

क्षेत्रीय रक्तसञ्चार केन्द्र भरतपुरसँग समन्वय गरेर घुम्ती शिविर सञ्चालन भइरहेको सापकोटाले जानकारी दिए। मञ्चले हरेक दिन दुई स्थानमा पुगेर शिविर राख्ने गर्छ। धेरै जिल्लाबाट चितवनमा बिरामी आउने कारण पनि रगतको माग बढी भएको नेपाल रेडक्रस सोसाइटी चितवन शाखाका सभापति ज्ञानशाली न्यौपानेको ठहर छ। उनले भने, ‘रगतको माग बढी भएको छ तर रगत दिने शून्य छ। त्यसैले समस्या भएको हो। हामीले बारम्बार रक्तदानको लागि आग्रह गरिरहेका छौं।’ भरतपुरमा केन्द्रीय स्तरको भरतपुर अस्पताल, बीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल, दुई मेडिकल कलेज र २४ साना ठूला अस्पताल छन्।

लकडाउनको अवधिमा दैनिक ७० पिन्ट रगतको माग भइरहेको क्षेत्रीय रक्तसञ्चार केन्द्र भरतपुरले जनाएको छ। सामान्य अवस्थामा १ सय ५० पिन्ट रगत खपत हुने गरेको थियो। क्षेत्रीय रक्तसञ्चार केन्द्र भरतपुरका प्रमुख रमेशकान्त पौडेलले भने, ‘दिनहुँ धेरै रगतको माग आउँछ तर चाहेर पनि रगत दिन सकिएको छैन।’ कोरोना संक्रमण अघि भरतपुरको क्षेत्रीय रक्तसञ्चार केन्द्रले नवलपुर, बारा, सर्लाही, रौतहट, मकवानपुरमा पुगेर रगत संकलन गर्दै आएको थियो।


 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.