दोषी ठहरिएका धमाधम पक्राउ
बेनी : म्याग्दीमा अदालतले विभिन्न मुद्दामा दोषी ठहर गरे पनि फरार भएका व्यक्तिहरु धमाधम पक्राउ पर्न थालेका छन्। दसौं वर्ष पहिले फैसला भएका मुद्दाका दोषीहरु पक्राउ परेका हुन्।
२० वर्षअघि कर्तब्य ज्यान मुद्दामा अदालतबाट दोषी ठहर भएका धवलागिरी गाउँपालिका-३ (साविक मुना गाविस–७) दरका ४४ वर्षीय चन्द्रवल घर्तिलाई सोमबार पक्राउ गरेको प्रहरीले मंगलबार सवारी ज्यान मुद्दाका अर्का फरार व्यक्तिलाई समात्यो। पक्राउ पर्नेमा पर्वत जिल्ला अदालतले २०६७ जेठ २४ गते तीन महिना पाँच दिन कैद सजायको फैसला गरेका मालिका गाउँपालिका-७ बिमका २९ वर्षीय प्रकाश सुनार रहेका छन्। घर्ति र सुनार दुवैलाई लाई सजाय भुक्तानका लागि जिल्ला कारागार म्याग्दी चलान गरिएको डिएसपी किरनजंग कुँवरले बताए।
घर्ति समेतले २०५७ कात्तिक २१ गते दरका २२ वर्षीय गर्बे पाइजालाई मकैबारीमा बञ्चरो प्रहार गरि हत्या गरेको मुद्दामा अदालतले २० वर्ष (जन्मकैद)को फैसला सुनाएको थियो। म्याग्दीमा पछिल्लो २ महिनामा कर्तब्य ज्यान, डाकाचोरी, लागु औषध, सवारी ज्यान लगायतका मुद्दाका १४ फरार कसुरदार व्यक्ति पक्राउ परेका छन्।
‘विभिन्न आवरणमा लुकिछिपी रहेका फरार व्यक्तिहरुको पहिचान र पक्राउ गर्न बिशेष टोली परिचालन गरेका छौ छौ,’ डिएसपी कुँवरले भने ‘अदालतको फैसला कार्यान्वयन र पिडितले न्याय पाउने अपेक्षा गरेका छौ।’
प्रतिक्रिया दिनुहोस !