कोरोनाले सप्तरीमा महिलाको मृत्यु, मृतकको सङ्ख्या ६ पुग्यो
राजविराज : कोरोना भाइरस संक्रमणबाट सप्तरीमा एक महिलाको मृत्यु भएको छ। राजविराज नगरपालिका -२ की ६० वर्षीया एकल महिलाको शनिबार राति मृत्यु भएको स्वास्थ्य कार्यालय सप्तरीले जनाएको छ।
पाँच दिन अघिदेखि ज्वरो आइरहेकी ती महिलाले राजविराजस्थित निजी क्लिनिकमा उपचार गराइरहेकी थिइन्। निमोनियाबाट ग्रसित महिलामा अक्सिजन कम भएर स्वास्थ्य अवस्था गम्भीर भएपछि शुक्रबार धरान र विराटनगरस्थित अस्पतालमा कुरा गरेर पठाएको गजेन्द्रनारायण सिंह अस्पताल राजविराजका निमित्त मेडिकल सुपरिटेण्डेण्ट डाक्टर रणजितकुमार झाले बताए। शुक्रबार अस्पताल आएलगत्तै उनको स्वाब संकलन गरिएकोमा शनिबार राति रिपोर्ट आएको थियो।
संक्रमण पुष्टि भएपछि थप उपचारका लागि विराटनगरतर्फ लैजाने क्रममा मृत्यु भएको मृतककी बुहारीले बताइन्। मृतकको एक नातीमा समेत निमोनिया ज्वरो रहेकोले होम आइसोलेशनमा राखिएको र सोमबार परिवारका सबै सदस्य र सम्पर्कमा आएका व्यक्तिहरुको स्वाब संकलन गर्न लागिएको वडा अध्यक्ष अरुण यादवले बताए।
मृत्यु लगत्तै नेपाली सेनाको टोलीले सप्तरीको राजविराजस्थित खाँडो खोलामा शवको व्यवस्थापन गरेको छ। यसअघि सप्तरीका पाँच जना पुरुषको मृत्यु भएको थियो। सघन उपचार कक्ष र भेण्टिलेटरको अभावमा मानिसहरुको मृत्यु भएको भन्दै राजविराजवासी आक्रोशित बनेका छन्। राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा संघीय सरकारले ६ महिना अघि चार वटा भेण्टिलेटर उपलब्ध गराए पनि भौतिक पूर्वाधार र जनशक्तिको अभावमा जडान र सञ्चालन गर्न नसकिएको अस्पतालका निमित्त मेडिकल सुपरिटेण्डेण्ट डाक्टर झाले बताए।
प्रतिक्रिया दिनुहोस !