जसले प्रहरीकै हातमा प्रचार थमाउँथे..

जसले प्रहरीकै हातमा प्रचार थमाउँथे..

राजविराज : पद, पैसा र ‘पावर’लाई त्यागेर आदर्श, निष्ठा र समाजसेवालाई अँगाल्ने नेविसंघ सप्तरीका संस्थापक एवम् कांग्रेस सप्तरीका निडर नेता मुरारीप्रसाद उपाध्यायलाई पार्टी र नेविसंघले सम्झिन नसकेकोमा पुराना नेताले दुख व्यक्त गरेका छन्।

सप्तरीको राजनीतिक इतिहासमा पूर्व उपप्रधानपञ्च र बहुदलीय व्यवस्थाको स्थापनालगत्तै कांग्रेसको क्षेत्रीय सभापतिको जिम्मेवारी सम्हालेका उपाध्यायको त्याग, तपस्या, निष्ठा र इमान्दार जीवनशैली सप्तरीको इतिहासमा अविस्मरणीय रहेको चर्चा गर्दै पूर्वगृह राज्यमन्त्री एवम् पूर्वकेन्द्रीय सदस्य रामकुमार चौधरीले १३औँ दिनको पूण्य तिथीसम्म शोकसभा समेत नगरेकोमा दुःख व्यक्त गरेका हुन्। 

पञ्चायतकालमा युवालाई संगठित गर्न, सहिद पुस्तकालय स्थापना गर्न र निरन्तर समाजसेवामा लागेका आदर्श र प्रेरणास्रोत रहेका उपाध्यायलाई सप्तरी कांग्रेस र नेविसंंघले नसम्झिएकोमा चौधरीले दुःख व्यक्त गरे। ‘निरकुंश व्यवस्थाको अन्त्य गरी प्रजातन्त्रको बहाली गर्न महत्वपूर्ण भूमिका खेलेका उपाध्यायले प्रहरीकै हातमा पञ्चायत विरोधी प्रचार थमाउने आँट देखाउँथे’, चौधरीले स्मरण गरे। 

राजविराज नगरपालिकाका पूर्वउप प्रधानपञ्च समेत रहेका राजविराज नगरपालिका–७ निवासी ७७ वर्षीय उपाध्यायको गत भदौ ५ गते उपचारका क्रममा काठमाडौंको ग्राण्डी अस्पतालमा मृत्यु भएको थियो। ज्वरो र निमोनिया भएपछि काठमाडौं पुगेका उनमा कोरोना संक्रमण देखिएपछि तत्कालै विद्युतीय शवदाहमा शव व्यवस्थापन गरिएको छोरा सचिन उपाध्यायले बताए।

२०४३ साल चैतमा भएको स्थानीय तहको निर्वाचनमा राजविराजको चार वडाको मतदानमा धाँधली भएको भन्दै उम्मेदवारले गरेको अनसनलगायतको आन्दोलन सफल भएपछि ०४४ साल वैशाखमा पुनः भएको निर्वाचनमा उपाध्याय उपप्रधान पञ्चमा निर्वाचित भएका थिए। चार बुथको मतदानमा धाँधली भएको भन्दै जारी १२ दिनको अनसनपछि ०४४ वैशाख ४ गते राजविराज नगरपालिकाको सबै १० वडामा पुनः निर्वाचन हुनु नेपालको राजनीतिमा ऐतिहासिक घटना रहेको पूर्वप्रधानपञ्च गोविन्द सिंह बताउँछन्। उपाध्यायसँगै प्रधानपञ्च बनेका सिंहले बिरामीको सेवा र अस्पतालमा कुरुवा बस्न २०७६ सालसम्म सामाजिक सेवाभावका उपाध्याय अग्रसर रहने गरेको बताए। 

सप्तरीको जनता र पार्टीका लागि उपाध्यायको योगदान ऐतिहासिक र चीरस्मरणीय रहेको बताएका कांग्रेस सप्तरीका सभापति दिनेश यादवले उनको सम्झनामा कुनै कार्यक्रम गर्न नसकिएको तर विज्ञप्तिमार्फत श्रद्धाञ्जली दिएको जानकारी दिए। कोरोनाका कारणले पनि कुनै कार्यक्रम गर्न नसकिएको उनले बताए। नेविसंघ सप्तरीको अध्यक्षको दाबी गर्दै आएका पार्थो सरकारले पनि उपाध्यायको सम्झनामा कुनै कार्यक्रम नभएको जानकारी दिए।

सहिद पुस्तकालयमा बम विष्फोट भएपछि उपाध्यायसँगै कांग्रेसका नेता पक्राउ परेको अर्का पुराना नेता सुशील सेवाले बताए। पञ्चायती व्यवस्थामा कांग्रेसका नेता निर्वासनमा बसेर हिंसात्मक आन्दोलन गर्ने निर्णयलाई अस्वीकार गर्दै उपाध्याय सप्तरीको जोगिनियाबाट राजविराज बसाई सरेर युवालाई संगठित गर्न अग्रसर रहेको सेवाले बताए।

पद, पैसा र ‘पावर’ले धानेको अहिलेको राजनीतिक वातावरणमा उपाध्याय जस्ता व्यक्तित्वलाई सम्झने त टाढाको कुरा हो, आफैँले जन्माएको नेविसंघ सप्तरी र जीवनभर कर्म गरेको पार्टी नेपाली कांग्रेस सप्तरीले सम्झने चेष्टासमेत नगर्नुलाई पूर्वगृहराज्य मन्त्री चौधरी दुःखद भएको बताउँछन्।

उपाध्यायका श्रीमती, २ छोरा र २ छोरी छन्। उपाध्यायको १३ औँ दिनको पुण्य तिथिमा भावपूर्ण श्रद्धाञ्जली र परिवारमा समवेदना।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.