रामारोशनका बाढी पीडितलाई सहयोग
काठमाडौं : गैर आवासीय नेपाली संघ, नेदरल्याण्डले अछामको रामारोशनका बाढी पीडितलाई दुई लाख रुपैयाँ आर्थिक सहयोग गरेको छ। भदौ २ गते राती कैलास खोलामा आएको बाढीबाट १७ जनाको ज्यान गएको थियो भने करोडौको धनमालको क्षति भएको थियो।
गैर आवासीय संघ नेदरल्याण्डका अध्यक्ष श्रीराम कंडेल, उपाध्यक्ष हिमाल ओझा र सल्लाहकार धनकुमार बोहराको पहलमा रामारोशनका बाढी पीडितलाई आर्थिक सहयोग पठाइएको हो। सल्लाहकार बोहराले भने 'बाढी पीडितलाई थोरै भएपनि राहत पुगोस भनेर आर्थिक सहयोग गरेका हौँ।'
उक्त रकम मृतकका परिवारलाई मंगलबार वितरण गरिएको नेकपा प्रदेश कमिटि सदस्य गोविन्द साउदले जानकारी दिए। रामारोशन गाउँपालिका-५ का वडाध्यक्ष लक्ष्मण दमाईको उपस्थितिमा बाढी पहिरोबाट आफन्त गुमाएका ८ परिवारलाई उक्त रकम वितरण गरिएको साउदले जानकारी दिए।
प्रतिक्रिया दिनुहोस !