राजधानी सार्ने प्रदेश सरकारको प्रस्ताव औचित्यहीन : नेकपा रुपन्देही
![राजधानी सार्ने प्रदेश सरकारको प्रस्ताव औचित्यहीन : नेकपा रुपन्देही](https://annapurnapost.prixacdn.net/media/albums/province-5_20190721140153_20201002090314_omNrWxtDhD.jpg)
बुटवल : नेपाल कम्युनिष्ट पार्टी (नेकपा) रुपन्देही जिल्ला कमिटीले प्रदेशको स्थायी राजधानी सार्ने गरी प्रदेश सरकारे गरेको प्रस्ताव औचित्यहीन रहेको बताएको छ। प्रदेश सरकारले संविधानको भावना आत्मसाथ नगरी राजधानीको प्रस्ताव गरेको भन्दै त्यो औचित्यपूर्ण नभएको जनाएको हो।
जिल्ला अध्यक्ष शिवराज सुवेदी र सचिव निर्मलबहादुर जिसीद्वारा जारी विज्ञप्तीमा प्रदेश राजधानी तोक्दा प्रशासनिक सहजता, भुगोलको सुगमता र भौतिक पूर्वाधारको विकासलाई ध्यान दिनुपर्ने संविधानमा उल्लेख भएकाले प्रदेश सरकारले पेश गरेको प्रस्ताव औचित्यपूर्ण नरहेको उल्लेख छ। प्रदेश सरकारलाई नागरिक सर्वोच्चताको संवोधन गर्न र प्रदेश सांसदहरुलाई आफूलाई प्राप्त जनमतप्रति निष्ठा, इमान र दृढताका साथ पेश हुन विज्ञप्तीमार्फत आग्रह गरिएको छ।
प्रदेश ५ को नामाकरण र स्थायी राजधानीका सम्बन्धमा प्रदेश सरकारका तर्फबाट प्रदेशसभामा पेश गरिएको प्रस्ताव र त्यसका कारण उत्पन्न परिस्थितिका सन्दर्भमा पार्टीको गम्भीर ध्यानाकर्षण भएको भन्दै नेकपा रुपन्देहीले उक्त निर्णय सच्याउन माग गरेको हो।
यसबीचमा रुपन्देहीबासी र यहाँका संघसंस्थाहरुले प्रदेश सरकार र यसका विभिन्न अंगहरुलाई गरेको योगदानप्रति सम्मान गर्न प्रदेश सरकारलाई विज्ञप्तीमार्फत अपिल पनि गरिएको छ। साथै विज्ञप्तीमा प्रदेश सरकारले ठूलो धनराशी खर्च गरी भौतिक पूर्वाधार समेत निर्माण गरिसकेको अवस्थामा अस्थायी सदरमुकामलाई नै प्रदेशको स्थायी राजधानीको रुपमा अगाडि बढाइ जनमतको सम्मान गर्न आग्रह गरिएको छ।
त्यस्तै नेकपा तिलोत्तमा नगर अध्यक्ष मोहन चापागाईं र सचिव लक्ष्मण खनालले पनि विज्ञप्ती जारी गर्दै निर्णय सच्याउन प्रदेश सरकारलाई आग्रह गरेको छ।
प्रतिक्रिया दिनुहोस !
![Unity](https://annapurnapost.prixacdn.net/static/assets/images/unity-logo.png)