राजधानी सार्ने प्रस्तावले बुटवल अशान्त

राजधानी सार्ने प्रस्तावले बुटवल अशान्त

बुटवल : प्रदेश ५ को राजधानी दाङ (भालुवाङ) सार्ने प्रस्तावपछि बुटवल अशान्त बनेको छ। त्यसको विरोधमा आन्दोलित स्थानीयले आइतबार निषेधाज्ञा तोडेर प्रदर्शन गरेका छन्। मुख्यमन्त्री शंकर पोखरेल भने प्रदेशको अस्थायी राजधानी बुटवलमा निषेधाज्ञा लगाउन निर्देशन दिई काठमाडौं पुगेका छन्।

प्रदेश सरकारको प्रस्तावप्रति सत्तारूढ नेकपामै असन्तुष्टि देखिएको छ। संसदीय दलको बैठकमा चार जिल्लाका १४ सांसदले फरक मत राखेका थिए। पार्टीका लुम्बिनी क्षेत्रका जिल्ला कमिटीहरू पनि राजधानी बुटवलबाट दाङ सार्ने प्रस्तावको विरोधमा उत्रिएका छन्। रुपन्देही जिल्ला कमिटीले उक्त प्रस्ताव औचित्यहीन रहेको बताएको छ। अध्यक्ष शिवराज सुवेदी र सचिव निर्मलबहादुर जीसीले विज्ञप्ति जारी गरी संविधानको मर्मविपरीत प्रस्ताव ल्याएको भन्दै त्यसलाई फिर्ता लिन सरकारलाई आग्रह गरेका छन्। प्रदेश राजधानी तोक्दा प्रशासनिक सहजता, भूगोलको  सुगमता र भौतिक पूर्वाधारको विकासलाई ध्यान दिनुपर्ने संविधानमा उल्लेख भएकाले प्रदेश सरकारले पेस गरेको प्रस्ताव औचित्यपूर्ण नरहेको विज्ञप्तिमा उल्लेख छ। राप्तीपारिको बर्दिया जिल्ला कमिटीले भने प्रस्तावको समर्थन गरेको छ।

स्थानीय प्रशासनले बुटवल क्षेत्रमा निषेधाज्ञा लगाए पनि त्यसलाई तोड्दै रुपन्देहीका संघसंस्थाले आइतबार विरोध प्रदर्शन गरेका हुन्। व्यापारिक संघसंस्थाले राजधानीको विषयमा जनमतको अपमान नगर्न, भौतिक पूर्वाधारयुक्त रुपन्देहीलाई नै राजधानी तोक्न माग गरेका छन्। उनीहरूले लुम्बिनीबाट केन्द्रमा प्रतिनिधित्व गर्ने नेताहरूलाई मुख खोल्न आग्रह गरेका छन्।

२०७३ मंसिरमा अखण्ड प्रदेश र रुपन्देही राजधानी हुनुपर्छ भन्ने नेताहरू पछिल्लो प्रस्तावबारे बोलेका छैनन्। निर्वाचनको घोषणापत्रमै राजधानीको एजेन्डा राखेका नेकपा महासचिव विष्णु पौडेलेसहितका नेताको अभिव्यक्तिको पर्खाइमा लुम्बिनीवासी देखिएका छन्। कृषिमन्त्री घनश्याम भुसाल, परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली, नेकपा नेता टोपबहादुर रायमाझी, गोकर्ण विष्ट, सोमप्रसाद पाण्डे, छविलाल विश्वकर्मासम्म बोलेका छैनन्। चार दिनसम्म पनि नेताहरू नबोलेपछि स्थानीयले ‘पदसँग राजधानी साटेको’ भनेर आरोप लगाउन थालेका छन्।

‘हामी महासचिव (विष्णु पौडेल)सँग विश्वस्त छौं’, बुटवलमा आइतबार भएको विरोधसभामा पश्चिम नेपाल बस व्यवसायी प्रालिका अध्यक्ष दधिराम खरेलले  भने, ‘उहाँ रुपन्देहीलाई नै राजधानी बनाउने पक्षमा हुनुहुन्छ। अर्थमन्त्रीका लागि राजधानी साटे भन्ने आरोप हामीले पत्याउँदैनौं।’ विश्लेषक युवराज कँडेलले भालुवाङमा राजधानी तोकिनु अदूरदर्शिता भएको बताए। ‘भालुवाङ सामरिक र पर्यावरणीय रूपमा उपयुक्त स्थान होइन’, उनको तर्क छ।

सोमबारदेखि छलफल
 

प्रदेशसभामा सरकारले राखेको प्रस्तावमाथि सोमबारदेखि छलफल हुँदै छ। सभामुख पूर्णबहादुर घर्ती मगरले आइतबार सर्वदलीय परामर्श बैठक डाकेका थिए।

प्रतिपक्षी कांग्रेसले प्रस्ताव पेस गर्ने प्रक्रिया नै गलत भएको भन्दै फिर्ता गर्न आग्रह गरेको छ। फिर्ता नभए संसद् अवरुद्ध गर्ने कांग्रेसको तयारी छ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.