स्वरोजगार बन्दै मजदुर

स्वरोजगार बन्दै मजदुर

बर्दिबास : कोरोना भाइरसको महामारीले रोजगारी गुमाएका गरिब परिवारलाई महोत्तरीको गौशाला नगरपालिकाले आयआर्जन परियोजनामा आबद्ध गराएको छ। मजदुरी गरेर जीवन चलाउने ४ सय ५०  परिवारलाई बाख्रापालन, फलफूल खेती, माछापालन, जडीबुटी खेतीमा आबद्ध गराएको हो। कोभिड–१९ बाट प्रभावित अति विपन्न परिवारका लागि ‘आयआर्यन तथा रोजगारी विकास परियोजना’ कार्यान्वयनमा ल्याइएको छ। गौशाला नगरपालिका र संयुक्त राष्ट्रसंघ विकास कार्यक्रम (यूएनडीपी) को साझेदारीमा विपन्नको आर्थिक उत्थानका परियोजना ल्याएको छ।

सामुदायिक विकास तथा पैरवी मञ्च बर्दिबास महोत्तरीको प्राविधिक सहयोगमा कार्यान्वयमा आएको परियोजनामा साझेदार संस्था र स्थानीयको श्रमदानसहित २ करोड ५३ लाख लगानी हुने भएको गौशाला नगरपालिकाका मेयर शिवनाथ महतोले बताए। कोरोनाको महामारीले रोजीरोटी गुमाएका गौशाला नगरपालिकाको ३, ८, १० र १२ गरी चार वडाका अति विपन्न परिवारको सशक्तीकरणमा परियोजना केन्द्रित रहेको उनले उल्लेख गरे। 

गौशाला–८ बेलगाछीस्थित सोनीखोलाको बाढीले कटान गरेर बगर बनाएको ५० हेक्टर जग्गामा फलफूल खेती सुरु गरिएको छ। आँप, लिची, कटहर, कागती, काजुका ५५ सय बिरुवा एक महिनाअघि रोपिएको थियो। आधुनिक तरिकाले सोही जमिनको खाली ठाउँमा दलहन, तेलहन, करेसाखेती गरिने परियोजना संयोजक विवेक गौतमले जनाए। 

त्यसैगरी बेलगाछी, कान्तिबजारमा तीन समूह गठन गरी तीनवटा पोखरीमा सामूहिक रूपमा व्यावसायिक माछापालन गर्ने काम भइरहेको छ। ‘पोखरीको पानी र माटोको हालको अवस्थाको ल्याब परीक्षण गर्ने काम थालिएको छ’, परियोजना संयोजक गौतमले भने। नगरपालिकाले सार्वजनिक स्थानमा रहेको स–साना पोखरी आयआर्जनका लागि गरिबलाई उपलब्ध गराइएको हो। 

लकडाउनले बेरोजगार भएका गौशाला–१२ कान्तिबजारस्थित नमुना मुसहर बस्तीका स्थानीयले बाख्रापालन थालेका छन्। २७ घरपरिवारलाई परियोजनाले जमुना र खरी जातबाट विकास गरिएको नयाँ जातको बाख्राका ८८ वटा पाठी वितरण गरेको थियो।

कान्ति बजारमा १२ लाखको लागतमा ग्रिन हाउस निर्माण थालिएको छ। सस्तो मूल्यमा उन्नत जातको बेमौसमी तरकारी खेतीको बेर्ना उत्पादन गरेर किसानलाई उपलब्ध गराउन ग्रिन हाउस निर्माण भइरहेको पैरवी मञ्च बर्दिबासका अध्यक्ष नागदेव यादवले बताए। तरकारी खेतीमा सिँचाइ गर्न  नगरपालिकाले आफ्नै लगानीमा ६ वटा डिप बोरिङ र बोरिङबाट पानी तान्न सोलार प्यानल जडान गरिदिनेछ।

‘लकडाउनले गरिबको रोजगारी गुम्दा भोकभोकै भए। राहत दिएर कति दिन चुलो बाल्ने ?’ सवाल उठेको बताउँदै मेयर महतोले भने, ‘त्यसैले दीर्घकालीन रूपमा गरिबलाई आर्थिक रूपमा बलियो बनाउन काम गरेका हौं।’ गौशालास्थित सोनी खोलाको नदी उकास ५० बिघा बगरमा जडीबुटी खेती गर्न अध्ययन भइरहेको छ। ‘जडीबुटी खेती गर्न हामी  तालिम दिन्छौं, खेती गर्न खेत दिन्छौं अनि लगानी पनि गरिदिन्छौं’, खेतबाटै उत्पादन बिक्री हुने प्रबन्ध गरिने उनले बताए।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.