एसिडको घाउमा मायाको मलम

एसिडको घाउमा मायाको मलम

नवलपुर : एसिड आक्रमणमा परेपछि कावासोती नगरपालिका–१६ हर्वासीकी वसन्ती परियारको हुलिया फेरियो। उनी आफ्नो नयाँ रूपरंग देखेर डराइन्। पतिको मायामा कमी आउँछ कि भन्ने लाग्यो। ससाना छोराछोरीमा मानसिक असर पर्छ कि भन्ने पनि डर थियो। तर, एसिडको घाउमा उनका पति यमनारायणको मायाले मलम लगाइदिएको छ। त्यही मायाले उनको आत्मबल कमजोर हुन दिएको छैन।

‘पहिला के होला भन्ने डर थियो। आजभोलि आँट आएको छ’, वसन्तीले हँसिलो मुद्रामा भनिन्, ‘पतिको मायाले मलाई बाँच्ने आधार मिलेको छ।’ यमनारायणले पहिलेभन्दा बढी माया गर्छन् वसन्तीलाई। घरमा खाना पकाउने, सरसफाइको काम वसन्तीले गर्छिन्। घरबाहिरको काम यमनारायण गर्छन्। तर, उनी एकछिन पनि पत्नीको साथ छाड्दैनन्। यमनारायणको समय पत्नीको हेरचाहमा बितिरहेको छ। हरेक काममा साथमै हुन्छन्। पत्नीले नरमाइलो माने उनीे सम्झाउँछन्। अन्यत्रको कुरा गरेर मन भुलाउँछन्।

एसिड आक्रमणपछि वसन्तीलाई घरबाहिर निस्किन पनि अप्ठेरो लाग्थ्यो। अहिले उनमा आँट पलाएको छ। यो पतिकै मायाका कारण भएको उनले बताइन्। अहिले घाममा निस्किन हुँदैन। एसिडले पोलेको भागमा घामले असर गर्छ।

पतिकै मायाकै कारण यो समाजका अगाडि आएर उभिन सकेको उनको भनाइ छ। ‘पहिलाको अनुहार र एसिड प्रहारपछि हेर्ने नजर त पक्कै फरक छ नि’, उनले भनिन्, ‘तर, पति र परिवारको माया फेरिएन, यही मेरो खुसी हो।’

उनी काठमाडौं महाराजगन्जस्थित त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा १५ महिनाको उपचारपछि घरमै छिन्। उनी शारीरिक र मानसिक रूपमा तंग्रिँदै छिन्। एसिडले उनका हात, अनुहार, टाउको, छातीमा असर गरेको छ। पति यमनारायणले उनलाई दरिलो साथ दिएका छन्। समाजमा कसरी अनुहार देखाउने भन्ने चिन्ता गर्ने वसन्तीलाई पतिले हिम्मत जुटाइदिएका छन्। 


वसन्ती विगतका आफ्ना तस्बिर हेर्दै कहिलेकाहीँ भने भक्कानिन्छिन् पनि। ‘खिन्न मानेर रूप फर्किने होइन’, यमनारायणले भने, ‘हामीलाई त यस्तो भयो, अब समाजमा अरूमाथि नहोस् भनेर अरुका लागि बाँच्नुपर्छ भनेर सम्झाउँछु।’ 

यो दम्पतीलाई आर्थिक समस्याको पिरलो रहेछ। उनीहरू कुखुरापालन व्यवसायमा लाग्ने योजनामा थिए। पत्नीको उपचारमा ६ लाख रुपैयाँ खर्च भयो। वसन्तीको टाउकोमा कपाल हाल्न र प्लास्टिक सर्जरी गर्न बाँकी छ। आँखामा लेन्स हाल्न लागेको ३० हजार रुपैयाँ कसरी जुटाउने भन्ने चिन्ता छ।  एसिडपीडित वसन्ती परियार कावासोती नगरपालिका–१६ हर्वासीस्थित निवासमा पति यमनरायणसँग जाँतोमा दाल पिस्दै। 

उनीहरूले बैंकबाट ३ लाख र घरनजिकको समूहबाट १ लाख ऋण लिएका थिए। आफन्तसँग लिएको २ लाख ८० हजार तिर्न बाँकी रहेछ। बैंकबाट पुर्जा निकाल्न पाएका छैनन्। ‘जो आए पनि दुःख त आफैंसँग त हो नि !’, यमनारायणले दुःखेसो गरे, ‘कसरी ऋण तिर्ने भन्ने पिरलो छ।’ उनीहरूका १० वर्षका छोरा र ५ वर्षकी छोरी छन्।

यमनारायण लामो समय वैदेशिक रोजगारीमा बसे। पायल्सको उपचार गर्न वसन्तीले बोलाएकी थिइन्। त्यसको दुई सातापछि वसन्तीमाथि एसिड प्रहार भएको थियो। विवाहको प्रस्ताव अस्वीकार गरेपछि छिमेकी युवक विमल श्रीपालीले २०७५ असोज ८ गते वसन्तीमाथि एसिड र चक्कु प्रहार गरेका थिए। नवलपुर जिल्ला अदालतले श्रीपालीलाई १४ वर्ष कैद र साढे ९ लाख जरिवाना सजाय तोकेको परियार दम्पतीले सुनाए। घटनामा संलग्न दोषीले कैद सजाय भुक्तान गरिरहेका छन्।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.